काठमाडौँ / छिमेकी देश चीनतर्फको अबिरल वर्षापछि रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले वितण्डा मच्चाएको छ। मंगलबार बिहान करिब ३ः१५ बजे आएको बाढीले रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुल नै बगाएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ।
बाढीले गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर-२ टिमुरेमा अवस्थित भन्सार यार्डमा रहेका कन्टेनर गाडीहरू बगाउनुका साथै ड्राइपोट क्षेत्रमा पनि ठुलो क्षति पुर्याएको छ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीका अनुसार, पार्किङमा राखिएका गाडीहरू बगाएका छन् भने त्यहाँ कार्यरत कर्मचारी तथा चालकहरू सम्पर्कविहीन भएका छन्। हालसम्म मानवीय क्षतिको पुष्टि नभए पनि थप विवरण सङ्कलनको काम भइरहेको छ।
यस्तै, रसुवागढीस्थित रसुवागढी हाइड्रोपावरको ड्याममा पनि बाढीले क्षति पुर्याएको छ। गोसाईंकुण्ड गाउँपालिका-२ मा रहेको ईभी गाडीको चार्जिङ स्टेसनमा राखिएका ७-८ वटा गाडीहरू समेत बाढीले बगाएको प्रहरी स्रोतले जनाएको छ।
भन्सार यार्ड क्षेत्रमा रहेका ९ जना स्थानीय, एक जना नेपाल प्रहरी र बीओपी टिमुरेमा कार्यरत सशस्त्र प्रहरी प्रदीप वाग्लेलगायतको टोली चारैतिरबाट बाढीले घेरेपछि फसेका छन्। उनीहरूको उद्धारका लागि नेपाली सेनासँग हेलिकप्टरमार्फत उद्धारको प्रयास भइरहेको छ। तर, नदीको बहाव अत्यधिक भएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको छ।
यसैबीच, उद्धार कार्यका लागि सशस्त्र प्रहरी निरीक्षक प्रकाश पाण्डेको कमाण्डमा बीओपी टिमुरेबाट २० जनाको टोली खटिएको छ। यस्तै, विहान ५ बजे नम्बर २० गुल्म रसुवाबाट रविन्द्र दाहालको नेतृत्वमा २१ जनाको अर्को टोली-जसमा ७ जना विपद् व्यवस्थापन तालिम प्राप्त सदस्यहरू रहेका छन् - स्याफ्रुबेसीबाट घटनास्थलतर्फ गएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। यद्यपि, सडक चर्किएर अवरुद्ध भएकोले टोली पैदलमार्ग हुँदै गइरहेको छ।
बाढीका कारण तातोपानीस्थित पासाङल्हामु राजमार्गअन्तर्गत स्याफ्रुबेसी–रसुवागढी सडक खण्ड पनि पूर्णरूपमा कटान हुँदा यातायात अवरुद्ध भएको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार भोटेकोशीमा बहाव अझै कम नभएकाले तटीय क्षेत्रका सबै नागरिकहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।