मानुङकोटलाई पर्यटकीय ग्राम बनाइने

मानुङकोटलाई पर्यटकीय ग्राम बनाइने

शनिवार, असार २१ २०८२
शनिवार, असार २१ २०८२
  • images
    images
    मानुङकोटलाई पर्यटकीय ग्राम बनाइने
    images
    images

    तनहुँ / तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्यस्थल मानुङकोटलाई पर्यटकीय ग्राम बनाइने भएको छ । पछिल्लो समय पर्यटकको गन्तव्यस्थल बन्दै गएको मानुङकोटलाई व्यवस्थित बनाउने उद्देश्यसहित नगरपालिकाले पर्यटकीय ग्राम बनाउन लागेको हो । 

    मानुङकोटको आकर्षणलाई व्यवस्थित गर्न एकीकृत जग्गा विकास आयोजना विस्तार गर्ने लक्ष्य लिइएको नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । मानुङकोटको मौलिक चरित्रलाई यथावत् राखी आधुनिक ढङ्गबाट विकासको अभियान सञ्चालनका लागि जग्गा विकास कार्यक्रम सञ्चालन गर्न सम्बन्धित जग्गाधनीहरू र नगर विकास कोषसँग सहकार्य गरिने न्यौपानेले बताए । 

    न्यौपानेले भने, “मानुङका मगरहरूले जग्गा छोड्दै जाने र बाहिरबाट आएर जग्गा किने क्रम बढ्दै गइरहेको छ । त्यसैलाई मध्यनजर गर्दै मानहुँका जग्गाहरूलाई व्यवस्थापन गर्न खोजेका हौ ।” 

    नगरपालिकाले मानुङकोटसँगै व्यास नगरपालिका–६ स्थित शिशाघाट नयाँ सहर आयोजनामा एकीकृत जग्गा विकास आयोजना विस्तार गर्ने लक्ष्य लिएको छ । 

    मानुङकोट पछिल्लो समय दृश्यावलोकन केन्द्रको रूपमा विकास भइरहेको छ । यहाँबाट देखिने सूर्योदय र कुहिरोको दृश्यले पर्यटकलाइै लोभ्याउने गरेको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठको भनाइ छ । 

    राति बास बसेर बिहानै सूर्योदय र कुहिरो हेर्न आन्तरिक पर्यटक आउने गरेको होटल व्यवसायी चूडामणि दाहालले उल्लेख गरे । 

    मानुङकोटमा पर्यटक उक्लिने क्रम बढेपछि यहाँ होटल खुल्ने क्रम बढेको छ । विगतमा होटल समेत नरहेको यस ठाउँमा अहिले एक दर्जन होटल खुलिसकेका छन् । दृश्यावलोकनका लागि व्यास नगरपालिकाले दृश्यावलोकन स्तम्भ निर्माण गरेको छ भने सुरक्षाका लागि डाँडाको छेउमा रेलिङ हालेको छ । रेलिङसँगैको भागमा हालै पैदलमार्ग निर्माण गरिएको छ । 

    मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । 

    परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ । 

    मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् । खानेपानीको अभावमा यहाँका स्थानीयवासीले गाउँ छाडेका थिए । बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ ।

    मानुङकोट जाने सडक कालोपत्र भइसकेको छ । सहरी विकास मन्त्रालयको आर्थिक लगानीमा मानुङकोटसम्म पुग्ने सडक कालोपत्र गरिएको हो । अलैँचेबाट मानुङकोटसम्मको चार हजार ३०० मिटर सडक कालोपत्र भएको हो । कालोपत्र गर्न अप्ठ्यारो रहेको ठाउँमा १८० मिटर आरसिसी ढलान गरिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com