अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दर्जनौँ देशमाथि लगाएको करका कारण हालसम्म पानामा नहरबाट कन्टेनर जहाजको आवागमनमा कुनै असर नपरेको पानामा नहरका प्रशासकले बिहीबार बताएका छन् ।
संयुक्त राज्य अमेरिकाका मित्र राष्ट्र र विरोधीहरूले समान रूपमा निर्यातमा उच्च करको सामना गरिरहेका छन् ।
ट्रम्पको ‘पारस्परिक’ करहरू लामो समयदेखिको व्यापार अभ्यासहरूमा लागू हुँदै आएका छन् । उनले विश्व समुदायले अमेरिकासँग गर्दै आएका व्यापार अभ्यासहरू अव्यावहारिक रहेको दाबी गर्दै आएका छन् ।
विश्लेषकहरूले अमेरिकी आक्रामक नीतिले पानामा नहरमार्फत यातायातलाई कम गर्ने अपेक्षा गरिएको भए पनि अहिलेसम्म त्यसो नभएको बताएका छन् । सबै विश्वव्यापी ढुवानीको पाँच प्रतिशत हिस्सा पानामा भएर जान्छ।
“यस आर्थिक वर्षको नतिजा राजस्व र ढुवानी भएको सामान हिसाबले हामीले प्रक्षेपण गरेअनुरूप हुनेछ,” नहर प्रशासक रिकार्टे भास्केजले एएफपीलाई बताए ।
पानामा नहर प्राधिकरणले सेप्टेम्बर ३० मा समाप्त हुने आर्थिक वर्षमा ५.६ अर्ब अमेरिकी डलरको रेकर्ड राजस्व अनुमान गरेको छे, जुन गत वर्षको तुलनामा १२.७ प्रतिशतले बढी हो ।
उक्त अवधिमा १३ हजार ९०० जहाजले ५२ करोड टन कार्गो ढुवानी गर्ने अनुमान गरिएको छ । तर भास्केजले समय बित्दै जाँदा शुल्कका कारण कार्गोको मात्रा घट्न सक्ने सम्भावना रहेको बताएका छन्।
एटलान्टिक र प्रशान्त महासागरलाई जोड्ने ८० किलोमिटर (५० माइल) नहरले १७० देशका एक हजार ९०० भन्दा बढी बन्दरगाहहरूमा सेवा पुर्याउँछ भने यसले विशेष गरी चीन, जापान र दक्षिण कोरियालाई अमेरिकी पूर्वी तटमा बढी पहुँच प्रदान गर्दछ।
यसै साताको सुरुमा चीन र संयुक्त राज्य अमेरिकाले एकअर्काको आयातमा लगाउने भनी घोषणा गरेको उच्च कर वृद्धि थप ९० दिनका लागि स्थगित गरेका छन् ।