काठमाडौं/ सर्लाहीको चक्रघट्टा गाउँपालिकामा आ.व. २०७८/७९ मा सौर्य बत्ती जडानका लागि विनियोजित रकम टुक्र्याएर अनियमितता गरेको आरोपमा तत्कालीन गाउँपालिका अध्यक्ष विक्रम यादवसहित १० जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार सम्बन्धी आरोपपत्र दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, गाउँपालिकाले वडानं. १ देखि ९ सम्म सौर्य बत्ती जडान गर्नका लागि कुल रु. २ करोड १६ लाख विनियोजन गरेको थियो। तर उक्त योजना पाँच छुट्टाछुट्टै प्याकेजमा टुक्र्याएर कुल रु. २ करोड ५३ लाख १८ हजार ६०० को लागत अनुमान तयार गरी बोलपत्र आह्वान गरिएको पाइयो।
सौर्य बत्ती जडानका लागि पोल, सोलार प्यानल, लाइट/तार/नटबोल्ट, ब्याट्री र चार्ज कन्ट्रोलर खरीद छुट्टाछुट्टै प्याकेजमा टुक्र्याएर सार्वजनिक खरिद ऐन तथा नियमावली विपरीत प्रक्रिया अगाडि बढाइएको भन्दै आरोपपत्रमा उल्लेख छ।
खरिद प्रक्रियामा मिलेमतो
बोलपत्रमा प्रतिस्पर्धा देखाउन स्काई राइज ट्रेडिङ कन्सर्न, एस.के. स्टोर्स र जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपाल नामक तीनवटा कम्पनी सामेल भएका थिए। तर ती सबै कम्पनी एकै घरका सदस्य (वुवा, छोरा र बुहारी) का नाममा दर्ता गरिएको खुलेको छ।
समग्रमा ९८.५१% लागत मूल्यमा ठेक्का सम्झौता गरिएको र स्काई राइज ट्रेडिङ कन्सर्नका प्रोप्राइटर जय प्रकाश यादवले सबै सामग्री आपूर्ति गरेको पाइएको छ। उनी आफैँ खरिद निरीक्षण तथा भुक्तानी प्रक्रियामा संलग्न रहेको तथ्य आरोपपत्रमा उल्लेख गरिएको छ।
झुट्टा बिलमार्फत भुक्तानी
सामान आपूर्ति नहुँदै अन्तिम भुक्तानी भएको, कम गुणस्तरको सामग्रीलाई उच्च गुणस्तरको भन्दै प्रमाणित गरिएको, र झुटा बिल/भरपाईका आधारमा रु. २ करोड ४९ लाख ४० हजार ११० रकम भुक्तानी गरिएको पुष्टि भएको आयोगले जनाएको छ।
आरोपितहरूको सूची
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको विभिन्न दफासहित थप सजाय माग गर्दै निम्न १० जना उपर आरोपपत्र दायर गरेको हो:
-
विक्रम यादव, तत्कालीन अध्यक्ष – रु. २,४९,४०,११०
-
लालबाबु प्रसाद साह, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत – रु. २,४९,४०,११०
-
शिवशंकर प्रसाद कुशवाहा, लेखा अधिकृत – रु. ४७,५९,५६०
-
सञ्जय कुमार ठाकुर, लेखापाल – रु. २,४९,४०,११०
-
राम कैलाश राय यादव, जिन्सी प्रमुख – रु. २,४९,४०,११०
-
सन्तोष राय, सब-इन्जिनियर – रु. २,४९,४०,११०
-
राजु राय, सब-इन्जिनियर – रु. २,४९,४०,११०
-
जय प्रकाश यादव, स्काई राइज ट्रेडिङ कन्सर्न – रु. ५८,३९,८४०
-
रञ्जु कुमारी शाह, एस.के. स्टोर्स – रु. ९५,२३,९१०
-
सङ्गिता कुमारी, जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर – रु. ९५,७६,३६०
आरोपितहरूमाथि कैद, जरिवाना र बिगो असुलीसहित मुख्य कसूरदार सरह सजाय हुनुपर्ने मागसहित विशेष अदालतमा मुद्दा दायर गरिएको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।