काठमाडौँ / वरिष्ठ अधिवक्ता महेशकुमार थापाले यस पटकको बजेटको सुन्दर पक्ष स्थायित्व रहेको प्रतिक्रिया दिएका छन् । आ.व २०८२/०८३ को बजेट समिक्षा विश्लेषणात्मक छलफल कार्यक्रममा बोल्दै उनले बजेटलाई निजी क्षेत्रले स्वागत गरेको भन्दै बजेट स्थायित्व तिर अघि बढेको बताएका हुन् ।
उनले भने, “अघिल्लोे वर्षका बजेट अलि बढि विवादित हुनुपर्ने कारण भनेको करको दर रेटहरु हो । तर यस वर्ष त्यस्तो समस्या देखिएको छैन । यो बजेट स्थायित्व तिर गएको हो की भन्ने पनि लाग्छ । यो बजेटको स्थायित्व नै सुन्दर पक्ष हो ।”
उनले बजेटलाई निजी क्षेत्रले स्वागत गरेकाले यसका कमिकमजोरी माथी टिप्पणी गर्नु पर्ने आवश्यकता नरहेको बताए ।
“यस पटकको बजेट सापेक्षित राम्रो हो, यो बजेट भाषण सकिने बित्तिकै टार्गेट समूह जून निजी क्षेत्र हो । निजी क्षेत्रले स्वागत गर्दै गरेको हामीले देखिरहेको अवस्थामा यसको कमिकमजोरको टिप्पणी थोरै भएकाले पनि समग्ररूपमा बजेटलाई राम्रो बजेट हो भन्ने बुझ्नुपर्छ,” उनले भने ।