काठमाडौँ / नेपाल बैंक लिमिटेडले गत आर्थिक बर्षमा ३ अर्ब ७७ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार सो रकम अघिल्लो आथि बर्षको तुलनामा १३ हजार १७५ प्रतिशत बढी हो ।
अघिल्लो आर्थिक वर्षको तथ्याङ्क संशोधनपछि बैंकको नाफा वृद्धिदर उच्च देखिएको हो ।
आर्थिक २०८०/८१ को चौथो त्रैमासको विवरणमा बैंकको खुद नाफा १ अर्ब ६५ करोड रुपैयाँ देखिएको थियो। तर, यस वर्ष प्रकाशित संशोधित विवरणमा सोही अवधिको नाफा २ करोड ८४ लाख रुपैयाँ मात्र देखिएको छ, जसका कारण वृद्धिदर असाधारण रूपमा बढेको हो। यो अन्तरको मुख्य कारण इम्पेरमेन्ट चार्जमा आएको परिवर्तन हो ।
गत वर्षको विवरणमा २०८१ असार मसान्तसम्म इम्पेरमेन्ट चार्ज २ अर्ब ५९ करोड रुपैयाँ थियो भने हाल प्रकाशित विवरणमा यो रकम ४ अर्ब ७५ करोड रुपैयाँ देखिएको छ। यसकै प्रभावले अघिल्लो वर्षको नाफा घटेको र यस बर्ष नाफावृद्धिदर उच्च देखिएको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १६.८२ प्रतिशत, फि तथा कमिशन आम्दानी ६.०७ प्रतिशत र कुल सञ्चालन आम्दानी १५.६५ प्रतिशतले बढेको छ।
समीक्षा अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ४४ करोड ९० लाख रुपैयाँ ऋणात्मक रहेको छ। यसैगरी, अघिल्लो आर्थिक बर्ष ०.१९ पैसा रहेको इपिएस यस बर्ष २५ रुपैयाँ ४८ पैसाले बढेर २५ रुपैयाँ ६८ पैसा पुगेको छ ।
यता, वितरणयोग्य प्रतिसेयर आम्दानी भने ३.०६ रुपैयाँ ऋणात्मक रहेको छ । यसैगरी, पिइ रेसियो ११.३८ गुणा रहेको छ भने नेटवर्थ प्रतिसेयर २५९ रपैयाँ ८१ पैसा रहेको छ भने खराब कर्जा सामान्य बढेको छ । अघिल्लो बर्ष ४.३३ प्रतिशत रहेको खराब कर्जा गत बर्ष बढेर ४.४७ प्रतिशत पुगेको हो ।
१४ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २३ अर्ब ४८ करोड रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ३ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी २ खर्ब २१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।