काठमाडौँ / नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षमा १ अर्ब ८० करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ । अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक बर्षको चौथो त्रैमासको तुलनामा गत बर्ष सोही अवधिसम्म बैंकको नाफा ९.८६ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको चौथो त्रैमाससम्म बैंकको नाफा १ अर्ब ९९ करोड रुपैयाँ थियो ।
बैंकले खुद ब्याज आम्दानीमा ३.७२ प्रतिशत र फि तथा कमिशन आम्दानीमा ७.५५ प्रतिशत वृद्धि गरे पनि इम्पेरीमेन्ट चार्ज बढ्दा नाफा घटेको हो । अघिल्लो बर्ष ६४ करोड ८३ लाख रहेको इम्पेरीमेन्ट चार्ज गत आबमा बढेर १ अर्ब २ करोड रुपैयाँ पुगेको हो ।
समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ५.९१ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा ३.६२ प्रतिशत घटेको छ। नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि १ रुपैयाँ ८१ पैसाले घटेर १६ रुपैयाँ ५४ पैसामा झरेको छ।
गत असार मसान्तसम्ममा वितरणयोग्य मुनाफा १ अर्ब २३ करोड ३ लाख रुपैयाँ र वितरणयोग्य प्रतिसेयर आम्दानी ११ रुपैयाँ २९ पैसा रहेको छ। समीक्षा अवधिसम्ममा बैंकको प्रतिसयर नेटवर्थ १८८ रुपैयाँ ५९ पैसा र पिई रेसियो २६.६० गुणा रहेको छ।
बैंकको खराब कर्जा भने एक बर्षको अवधिमा उच्च रूपमा बढेको छ । अघिल्लो बर्ष १.९६ प्रतिशत रहेको नेपाल एसबिआई बैंकको खराब कर्जा गत आर्थिक बर्षको असार मसान्तसम्म बढेर ३.३५ प्रतिशत पुगेको छ ।
नेपाल एसबिआई बैंकको चुक्ता पूँजी १० अर्ब ८९ करोड रुपैयाँ र जगेडा कोष ९ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको अन्त्यमा बैंकले १ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।