काठमाडौँ / गृहमन्त्री रमेश लेखकले द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपालमा शान्ति निर्माणका चुनौति विषयक उद्घाटन समारोहमा उहाँले यस्तो बताएका हुन् ।‘द्वन्द्वको प्रकृति फरक छ । जहाँ द्वन्द्वको छ त्यहाँ समाधान पनि छ । हामीले ठीक ढंगले बुझ्दिनुपर्छ । द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो । दुबै पक्षले आफ्नो अडान काम राखे द्वन्द्व व्यवस्थापन हुँदैन । द्वन्द्वरत पक्षका बिचमा सम्झौता भएर संविधान बनेको हो,’ उनले भने ।
द्वन्द्वको रुप परिवर्तन भए पनि द्वन्द्व कायम रहेको गृहमन्त्री लेखकको भनाइ छ ।
‘द्वन्द्व सकारात्मक र नकारात्मक दुई थरी कै हुन्छन् । सकारात्मक द्वन्द्वको व्यवस्थापन गर्दा देशले विकास हुन्छ भने नकारात्मक द्वन्द्वले देशमा दुर्गति निम्त्याउँछ । द्वन्द्व व्यवस्थापनमा, द्वन्द्वको पहिचान, समय र सम्झौता मुख्य कुरा हो,’ उनले भने ।
देशमा उत्पन्न द्वन्द्व र अस्थिरताले धेरै संविधान बन्ने अवस्था सिर्जना हुने गरेको गृहमन्त्री लेखकले स्मरण गरे । ‘अहिलेसम्म नेपालमा सात वटा संविधान बने । धेरै संविधान बन्ने कुरा राम्रो होइन । धेरै सडक, पुल, विद्यालय, अस्पताल बन्ने कुरा राम्रो हो,’ उनले भने ।
वर्तमान संविधान असफल भयो भने देशमा अकल्पनीय द्वन्द्व हुने गृहमन्त्री लेखकको भनाइ छ ।
यस्तै संविधानले गरेको अधिकारको बाँडफाँडले द्वन्द्व उत्पन्न गराइरहेको भन्दै त्यसको व्यवस्थापन आवश्यक रहेको गृहमन्त्री लेखकले बताए ।