काठमाडौँ / लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४ अर्ब ११ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको यस्तो नाफा अघिल्लो आर्थिक बर्षको तुलनामा ४०.९७ प्रतिशत बढी हो।
अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म बैंकको यस्तो नाफा २ अर्ब ९२ करोड रुपैयाँ मात्रै थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने घटेको छ । यद्यपि, इम्पेरीमेन्ट चार्ज घटेसँगै बैंकको नाफा रकम भने उच्च रूपमा भने बढेको हो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.९९ प्रतिशतले घटेर ११ अर्ब ३७ करोड ६३ लाख रुपैयाँ कायम भएको छ । यसैगरी, खुद फि तथा कमिसन आम्दानी १०.०५ प्रतिशत वृद्धि भएको छ। बैंकको कुल सञ्चालन आम्दानी १.५४ प्रतिशत घट्दा पनि सञ्चालन मुनाफा ३८.५५ प्रतिशत बढेको देखिन्छ।
इम्पेयरीमेन्ट चार्ज ३ अर्ब ५८ करोड रुपैयाँबाट घटेर १ अर्ब १८ करोड रुपैयाँमा सीमित हुँदा सञ्चालन मुनाफा र खुद नाफा दुवैमा वृद्धि भएको हो।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा प्रतिसेयर आम्दानी ४ रुपैयाँ ९१ पैसा बढेर १६ रुपैयाँ ९१ पैसा पुगेको छ।
गत असार मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ५३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३४ पैसा रहेको छ। सो अवधिसम्म बैंकको प्रति सेयर नेटवर्थ १८६ रुपैयाँ ६३ पैसा र मूल्य–आम्दानी अनुपात १४.१२ गुणा रहेको छ।
अघिल्लो बर्षको तुलनामा गत आवमा बैंकले खराब कर्जामा सामान्य सुधार गरेको छ । अघिल्लो बर्ष असार मसान्तसम्म ४.६३ प्रतिशत रहेको खराब कर्जा घटेर गत असार मसान्तसम्ममा ४.२५ प्रतिशत कायम भएको हो ।
बैंकको चुक्ता पूँजी २४ अर्ब ३४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २१ अर्ब ९ करोड रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले ३ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी २ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो।