काठमाडौं/ नेपाल प्रहरीको डिएसपी हुँ भनी झुटो परिचय दिई मुद्दा मिलाइदिने भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले प्राप्त उजुरीका आधारमा अनुसन्धान गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
उनीहरूले प्रहरी हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने भन्दै रु. ६,००,०००। (अक्षरेपि छ लाख रुपैयाँ) ठगी गरेका थिए।
घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमती प्राप्त गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूमा काभ्रेपलाञ्चोक, चौरीदेउराली–८ का ४५ वर्षीय ज्ञान बहादुर लामा उर्फ ज्ञानु तामाङ र सुनसरी, इटहरी उपमहानगरपालिका–४ निवासी तथा हाल काठमाडौं कलंकी बसोबास गर्ने ४२ वर्षीय रेवती ओझा रहेका छन्।
पक्राउ परेका ज्ञानु तामाङ विगतमा पनि आपराधिक घटनामा संलग्न भएको खुलेको छ।
उनले मिति २०७० साल फागुन २० गते हातहतियार खरखजाना सम्बन्धी कसुरमा ५ वर्षको जेल सजाय भुक्तान गरेका थिए।
त्यस्तै, २०७० साल वैशाख १६ गते सार्वजनिक अपराध अन्तर्गत जिल्ला प्रहरी परिसर, टेकुबाट मुद्दा चलेको र २०६७ साल कात्तिक ४ गते जुवा सम्बन्धी मुद्दामा पनि संलग्न रहेको देखिएको छ।
प्रहरीले ठगी तथा आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूविरुद्ध कानून अनुसार कडा कारबाही प्रक्रिया अघि बढाएको जानकारी दिएको छ।