काठमाडौँ / ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले नेपालका बाढी र पहिरोबाट पीडितहरूलाई अति आवश्यक राहत उपलब्ध गराउन राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रसँग सहकार्य गरेको छ ।
इनड्राइभले बाढी पहिरो प्रभावित परिवारहरूका लागि ५ वटा आवास (घर) निर्माण गर्न एवम् अन्य आवश्यक सामग्रीहरू वितरण गर्न ३३ लाख ५५ हजार ५०० रुपैयाँ ( २५,००० अमेरिकन डलर ) सहयोग गरेको हो ।
पीडितहरूको आवश्यकता पूरा होस् भनेर इनड्राइभले स्थानीय समुदायसँग मिलेर उक्त आवासहरू निर्माण गरीरहेको हो ।
नमोबुद्ध नगरपालिकाको वार्ड नं. १० स्थित दाप्चामा २ वटा, लास्कोट गाउँमा एउटा र पनौती नगरपालिकास्थित रोशी गाउँको वार्ड नं.१२ मा २ वटा र गरी ५ वटा आवासहरू निर्माण भईरहेका छन् ।
यी आवासहरू जाडो गर्मी बाह्रैमास बस्न उपयुक्त हुने तवरले निर्माण गरिएका छन् । बाँस र माटोको प्रयोग गरेर बनाइएको हुनाले यी घरहरू टिकाउ र दिगो रहेका छन् ।
हरेक घरमा २ वटा बेड रूम, अगाडि पट्टी बार्दली र शौचालय र किचन, डाइनिङ र लिभिङको लागि एउटा कोठा रहेको छ । चिसोमा न्यानो र गर्मीमा शीतल हुने किसिमले व्यवस्था गरिएको छ । यी घरहरूमा जाडोमा तापक्रम ११ डिग्री सेल्सियस भन्दा तल नजाने र गर्मीमा ३० डिग्री भन्दा माथि नजाने जानकारी दिइएको छ ।
घर निर्माणको साथसाथै इनड्राइभले नमोबुद्ध नगरपालिकाको वार्ड नं.१० का पीडित परिवारहरूलाई कम्बलहरू पनि प्रदान गरेको छ ।
इनड्राइभका एसिया प्यासिफिक कम्युनिकेसन लिड पवित नन्दा आनन्दले भने, “हामी समुदायका मानिसहरूलाई सहयोग गर्ने र आवश्यकता अनुसार दीगो समाधान प्रदान गर्ने कुरामा विश्वास गर्छौँ । हामी सञ्चालन हुने ठाउँहरूमा सकरात्मक् प्रभाव पार्नुपर्छ भन्ने हामी विश्वास राख्छौँ । राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रसँग सहकार्य गरेर हामीले प्राकृतिक प्रकोपबाट प्रभावित परिवारहरूलाई आश्रय प्रदान गर्ने मात्र नभै भावी जीवन अझ राम्रो बनाउन मिल्ने आश्रयको व्यवस्था गरेका छौँ । यस सहकार्यले राहत वितरणको प्रयास र प्रभावित परिवारमा आशाको किरण छर्ने हाम्रो प्रतिबद्धतालाई प्रष्ट पारेको छ ।”
इनड्राइभका एसिया प्यासिफिक रिजनल डाइरेक्टर मार्क टलीले भने, “सामाजिक अन्यायलाई चुनौती दिने मिसनमा लागि परेको इनड्राइभ सन २०३०को अन्त्यसम्म एक अर्ब मानिसको जीवनमा सकारात्मक प्रभाव पार्न प्रतिबद्ध छ । दीगो समाधान र अर्थपूर्ण कामहरू मार्फत सामुदायिक हितको लागि हामीले राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रससँग सहकार्य गरेका छौँ । यस सहकार्यले हाम्रो विश्वासलाई मुर्त रूप दिएको छ प्राकृतिक प्रकोपबाट प्रभावित परिवारहरूलाई अस्थायी बसोबास मात्र नभएर हामीले यस्तो समाधान दिएका छौँ जहाँ उनीहरूले आफ्नो जीवन नयाँ तरिकाले शुरूवात गर्न सक्नेछन् । चुनौतीपूर्ण समयमा सहायता प्रदान गर्ने र दीगो समुदाय निर्माण गर्ने हाम्रो प्रतिबद्धतालाई यस सहकार्यले मुर्त रूप दिएको छ । हामी नवीन, दिगो पहलहरू मार्फत सामुदायिक सशक्तिकरण गर्न समर्पित छौं । हाम्रो मिशन भनेको हामी सन्चालन भएको हरेक समुदायको आवश्यकतालाई सम्बोधन गरेर सकारात्मक प्रभाव पार्नु हो ।”