काठमाडौँ / भैरहवा लुम्बिनीमा विगत ४ वर्षदेखि उत्कृष्ट सेवा र आतिथ्यको पहिचान बनाउँदै आएको एशियन होटल लिमिटेडले सर्वसाधारणको सहभागितासहित व्यवसाय विस्तार गर्ने तयारी गरेको छ।
कम्पनीले साधारण सेयर (आइपिओ)मार्फत ३५ लाख कित्ता सेयर जारी गरी ३५ करोड रुपैयाँ जुटाउने भएको हो। सो रकम होटलको सुविधा पाँचतारे स्तरमा स्तरोन्नति गर्ने, स्पोर्ट्स कम्प्लेक्स, हेल्थ फिटनेस सेन्टर तथा अन्य पूर्वाधार विकासमा खर्च गरिने कम्पनीले जनाएको छ।
सेयर निष्काशन प्रक्रिया अघि बढाउनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ।
सो सन्दर्भमा आयोजित औपचारिक कार्यक्रममा होटल एशियनका अध्यक्ष पारस अधिकारी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
सन् २०२१ मा स्थापना भएको यो होटल बौद्ध सांस्कृतिक धरोहर र स्थानीय आतिथ्य सेवाबाट प्रेरित छ। लुम्बिनी-युनेस्कोको विश्व सम्पदा स्थल र गौतम बुद्धको जन्मस्थल नजिकै अवस्थित यस होटलले ६६ वटा सुविधा सम्पन्न कोठा, स्पा, फिटनेस सेन्टर, क्यासिनो, बेन्क्वेट हल, बाह्य बगैँचा, उच्चस्तरीय सेमिनार, कन्फरेन्स तथा डेस्टिनेशन वेडिङ्गका सेवा प्रदान गर्दै आएको छ।
आईपीओपछि कम्पनीले पोखरा, काठमाडौँ र चितवनमा समेत सेवा विस्तार गर्ने योजना जनाएको छ। अध्यक्षका अनुसार यस विस्तारले स्थानीय रोजगारी सिर्जना र लुम्बिनीको पर्यटन प्रवर्द्धनमा थप योगदान पुर्याउनेछ।
होटलले प्रविधिमा आधारित सेवा व्यवस्थापन प्रणाली, हरित पर्यटनको अवधारणा र दीगो विकास लक्ष्यहरूप्रति प्रतिबद्ध रहँदै व्यवसाय विस्तार गर्ने स्पष्ट रणनीति अघि सारेको छ।