नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले गरे ‘कास्ट्रेन्स्ज पिरामिड’ को सफल आरोहण

नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले गरे ‘कास्ट्रेन्स्ज पिरामिड’ को सफल आरोहण

आइतवार, भदौ १ २०८२
आइतवार, भदौ १ २०८२
  • नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले गरे ‘कास्ट्रेन्स्ज पिरामिड’ को सफल आरोहण

    काठमाडौँ / विश्वका सातवटै महादेशका अग्ला हिमाल आरोहण गर्ने ‘सेभेन समिट’ अभियानमा रहेका नेपाली पर्वतारोही  प्रकाशराज पाण्डे ओसिनिया क्षेत्रको इण्डोनेसियामा पर्ने सबैभन्दा अग्लो हिमाल ‘कास्ट्रेन्स्ज पिरामिड’ (पुञ्जाक जाया) को सफल आरोहण गरेका छन् । 

    images
    images

    पाण्डेले स्थानीय समय अनुसार आइतबार बिहान ९ः३० बजे सो पर्वतको सफल आरोहण गरेका हुन् । पर्वत आरोहण गरी केही समय अघि बेसक्याम्पमा आइपुगेको पाण्डे जानकारी दिए । आज र भोली सोही बेसक्याम्पमा रहने पनि उनले बताए । 

    सो पर्वत आरोहणको लागि पाण्डे सोमबार काठमाडौंबाट त्यस तर्फ गएका थिए । उनी मलेसिया हुँदै मंगलबार इण्डोनेसियाको राजधानी जकार्ताबाट बुधबार बिहान इण्डोनेसियाको तिमिका पुगेका थिए । 

    त्यहाँबाट अगस्ट १४ मा हेलिकप्टरबाट ४ हजार ३ सय मिटर अग्लो येलो भ्याली बेस क्याम्पमा पुगेका पाण्डेले अगस्ट १५ मा पर्वत गाइडसँग तालिम र अनुकूलन गरेका थिए । अगस्ट १६ मा पूर्ण प्राविधिक आरोहणको साथ शिखर तर्फ लागेका पाण्डेले आज बिहान पर्वतको फल आरोहण गरेका हुन् ।  

    ४ हजार ८ सय ८४ मिटर अग्लो कास्ट्रेन्स्ज चुचुरोलाई निक्कै जोखिमपूर्ण मानिन्छ । चुनढुङ्गाले बनेको यो हिमाल पिरामिड आकारको छ । जुन पपुवा प्रान्त, इण्डोनेसियामा अवस्थित छ । विश्वका सात महादेशका उच्च शिखरमध्ये एक मानिने यो हिमाल आरोहीका लागि अत्यन्त चुनौतीपूर्ण मानिन्छ ।

    पाण्डे यो आरोहणपछि क्रमशः अमेरिका र अन्टार्टिकाको उच्च हिमाल आरोहण गरी अन्ततः नेपालमै फर्केर सगरमाथामा पुनः राष्ट्रिय झण्डा फहराउने योजनामा छन् । मकालु आउट फिटको सहकार्यमा भएको सो अभियानलाई विभिन्न पालिका, संघ–संस्था र व्यावसायिक प्रतिष्ठानहरूले आर्थिक सहयोग तथा आरोहण सामग्री उपलब्ध गराएका थिए । 

    इण्डोनेसियापछि उनको लक्ष्य उत्तर अमेरिकाको उच्च शिखर माउन्ट डेनालीको आरोहण गर्ने रहेको छ । 
    पाण्डेलाई गत आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै सफल आरोहणको शुभकामना दिएका थिए । रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ का स्थायी बासिन्दा पाण्डेले यस अघि सगरमाथा, मनास्लु, आमादब्लमसहित नेपालका दर्जनौँ हिमाल सफलतापूर्वक आरोहण गरिसकेका छन् । 

    ‘सेभेन समिट’ अभियानअन्तर्गत सन् २०२४ को जुनमा युरोपको उच्च शिखर माउण्ट एलब्रस र नोभेम्बरमा अफ्रिकाको उच्च शिखर किलिमन्जारो आरोहण गरेका पाण्डेले यसै वर्षको फेब्रुअरीमा दक्षिण अमेरिकाको उच्च शिखर अकोन्कागुआको आरोहण गरेका थिए ।

    पाण्डेले सन् २०१६ देखि आरोहण सुरु गरेका हुन् । सन् २०१८ मा विश्वको सर्वोच्च शिखर सगरमाथा चढेका पाण्डेले हाल ‘सेभेन समिट’ अभियानमार्फत जलवायु परिवर्तनका मुद्दा अन्तर्राष्ट्रियस्तरमा उठाउँदै आएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय