सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
कम्पनीको प्रधान कार्यालय थापाथलीमा आयोजित उक्त कार्यक्रम कम्पनीका सञ्चालक समिति, संस्थापक लगानीकर्ता, उच्च व्यवस्थापन समिति तथा अन्य सम्बन्धित कर्मचारीहरूको सहभागितामा सम्पन्न भएको हो।
कम्पनीका अन्य शाखा कार्यालय र प्रदेश प्रमुखहरू भने कार्यक्रममा अनलाइन माध्यमबाट सहभागी भएका थिए। अभिमुखीकरण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक श्री शाम्भराज लामिछाने तथा उपनिर्देशक श्री पदम प्रसाद सोडारीले प्रस्तुति दिनुभएको थियो। कार्यक्रमको संयोजन सिटिजन लाइफका कानुन, अनुपालन तथा जोखिम व्यवस्थापन अधिकृत श्री बिदुर बहादुर भुजेलले गर्नुभएको थियो।
कार्यक्रममा ग्राहकको सम्पत्ति र आयको स्रोतको विवरण संकलन, ग्राहक पहिचान फारम अद्यावधिक गर्ने प्रक्रिया, अवैध आम्दानी र आतङ्ककारी क्रियाकलापबाट प्राप्त कालो धनलाई बीमाको माध्यमबाट सेतो धनमा परिणत हुन नदिन अपनाइने प्रक्रिया र रिपोर्टिङ प्रणालीबारे विस्तृत जानकारी दिइएको थियो।
सिटिजन लाइफले यस्तो खालको कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री पोषक राज पौडेलले काठमाडौं बाहिरका शाखाहरूमा आफैं गएर यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन्। उहाँले सम्पत्ति शुद्धीकरण रोकथाममा हरेक कर्मचारीले खेलेको भूमिकाको महत्वबारे जानकारी दिँदै, यस्ता कार्यक्रमलाई देशभर विस्तार गरिने जानकारी समेत दिनुभयो।