काठमाडौँ / गत आर्थिक बर्षको असार मसान्तसम्म प्रभु बैंक लिमिटेडको नाफा ९६५.४१ प्रतिशतले बढेको छ । बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तथ्याङ्क संशोधनपछि बैंकको नाफा वृद्धिदर उच्च देखिएको हो । गत आर्थिक बर्षको चौथो त्रैमाससम्ममा बैंकले ५ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको छ।
हाल प्रकाशित सो विवरणमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको नाफा ५१ करोड ८ लाख रुपैयाँ मात्र देखिएको छ, जसका कारण वृद्धिदर असाधारण रूपमा बढी देखिएको हो।
गत वर्ष सार्वजनिक विवरणमा २०८१ असार मसान्तसम्म बैंकको नाफा ४ अर्ब ४८ करोड रुपैयाँ थियो। यो अन्तरको मुख्य कारण बैंकको इम्पेरीमेन्ट चार्जमा गरिएको हेरफेर हो।
गत वर्ष प्रकाशित विवरणअनुसार २०८१ असार मसान्तमा इम्पेरीमेन्ट चार्ज ५५ करोड ६८ लाख रुपैयाँ थियो, तर हाल प्रकाशित विवरणमा सोही अवधिको चार्ज ४ अर्ब ७१ करोड रुपैयाँ देखिएको छ। यसैले गर्दा अघिल्लो वर्षको नाफा घटेर हालको विवरणमा वृद्धिदर अत्यधिक देखिएको हो।
२०८२ असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ १२ पैसा, प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ र पिइ रेसियो ९.६० गुणा रहेको छ।
यस अवधिसम्ममा वितरणयोग्य मुनाफा १ अर्ब ४ करोड रुपैयाँ र वितरणयोग्य प्रतिसेयर आम्दानी ४ रुपैयाँ ४४ पैसा रहेको छ।
बैंकको खराब कर्जा भने सामान्य बढेको छ । अघिल्लो बर्ष असार मसान्तसम्म ४.९४ प्रतिशत रहेको खराब कर्जा समीक्षा अवधिमा बढेर ४.९६ प्रतिशत पुगेको छ ।
प्रभु बैंकको चुक्ता पूँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ र जगेडा कोष १३ अर्ब ५५ करोड १२ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको अन्त्यमा बैंकले ३ खर्ब ४२ अर्ब १८ करोड ८५ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी २ खर्ब ३० अर्ब ३७ कराड २ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।