इँटाभट्टामा जिउँदो मान्छे पोलेर हत्या गरेको अभियोगमा दोषी ठहर भएका कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमले आरोपबाट सफाइ पाएका छन् ।
बम विस्फोट गरी व्यक्ति हत्याको आरोप खेपेका उनलाई जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो ।
उच्च अदालतको वीरगञ्ज इजलासले उक्त निर्णय उल्टाउदै आलमलाई सफाई दिएको हो ।
२०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो राति, चैत २७ गते रौतहटको राजपुरमा बम बनाउने क्रममा घाइते भएका त्रिलोकप्रताप सिंह, ओशी अख्तरलगायतलाई इँटाभट्टामा जिउँदै पोलेर हत्या गरेको अभियोगमा आलमलाई रौतहट जिल्ला अदालतले दोषी ठहर गरेको थियो ।
घटनाको १२ वर्षपछि, अर्थात् २०७६ असोज १९ गते आलमलाई प्रहरीले पक्राउ गरेको थियो। तर तीन वर्षपछि न्यायालयले उनलाई निर्दोष ठहर गर्दै रिहा गरेको छ।
उक्त बम काण्डमा मृत्यु भएका ओशी अख्तरकी आमा रुक्सना खातुनको पनि २०६७ माघ ८ गते गोली हानी हत्या गरिएको थियो।
उनी दुर्गाभगवती गाउँपालिकास्थित माइतीघरबाट आफ्नै घर फर्कँदै गर्दा घातमा बसेको समूहले गोली प्रहार गरेका थिए।
रुक्सनाको हत्यामा पनि आलमको संलग्नताबारे आशंका उठाइए तापनि, त्यस घटनामा अहिलेसम्म कुनै ठोस छानबिन भएको छैन।
आदेशसँगै उच्च अदालत वीरगञ्जबाट पत्र आइपुगेको र केहीबेरमै छाड्ने तयारी गरिएको कारागार स्रोतले जानकारी दिएको छ ।
उनी ललितपुरस्थित नख्खु कारागारमा छन् ।