images
Logo
images

कृषिमा आधुनिक प्रणाली चाहन्छन् पाँचखालका किसान, नयाँनयाँ बीउविजनसमेत उपलब्ध हुनुपर्ने

कृषिमा आधुनिक प्रणाली चाहन्छन् पाँचखालका किसान, नयाँनयाँ बीउविजनसमेत उपलब्ध हुनुपर्ने

बुधवार, जेठ २३ २०८१
बुधवार, जेठ २३ २०८१
  • कृषिमा आधुनिक प्रणाली चाहन्छन् पाँचखालका किसान, नयाँनयाँ बीउविजनसमेत उपलब्ध हुनुपर्ने

    काभ्रेपलाञ्चोक / खाद्यान्न तथा तरकारी उत्पादनमा प्रख्यात काभ्रेपलाञ्चोकको पाँचखाल नगरका किसान कृषिमा आधुनिक प्रणाली चाहन्छन् । 

    images
    images

    उनीहरु परम्परागत रुपमा गरिने खेती प्रणालीलाई विस्थापित गर्दै कृषिमा आधुनिकीकरणसँगै नयाँनयाँ बीउविजनसमेत उपलब्ध हुनुपर्ने बताउँदै आएका छन् ।

    विभिन्न पक्षले पाँचखालको कृषिलाई आधुनिकीकरण गरिने भन्दै आइए पनि यहाँको खेतीप्रणालीमा कुनै सुधार नभएको पाँचखाल नपा–६ का किसान केदार ढुङ्गानाको दुःखेसो छ ।

    “पुरानै खेतीप्रणालीले उत्पादन वृद्धि गर्न सकिरहेका छैनौँ, पर्याप्त रासायनिक मल उपलब्धतासँगै कृषिमा आधुनिकीकरणको आवश्यकता भइसक्यो”, उनी भन्छन् ।

    उनले खेतीबालीका विषादी कम गर्दै लगिए पनि सबै किसानलाई जैविक विषादीतर्फ उन्मुख गराउनुपर्ने उनको भनाइ छ । 

    करिब ७० प्रतिशत उत्पादनशील क्षेत्र रहेको पाँचखालमा हालसम्म पुरानै शैलीमा मौसमी आलु, गोलभेडालगायत तरकारी तथा धान, मकैलगायत खाद्यान्न उत्पादन हुँदै आएको छ । ‘पाँचखाल नगर–कृषि सहर’का रुपमा परिचित गराउन नगरले ‘हरसम्भव प्रयासरत’ रहेको जनाउँदै आएको छ ।

    यहाँको कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै नगरले तीन वर्षअघि सम्झौता गरेअनुसार इजरायली नयाँ प्रविधिमा लगिने आशामा रहेको तर सम्झौतामै सीमित रहेकोमा स्थानीय दुःख व्यक्त गरिरहेका छन् । 

    “यहाँको कृषि इजरायली प्रविधिमा लैजाने भनेर तीन वर्षअघि नेपालस्थित इरजायली दूतावास र पाँचखाल नगरबीच सहमति भएको थियो, त्यतिबेला हामी पनि उत्साहित भयौँ तर सम्झौतामै सीमित रह्यो”, पाँचखाल–३ का किसान ज्ञानबहादुर थापाले भने । उनी कृषिमा आधुनिकीकरणले उत्पादन बढेको सुनिरहेका छौँ भन्छन् ।

    “पछिल्ला वर्ष बाली उत्पादन लागत बढ्दै गएको छ, यसअनुसार उत्पादन बढाउन कृषिलाई आधुनिकीकरण गर्न जरुरी भइसक्यो”, थापाले भने । उनले यसको अगुवाइ नगरले गर्नुपर्ने उनको धारणा छ । 

    सहमतिमा पाँचखालका किसानलाई परम्परागत खेतीप्रणालीलाई रुपान्तरण गर्दै आधुनिक खेतीप्रणालीमा लैजाने तथा नगदी बालीलाई विशेष प्राथमिकता दिई किसानको जीवनस्तर सुधार गर्दै जाने विषयलाई अघि सारिएको थियो ।

    कृषिलाई आधुनिकीकरणका नाममा नगरद्वारा किसानलाई आधा प्रतिशत अनुदानमा हाते ट्याक्टर र मौरीघार वितरण बाहेकका उदाहरणीय काम भएको पाइदैन ।

    नगरप्रमुख महेश खरेल यहाँको कृषिलाई आधुनिकीकरण गर्न विभिन्न निकाय एवं सङ्घ संस्थासँग समन्वय र सहकार्य गर्न नगर सदैव तयार रहेको बताउँछन् । 

    यसअघिका केही सम्झौता विविध कारण अघि बढाउन नसकिएको उनको भनाइ छ । उनका अनुसार उद्योगमा क्षेत्रमा केही योजना निर्माणाधीन अवस्थामा रहेका छन् ।

    इजरायली प्रविधि भित्र्याउने सहमतिपछि नगरका जनप्रतिनिधिले चासो नदिँदा सहमतिमै सीमित भएको अपाँचखाल–४ का किसान रामचन्द्र श्रेष्ठले बताउँछन् । 

    कृषिमा इजरायली प्रविधि, ज्ञान–सीप विश्वमै उत्कृष्ट मानिन्छ । उक्त प्रविधिलाई कृषियोग्य पाँचखालको भूमिमा प्रयोग गर्नसके यहाँ उत्पादन भएका गुणस्तरीय तरकारी तथा फलफूल अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने अपेक्षा गरिएको थियो । 

    नगरले आफ्नो बजेटको ठूलो हिस्सा कृषि क्षेत्रमा लगानी गर्दै आएको छ । तर, पर्याप्त सिँचाइको अभावमा अपेक्षित उत्पादन हुन सकिरहेको छैन ।

    केही वर्षदेखि लगानी भित्र्याउने तीव्र चाहना बोकेको नगरले ४० बढी उद्योग स्थापना गर्ने योजना अघि सारेको थियो । तर, आर्थिक वर्ष २०७६/७७ को अन्त्यतिर लगानी सम्मेलनको तयारीमा जुटेलगत्तै कोरोना भाइरसको सङ्क्रमण उच्च जोखिम बढ्दै गएपछि योजनामै सीमित भएको थियो । 

    गत आर्थिक वर्षमा गर्ने बताइए पनि कुनै औपचारिक योजना भने बनाइएको छैन । “लगानी सम्मेलन गर्ने योजना बनाउने चाहना छ, आउँदो आवमा गर्न सकिन्छ” खरेलले भने ।

    लगानी सम्मेलन गरेर नगरको थप विकासमा लाग्ने योजनाको खोजी गर्दै कृषि तथा पशुपालन क्षेत्रमा आधुनिककीकरण, सौर्य ऊर्जा, प्रविधि र पर्यटकीयस्तरका ठूला होटल, उद्योग स्थापनार्थ सम्मेलनमा प्रस्ताव गरिने योजना बनाइएको जनाइयो । 

    पाँचखालमा ४० उद्योग स्थापना गर्नसके स्थानीयस्तरमा खाद्यान्नलगायत उत्पादनसँगै करिव चार हजार स्थानीयवासीले रोजगारी पाउने छन् ।

    उद्योग स्थापनाका लागि नगरले स्थानीयवासीलाई नै प्राथमिकतामा राख्ने नगरको योजना थियो । “उद्योग स्थापनार्थ स्थानीयवासीलाई प्राथमिकता दिँदै सरल कर्जाका लागि वित्तीय संस्थासँग समन्वय गर्नेछौँ” खरेलले भने ।

    पाँचखाल नगरमा सघन सहरी विकास कार्यक्रमका लागि बजेट विनियोजन भए पनि योजनालाई अघि बढाइएको छैन । 

    सरकारले ग्रीन स्मार्ट–सिटी निर्माणार्थ विसं २०७८ फागुनमा मन्त्रालयको सघन सहरी विकास कार्यक्रमअन्तर्गतको उक्त कार्यक्रम लागू गर्न रु पचास करोड बजेट विनियोजन गरेको थियो । 

    ‘पाँचखाल नगर, कृषि सहर’ नारालाई सार्धक बनाउन नगरले यसअघिनै पाँचखालको खेतीयोग्य जमिनलाई ‘प्लटिङ’ गर्न पूर्ण प्रतिबन्ध लगाउँदै आएको छ ।

    नगरले वर्षौँदेखि खेतीयोग्य जमिन जोगाएर मानवबस्ती तथा औद्योगिक ग्राम स्थापना गर्ने जनाए पनि अपेक्षित काम हुन नसकेको बताइन्छ । 

    पाँचखालमा केही राष्ट्रिय योजनाअन्र्गत विशेष आर्थिक क्षेत्र (सेज)का भौतिक निर्माण भइरहेको भने मदन भण्डारी विश्वविद्यालयका लागि जमिन स्वामित्वमा लगिएको, वृहत सुनकोशी पाँचखाल खानेपानी आयोजनाको काम भइरहेको छ ।

    – राजकुमार पराजुली, रासस

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय