निर्वासित रुसी विपक्षी नेतृ युलिया नवलनायाले आज रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अनुरोध गर्दै युद्धविरोधी अभिव्यक्तिका कारण थुनामा रहेका रुसी तथा युक्रेनी नागरिकहरूको रिहाइका लागि पहल गर्न आग्रह गरेका छन् ।
गत वर्ष कारावासमा रहँदै ज्यान गुमाएका प्रख्यात नेता अलेक्सी नवलनीकी पत्नी युलिया नवलनायाले आज सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै दुबै नेतालाई मानवीय दृष्टिकोण अपनाउन अनुरोध गरे ।
“अब यस्तो कदम चाल्ने बेला आएको छ, जुन ऐतिहासिक र अपरिवर्तनीय होस्,” उनले सम्बोधन गर्दै भने, “कृपया रुसी राजनीतिक कार्यकर्ता तथा पत्रकारहरूलाई रिहा गर्नुहोस् । युक्रेनी सर्वसाधारणहरूलाई पनि स्वतन्त्रता दिनुहोस् । केवल आफ्ना विचार सामाजिक सञ्जाल वा सार्वजनिक रूपमा व्यक्त गरेको भरमा थुनामा परेका व्यक्तिहरूको रिहाइ सुनिश्चित गर्नुहोस्,” उनले अपिल गरे।
यसअघि पनि ट्रम्प र पुटिनले विभिन्न समयहरूमा एकअर्काका देशमा थुनामा रहेका व्यक्तिहरूको रिहाइका लागि समझदारी कायम गर्दै आएका छन् ।
अमेरिकी पूर्ववर्ती राष्ट्रपति जो बाइडेनले गत वर्ष दुई अमेरिकी पत्रकार र केही रुसी विपक्षी नेताहरूको रिहाइका सन्दर्भमा युरोपमा पक्राउ परेका रुसी जासूसहरूसँग कैदी आदान–प्रदानको सम्झौता गरेका थिए ।
रुसले युक्रेनमाथि सैन्य आक्रमण गरेपछि सयौँ नागरिकलाई विरोधका कारण कानुनी कारबाही गर्दै थुनामा राखेको छ ।
उक्त आक्रमणपछिका दिनहरूमा रुसले कडा सैन्य गोपनीयता तथा सेन्सरसिपसम्बन्धी कानुनहरू लागू गरेको थियो, जसअन्तर्गत सरकारी जानकारी बाहेकका स्रोतबाट प्राप्त समाचार वा सैन्य आलोचना दण्डनीय बनाइएको छ ।
युक्रेनी अधिकारीहरूले हजारौँ युक्रेनी नागरिकहरू अझै पनि रुस तथा त्यसले नियन्त्रणमा लिएका युक्रेनी भूभागहरूमा अवैध रूपमा हिरासतमा राखिएको दाबी गर्दै आएका छन् ।