विश्व दुग्ध दिवस : दूधको भुक्तानी समयमै नपाएको गुनासो

विश्व दुग्ध दिवस : दूधको भुक्तानी समयमै नपाएको गुनासो

आइतवार, जेठ १८ २०८२
आइतवार, जेठ १८ २०८२
  • images
    images
    विश्व दुग्ध दिवस : दूधको भुक्तानी समयमै नपाएको गुनासो
    images
    images

    हेटौँडा / विश्व दुग्ध दिवसको अवसरमा हेटौँडामा आयोजित कार्यक्रममा दुग्ध क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्था, व्यवसायी, वैज्ञानिक, सहकारी प्रतिनिधि र सरकारी अधिकारीहरूले किसानको भुक्तानीदेखि दुग्ध पदार्थको खपतको विषयमा विभिन्न छलफल गरेका छन् ।

    ‘दूधको खपत बढाऔँ, अर्थतन्त्रलाई सबल बनाऔँ’ भन्ने नाराका साथ मनाइएको उक्त कार्यक्रममा दुग्ध क्षेत्रमा विद्यमान समस्या, समाधानका उपाय र भविष्यको बाटोबारे गहिरो छलफल भएको थियो ।

    कार्यक्रममा बाग्मती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष हरिप्रसाद पौडेलले दुग्ध दिवसको महत्त्वमाथि प्रकाश पार्दै यो दिवस किसानको जीवनस्तर उकास्न, पोषणको पहुँच विस्तार गर्न र अर्थतन्त्र सबल बनाउन योगदान दिने बताए । 

    उनले एफएओको तथ्याङ्क उद्धृत गर्दै विश्वभर ६ अर्बभन्दा बढी जनसङ्ख्याले दुग्ध परिकार सेवन गरिरहेको र एक अर्ब मानिस यसै क्षेत्रमा आश्रित रहेको जानकारी दिए । 

    नेपालमा भने बहुर्राष्ट्रिय कम्पनीहरूको प्रभावले स्वदेशी उत्पादनलाई विस्थापित गर्ने खतरा बढ्दै गएको भन्दै उनले स्वदेशी उत्पादनको प्रवद्र्धनलाई पहिलो प्राथमिकता दिनुपर्ने धारणा राखे । 

    जिल्ला दुग्ध सहकारी संघ मकवानपुरका अध्यक्ष हरि कँडेलले कार्यक्रमको औचित्यमाथि प्रश्न उठाउँदै किसानहरू लामो समयदेखि दूधको भुक्तानी पाउन नसकेको पीडा सुनाए । 

    किसानले उत्पादन गरेको दूधको मूल्य समयमा नपाउँदा उनीहरूको दैनिकी प्रभावित भएको उल्लेख गर्दै उनले राज्य र सरोकारवाला निकायले गम्भीर पहल गर्नुपर्ने माग गरे । 

    “सरकारले चाहेमा बाँकी भुक्तानी तत्काल दिन सकिन्छ, इच्छा हुनुपर्छ,” उनले भने । नेपाल डेरी साइन्स एसोसिएसन बाग्मती प्रदेशका संयोजक निरान्जन कोइरालाले दुग्ध क्षेत्रमा वैज्ञानिक प्रणाली र प्रविधिको प्रयोग आवश्यक रहेको बताए ।

    उनले शुद्ध दूधको सुनिश्चितता, गुणस्तर परीक्षण, चिस्यान व्यवस्थापन र पशुपालनमा नवीनतम् विधि अपनाउन जोड दिए ।
     
    नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले किसानको भुक्तानीमा देखिएको समस्या विश्वव्यापी महामारी र पछिल्लो आर्थिक मन्दीको असर भएको बताए ।

    उनले केही डेरी उद्योगहरूले बाध्यतावश भुक्तानी दिन नसकेको तर्क गरे भने केहीले जानाजानी बेवास्ता गरेको स्वीकार गरे । उनले दुग्ध पदार्थको निर्यातको सम्भावनाबारे पनि चर्चा गरे र सरकारको ध्यान त्यता केन्द्रित गरिनुपर्नेमा जोड दिए । 

    डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले किसानले बेचेको दूधको पैसा अझै पाउन नसक्नु दुःखद् भएको बताए । उनले सरकारसँग अपिल गर्दै कुन कुन उद्योगले कति भुक्तानी गर्न बाँकी राखेका छन भन्ने विवरण सार्वजनिक गरिनुपर्ने माग गरे ।

    “हामी आत्मनिर्भर बन्दै गएका छौँ, तर किसान भने अन्योलमा छन्,” उनले भने । नेपाली बजारमा विदेशबाट आउने दुग्धजन्य वस्तुको आयात बन्द भएपछि स्वदेशी उद्योगलाई अवसर मिलेको भन्दै त्यसको सदुपयोग गर्नुपर्ने उल्लेख गरे ।

    केन्द्रीय पशुपन्छी तथा मत्स्य सहकारी संघका अध्यक्ष बाबुराम अधिकारीले डिडिसी जस्तो सरकारी निकायबाटै किसानको भुक्तानी रोकिएको अवस्थामा सरकारको भूमिकामाथि प्रश्न उठाए । उनले किसानको पाटोलाई केन्द्रमा राखेर दुग्ध नीतिहरू बनाउन आग्रह गरे ।

    राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य कृष्णप्रसाद सापकोटाले सरकारी, निजी तथा सहकारी क्षेत्रको समन्वयमार्फत दुग्ध उपभोगलाई संस्थागत रूपमा बढाउनुपर्ने बताए । 

    उनले विद्यालय, कलेज र सरकारी कार्यालयहरूमा दुग्ध पदार्थको अनिवार्य उपभोग नीति ल्याउन सकिने सुझाव दिए ।

    त्यही बोर्डका अर्का सदस्य सुमित केडियाले दुग्ध उत्पादन र खपत सँगसँगै बढाउनुपर्ने र बजारको माग अनुसार उत्पादन तथा प्रशोधन प्रविधिमा लगानी गर्नुपर्ने बताए । उनले हाल देशमै खपत बढिरहेको हुँदा निर्यातभन्दा आन्तरिक सन्तुलन कायम गर्नु आवश्यक रहेको धारणा व्यक्त गरे । 

    राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले पनि दुग्ध दिवसको अवसरमा मन्तव्य दिँदै, धानपछिको सबैभन्दा ठूलो योगदान दिने कृषि उपज दूध भएको उल्लेख गरे । उनले नेपालले हालसम्म दुग्ध क्षेत्रमा धेरै हदसम्म आत्मनिर्भरता हासिल गरिसकेको बताए । 

    पछिल्लो समय किसानले भुक्तानी नपाएको विषयमा धेरै बहस र चासो देखिएको स्वीकार गर्दै उनले केही समयमै समाधान हुने आश्वासन दिए । 

    यादवले निजी क्षेत्रले पनि भुक्तानीमा गम्भीर चासो देखाउनुपर्ने उल्लेख गरे । निजी क्षेत्रका कतिपय उद्योगहरूले एक महिनाभित्र बाँकी भुक्तानी दिने प्रतिबद्धता व्यक्त गरिसकेको भन्दै उनले त्यसअनुसार कार्यान्वयन गर्न आग्रह गरे । 

    दुग्ध विकास संस्थानका उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले संस्थानले भुक्तानी गर्न नसकेको अवस्था स्वीकार गरे । उनले मौज्दात उत्पादन निर्यातको विकल्पको रूपमा प्रयोग गरेर किसानलाई राहत दिन सकिने सम्भावना औँल्याए । 

    बाग्मती प्रदेश दुग्ध उत्पादन र खपत दुबैमा अगाडि रहेको जानकारी दिँदै उनले सरकारी निकायहरूको संयोजनमा समाधान खोज्न सकिने उल्लेख गरे । 

    केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अम्बर बहादुर कुँवरले बाँकी भुक्तानी विवरण संकलन गरिसकेको र त्यसको निष्कर्ष सरकारसँग साझा गर्ने तयारी भइरहेको जानकारी दिए । 

    उनले केही सामाजिक सञ्जालमा डेरी उद्योग भागेको वा बन्द भएको जस्ता हल्लाहरू फैलिएकोप्रति दुःख व्यक्त गरे र यस्ता भ्रमबाट टाढा रहन सबैलाई आग्रह गरे ।

    सहकारी विकास बोर्ड बाग्मती प्रदेशका उपाध्यक्ष नारायण देवकोटाले विद्यालय तहदेखि दुग्ध पदार्थको खपत बढाउने खालका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले मात्र उत्पादन वृद्धिमा ध्यान दिएर समस्याको समाधान नहुने भन्दै नीति निर्माणमै सुधार आवश्यक रहेको बताए ।

    पशु सेवा विभागका महानिर्देशक रमानन्द तिवारीले दूधको सेवनले मानव स्वास्थ्यमा महत्त्वपूर्ण योगदान दिने बताए । उनले कोल्ड ड्रिङ्क्सको सट्टामा मोही, दूधजस्ता स्वास्थ्यवर्धक वस्तुहरूको प्रवद्र्धन हुनु सकारात्मक भएको बताए । 

    छुर्पी जस्ता वस्तुहरू विदेशमा निर्यात भइरहेका उदाहरण दिँदै उनले अरु दुग्धजन्य परिकारलाई पनि निर्यातयोग्य बनाउने उपाय खोजिनुपर्ने धारणा राखे । उनले हाल लम्पी स्किन रोगको खोप उपलब्ध रहेको र किसानले समयमै खोप लगाउनुपर्ने सन्देश समेत दिए । 

    त्यस्तै, बाग्मती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव वैकुण्ठ अधिकारीले दुग्ध क्षेत्रलाई व्यवस्थित गर्न मन्त्रालयको सक्रिय भूमिका रहने बताए । उनले दुग्ध क्षेत्रमा गुणस्तर परीक्षण र नियमनमा पछि परिएको स्वीकार गर्दै अब त्यसमा सरकार गम्भीर हुँदै गएको बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com