भारत भन्छ – लाहोरको एयर डिफेन्स सिस्टम ध्वस्त, पाकिस्तानले २५ भारतीय ड्रोन खसालेको दाबी

भारत भन्छ – लाहोरको एयर डिफेन्स सिस्टम ध्वस्त, पाकिस्तानले २५ भारतीय ड्रोन खसालेको दाबी

बिहिवार, बैशाख २५ २०८२
बिहिवार, बैशाख २५ २०८२
  • भारत भन्छ – लाहोरको एयर डिफेन्स सिस्टम ध्वस्त, पाकिस्तानले २५ भारतीय ड्रोन खसालेको दाबी

    भारत र पाकिस्तानबीच पछिल्ला दिनमा बढ्दो सैन्य तनावबीच, दुबै मुलुकले एकअर्कामाथि आक्रमणको प्रयास गरेको दाबी गरेका छन्। भारतको रक्षा मन्त्रालयले बुधबार राति पाकिस्तानले ड्रोन र मिसाइलमार्फत भारतका थुप्रै सैन्य अड्डाहरूमाथि हमला गर्न खोजेको दाबी गरेको छ। उता, पाकिस्तानले २५ भारतीय ड्रोन खसालेको दाबी गरेको छ। बीबीसीले दुबै देशका यी दाबीहरूको स्वतन्त्र पुष्टि गर्न नसकेको उल्लेख गरेको छ । 

    images
    images

    भारतको रक्षा मन्त्रालयका अनुसार पाकिस्तानले अवन्तीपुरा, श्रीनगर, जम्मु, पठानकोट, अमृतसर, कपूरथला, जालन्धर, लुधियाना, आदमपुर, भटिण्डा, चण्डीगढ़, नल, फलौदी, उत्तरलाई र भुजजस्ता उत्तरी र पश्चिमी भारतका धेरै सैन्य स्थानहरूलाई लक्षित गरेको थियो।

    मन्त्रालयका अनुसार ती हमलाहरू भारतको संयुक्त यूएएस काउन्टर ग्रिड र एयर डिफेन्स प्रणालीले निष्क्रिय बनाएको हो। साथै, विभिन्न स्थानबाट फेला परेका ड्रोनका भग्नावशेषले पाकिस्तानको आक्रमण पुष्टि गर्ने भारतको भनाइ छ।

    भारतले त्यसको जवाफस्वरूप बिहीबार बिहान पाकिस्तानका विभिन्न स्थानहरूमा हवाई हमला गर्दै त्यहाँ रहेका एयर डिफेन्स राडार र प्रणालीहरूलाई निशाना बनाएको दाबी गरेको छ। 

    मन्त्रालयका अनुसार ‘विश्वसनीय सूचनाका आधारमा लाहोरमा रहेको एक एयर डिफेन्स सिस्टम ध्वस्त पारिएको’ हो।

    यसअघि भारतले ७ मेमा ‘अपरेसन सिन्दूर’ सम्बन्धी प्रेस ब्रिफिङमा पाकिस्तानका सैन्य संरचनालाई निशाना बनाइएको होइन भन्ने स्पष्ट पारेको थियो। तर भारतले भनिरहेको छ कि आफूमाथि भएको कुनै पनि हमलाको उचित जवाफ दिइनेछ।

    त्यस्तै, भारतले पाकिस्तानले कुपवाडा, बारामुला, उरी, पुंछ, मेन्धर र राजौरी क्षेत्रमा मोर्टार र तोपको प्रयोग गरी ‘बिना उक्साहट’ नियन्त्रण रेखामा हमला गरेको दाबी गरेको छ।

    मन्त्रालयका अनुसार उक्त हमलामा ३ महिला र ५ बालबालिकासहित १६ जना निर्दोष नागरिकको ज्यान गएको छ। उता, पाकिस्तानले भने भारतका २५ ड्रोन खसालेको दाबी गरेको छ। पाकिस्तानका अनुसार ती ड्रोनहरू विभिन्न शहरहरूमा खसेका छन्।

    पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बिहीबार पत्रकार सम्मेलन गर्दै भारतले ७ मे रातिदेखि ‘ड्रोनमार्फत घुसपैठको प्रयास’ गरिरहेको बताएका छन्। उनका अनुसार लाहोर, गुजराँवाला, चकवाल, अट्क, रावलपिन्डी, मियांवाली र कराँचीमा ती ड्रोनहरू ध्वस्त पारिएको हो।

    भारतले भने पाकिस्तानका यी आरोपहरूप्रति कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। बीबीसीले पाकिस्तानका दाबीहरूको स्वतन्त्र पुष्टि गर्न नसकेको जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय