कुनै पनि लिङ्ग प्रत्यारोपण शल्यक्रिया गर्नु अगाडि, केवल व्यक्तिको होइन, उनको परिवारको पनि गहिरो मनोवैज्ञानिक र कानुनी परामर्श अनिवार्य हुनुपर्छ।
विशेषगरी जब कुनै पुरुषले विवाह गरी श्रीमती र सन्तान भएको अवस्थामा लिङ्ग परिवर्तन गर्छन्, तब यो केवल व्यक्तिगत निर्णय मात्र हुँदैन—यसको असर पूरै परिवारमा पर्छ।
सबैभन्दा पहिले प्रश्न उठ्छ—पत्नीको के हुन्छ ? उनको यौनिक, भावनात्मक र कानुनी आवश्यकताको के सुनिश्चितता छ ? के उनी अझै पनि त्यही पति की पत्नि रहन्छिन् ? कि सम्बन्ध स्वतः अन्त्य हुन्छ ? यस्तो अवस्थामा पत्निको अधिकारको के रक्षा हुन्छ ?
त्यस्तै, सन्तानको कुरा पनि गम्भीर छ। जब बाबुआमामध्ये एक जनाको लिङ्ग परिवर्तन हुन्छ, त्यसले बालबालिकाको मनोविकास, पारिवारिक आत्मीयता र सुरक्षामा असर पर्छ। के यिनीहरूको पनि आवाज सुन्ने प्रयास भयो ?
हामीलाई यी प्रश्न सोध्न जरुरी छ—शल्यक्रिया अघि पत्निको सहमति लिइयो ? के उनले स्पष्ट जानकारी पाएर राय दिन सकिन् ?
कतै यस्तो त भएन कि उनलाई चुपचाप सहन भनियो ? कि लिङ्ग परिवर्तन गर्ने व्यक्तिलाई हिँजडा बनाएर कुन ठाउँमा माग्न जान पाउने अधिकार दिइएको भनियो ?
के यही हो लैङ्गिक समानताको बाटो ? जहाँ एक जनाको स्वतन्त्रताको नाममा अर्काको सम्मान, अधिकार र जीवनचक्र तोडिन्छ ?
अझ अर्को महत्त्वपूर्ण पक्ष हो—नैतिकता र दीर्घकालीन उत्तरदायित्व।
अहिले केही अन्तर्राष्ट्रिय दाताहरूको पैसाले शल्यक्रिया निःशुल्क भइरहेको छ। तर भोलि त्यो पैसाको स्रोत सकिएपछि के हुन्छ ? लिङ्ग परिवर्तन गरेपछि आवश्यक पर्ने जीवनभरको हर्मोन थेरापी, स्वास्थ्य परीक्षण र सम्भावित जटिलताको उपचार कसले गर्ने ?
के हाम्रा अस्पताल, डाक्टर, स्वास्थ्य मन्त्रालय यो दीर्घकालीन जिम्मेवारीका लागि तयार छन् ?
नेपालमा हालसम्म लिङ्ग प्रत्यारोपण सम्बन्धी कुनै स्पष्ट नीति, मापदण्ड वा कानुनी संरचना छैन।
कुनै राष्ट्रिय स्तरको परामर्श प्रक्रिया छैन, न त परिवार वा सन्तानका लागि आवश्यक समर्थन संरचना। यस्तो संवेदनशील विषयलाई दाताको पैसा देखाएर ूप्रगतिशील कदमूको रूपमा हतारमा अघि बढाउनु खतरनाक हुन सक्छ।
त्यसैले, हामीले स्पष्ट रूपमा सोध्नैपर्छ— लिङ्ग परिवर्तन किन गरिँदैछ ?
के यो सौन्दर्यका लागि हो ? महिला बन्ने आकांक्षाका लागि हो ? कि अरूको जीवनबाट टाढा भएर बधाइ माग्न जाने बाटो हो ?
के यसको कानुनी, सामाजिक र पारिवारिक आवश्यकता र असरहरू बुझिएको छ ?
साँचो सशक्तिकरण भनेको सही जानकारीसहित स्वतन्त्र निर्णय लिन पाउनु हो—जहाँ व्यक्ति मात्र होइन, उनको परिवार, सन्तान र समुदाय सबैको हित सुरक्षित होस्। केवल दाताको चासो पुरा गर्न गरिएको हतारो सशक्तिकरण होइन।
शल्यक्रियाले शरीर चिर्नु अघि, हामीले पहिले यी सबै प्रश्नहरूको जवाफ खोज्नुपर्छ।
सही प्रक्रिया, पारदर्शिता, दीर्घकालीन योजना र सबै सरोकारवालाको सहभागिताबिना लिङ्ग प्रत्यारोपणको बाटो अघि बढ्नु—अन्यायपूर्ण मात्र होइन, अमानवीय पनि हुन सक्छ।