काठमाडौँ / अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)को नेपाल आवासीय प्रतिनिधिमा श्रीलंकाली नागरिक रत्निजा अरन्दरा नियुक्त भएकी छिन् । रत्निजालाई काठमाडौँ रही आईएफसीको पोर्टफोलियो विस्तार, नयाँ लगानी तथा सल्लाहकारका अवसरहरूको विकास तथा अन्तर्देशीय रूपमा संगठनको प्रभाव विस्तारको नेतृत्व गर्नेछिन् ।
विश्व बैंक समूहको सदस्यको रूपमा रहेको आईएफसीमा उनले सन् २०११ देखि आबद्ध रही विभिन्न भूमिकामा अनुभव हासिल गरेकी छिन् । यसअघि उनी आईएफसीको दक्षिण एशिया हेर्ने कन्ट्री एड्भाइजरी र इकोनोमिक टिममा कार्यरत थिइन् ।
यो अवधिमा उनले वित्तीय समावेशिता, कृषिजन्य उद्योगको क्षमता विस्तार र विभिन्न क्षेत्रमा लगानीको वातावरण सुधारको सम्बन्धमा काम गर्दै आएकी थिइन् ।
नेपालमा रहेर नयाँ भूमिका निर्वाह गर्दैगर्दा उनले आईएफसीको अपस्ट्रिम व्यावसायिक सहभागिता तथा विकासमा प्रभाव बढाउन आईएफसीको लगानी तथा सल्लाहजन्य भूमिकाको दिगो विस्तारको लागि साझेदारी बढाउने काम गर्नेछिन् ।
‘नेपालसँग हालसम्म उपयोग नगरिएका महत्त्वपूर्ण अवसर छन् । आईएफसी यस देशको पूर्वाधार, डिजिटल सेवा, पर्यटन र वित्तीय क्षेत्र जस्ता सम्भावनायुक्त क्षेत्रमा सहकार्यका साथ काम गर्न प्रतिबद्ध छौँ,’ उनले भनिन्, ‘विश्व बैंक समूहको समग्र रणनीतिका आधारमा सरकार तथा निजी क्षेत्रसँग नजिक रहेर दिगो तथा समावेशी आर्थिक वृद्धि हासिल गर्न सहकार्यसहित काम गर्नेछु ।’