काठमाडौँ / बुधबार बसेको अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो (संशोधन विधेयक),२०८० का सम्बन्धमा छलफल भएको छ ।
अर्थ समितिको बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो (संशोधन विधेयक),२०८० का विषयमा विज्ञ र सरोकारवालासँग छलफल गरेको हो ।
उक्त छलफलमा, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवि नेपालले बैंक के को लागि हो भनेर बुझ्नुपर्ने बताएका छन् । उनले नेपालको चलन पैसा भन्ने चिज कसरी आउँछ ? कुन रूपबाट आउँछ ? यसको उपयोग कसरी गर्ने भन्ने कुरामा हामी आफैं कन्फ्युज हुने गरेको बताए ।
उनले भने, ‘हामीले बैंक के को लागि हो भनेर बुझ्नुपर्ने हुन्छ । हाम्रो चलन के छ भन्दा हामीलाई पैसा चाहिएको छ । देश विकास गर्नु पनि छ, तर हामी आफैँ कुन रुपमा कन्फ्युज छौँ भन्दा पैसा भन्ने चिज कसरी आउँछ ? कुन रुपबाट आउँछ ? यसको उपयोग कसरी गर्ने भन्ने कुरामा हामी आफैँ कन्फ्युज छौँ ।’
साथै, उनले नेपालमा कानुन बने पनि त्यसको कुनै अर्थ नहुने गरेको बताए । उनले के उद्देश्यले बैंक राख्ने, बैंकमा लगानि किन गराउने यो सबै बुझ्न आवश्यक रहेको बताए ।