काठमडौँ / विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आइपिओ खरिदका लागि आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले गत वैशाख १५ गते प्रतिसेयर १०० रुपैयाँ अङ्कित दरका ४४ लाख ५४ हजार ५९६ कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
सोही अनुरूप कम्पनीले आम सर्वसाधारणका लागि २९ लाख ४२ हजार ७६० कित्ता सेयर जारी गरेको हो । कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित क्षेत्र र अति प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सेयर निष्काशन गरिसकेको छ ।
जसअनुरूप नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३ लाख ५४ हजार ५५० कित्ता सेयर गत जेठ ६ गतेदेखि २० गतेसम्म जारी गरिएको थियो ।
त्यसैगरी, आयोजनाबाट अति प्रभावित क्षेत्र गोर्खा जिल्लाको धार्चे गाउँपालिकाको वडा न.४ र ५ मा स्थायी बसोबास गर्नेका लागि ३ लाख ६३ हजार ६४० कित्ता तथा प्रभावित क्षेत्र गोर्खा जिल्लाको धार्चे गाउँपालिका वडा न. १,२,३, ६ र ७ मा स्थायी बसोवास गर्ने स्थानीयका लागि ५ लाख ४५ हजार ४६१ कित्ता सेयर जारी गरिएको थियो ।
आम सर्वसाधारणले न्यूनतम् १० कित्ता र अधिकतम्मा १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन् । छिटोमा असार २२ गते र ढिलोमा असार ३२ गते आइपिओ निष्कासन बन्द हुनेछ । कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।