आज वि.सं. २०८२ साल साउन २९ गते, बिहीबार तदनुसार ईश्वी सन् २०२५ अगस्ट १४ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, दक्षिणायनं, वर्षा ऋतु, श्रीशाके १९४७, भाद्र कृष्णपक्ष, पञ्चमी तिथी, बिहान ५ः५३ बजेपछि षष्ठी, रेवती नक्षत्र योग–शूल, आनन्दादिमा–मीत्र योग, चन्द्रराशि–मीन, बिहान ११ः३० बजेपछि मेष ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बिहान अनावश्यक खर्च र कम आम्दानीका कारण आर्थिक दबाब देखापर्नेछ। दिगो फाइदा दिने क्षेत्रमा लगानीको अवसर भए पनि चुनौतीपूर्ण काममा ढिलाइ गर्नु उचित हुनेछ। मध्यान्हपछि आर्थिक अवस्था सुधार हुँदै चिताएका काममा साथ मिल्नेछ। पारिवारिक भेटघाट र सामाजिक सम्पर्कबाट व्यवसाय तथा आम्दानीमा सकारात्मक सम्भावना बढ्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धर्मकर्म र सामाजिक गतिविधिमा सक्रिय रहँदै आर्थिक पक्ष सबल बन्नेछ। व्यवसाय र श्रमको उचित मूल्य पाइने भएकाले आम्दानी बढ्नेछ र केही बचत पनि सम्भव हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन् भने व्यापारमा प्रगति हुनेछ। तर दिउँसोपछि खर्च बढ्नाले ऋण वा सरसापटको आवश्यकता पर्न सक्छ। सावधानीपूर्वक खर्च नियन्त्रणले आर्थिक स्थायित्व कायम राख्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पैतृक वा सञ्चित सम्पत्तिको सदुपयोग, व्यापार र शेयर बजारमा लगानीबाट आम्दानी बढ्नेछ। प्राकृतिक स्रोत साधनको परिचालनले मनग्गे लाभ मिल्नेछ। अड्केका काम पूरा भई आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि फाइदा हुनेछ। तर निर्णय गर्दा घर–परिवारसँग सल्लाह लिनु आवश्यक छ, जसले दीर्घकालीन आर्थिक स्थिरता सुनिश्चित गर्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पैतृक सम्पत्ति र वित्तीय बजारमा गरिएको लगानीबाट आर्थिक लाभ हुनेछ। नयाँ काम वा पदोन्नतिको सम्भावना उच्च रहँदै पेशा–व्यवसायमा लाभ हुनेछ। अड्किएका काम गति लिँदै मध्याह्नपछि सहयोग र अवसर बढ्नेछन्। मेहनत र हिम्मतका साथ लक्ष्यतर्फ अघि बढ्दा दीर्घकालीन आम्दानीका स्रोत बलियो बन्नेछन् र आर्थिक स्थायित्व कायम रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धर्म, अध्यात्म र अन्य वस्तुको व्यापार फस्टाउनेछ। धार्मिक वा शैक्षिक यात्राबाट लाभ मिल्नेछ भने शेयर बजार, उद्योग र व्यापारमा सुझबुझपूर्ण लगानीले नाफा बढाउनेछ। दोहोरिएको प्रयास सफल भई अड्केका काम बन्नेछन्। मध्याह्नपछि अवसर र धनलाभ बढ्दै गुमेको स्थान फिर्ता आउनेछ। समुदायमा प्रभाव जमाउँदै आर्थिक स्थायित्व बलियो बन्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफन्तको सहयोग र पारिवारिक साथले व्यापार–व्यवसायमा प्रगति भई आर्थिक अवस्था बलियो बन्नेछ। नसोचेको धन वा उपहार प्राप्त हुने सम्भावना छ। बिहानको समय अनुकूल रहेर नयाँ अवसर र भौतिक सुविधा जुट्नेछन्। यद्यपि मध्याह्नपछि प्रतिकूलता बढ्न सक्ने भएकाले स्वास्थ्य, खर्च र अरूको फाइदामा सजग रहँदा आर्थिक स्थायित्व सुरक्षित रहनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नोकरीमा समय दिनेहरूका लागि अवसरपूर्ण समय रहँदै अतिरिक्त जिम्मेवारीबाट सम्मान बढ्नेछ। व्यापार–व्यवसाय फस्टाउँदै पहिला गरेका कामबाट पनि लाभ मिल्नेछ। नयाँ प्रकृतिका कामले आम्दानी बढाउनेछ तर लगानीअघि सोच विचार आवश्यक छ। मध्याह्नपछि व्यापार र पेसामा प्रगति भई प्रियजनसँग भेटघाट तथा सामाजिक सम्मान प्राप्त हुने सम्भावना बलियो छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यवसायमा राम्रो आम्दानी भई पुराना कारोबार टुंग्याउने अवसर जुट्नेछ। शत्रुलाई परास्त गर्दै नयाँ काममा अग्रसर भइनेछ। आफन्तको सहयोग र न्यायिक पक्षको अनुकूलताले आत्मबल बढ्नेछ। वित्तीय बजारमा लगानीबाट नाफा मिल्नेछ भने मिहिनेतले दीर्घकालीन फाइदा दिने कामको सुरुवात हुनेछ, जसले आर्थिक स्थायित्व मजबुत बनाउनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बिहान स्वास्थ्य समस्या र प्रतिस्पर्धीको अवरोधले काममा असर पर्ला तर मध्यान्हपछि व्यवसाय र वित्तीय बजारमा लगानीबाट मनग्गे लाभ हुनेछ। पढाइमा प्रतिद्वन्द्वीलाई पछि पार्ने सफलता मिल्नेछ। बिलासी उपहार प्राप्त भई प्रतिष्ठा बढ्नेछ। बुद्धिको प्रयोग र रचनात्मक कार्यमार्फत आर्थिक लाभ र दीर्घकालीन अवसर दुवै हासिल हुनेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आमा, आफन्त र सहयोगीको समर्थनले मन प्रसन्न रहनेछ। घर, जग्गा र सवारी साधन जोड्न सकिनेछ भने कृषि र पशुपालन व्यवसायबाट आम्दानी वृद्धि हुनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी र ठेकापट्टाबाट लाभ मिल्नेछ। अध्ययन र प्रतिस्पर्धामा प्रगति हुनेछ। मध्याह्नपछि भूमि र पशुधनबाट सामान्य लाभ प्राप्त भई नयाँ कामका अवसर र सहयोगीहरूको साथले आर्थिक स्थिति बलियो बन्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
औषधीजन्य र दैनिक उपभोग्य सामानको व्यापार तथा पुँजी बजारमा लगानीबाट आम्दानी बढ्नेछ। भौतिक स्रोत साधन जुट्दा काम सहज हुनेछ। पुरुषार्थ र मेहनतबाट नाम, दाम र प्रतिष्ठा कमाउन सकिनेछ। सञ्चित धन वृद्धि हुनेछ भने घरपरिवारको सहयोगले कार्य सम्पन्न हुनेछ। दिउँसोबाट नयाँ काम प्रारम्भ भई पेसा–व्यवसायमा लाभ र अध्ययनमा प्रगति हुनेछ, व्यक्तित्वमा निखार आउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययन–अध्यापनमा सुधार हुँदै बौद्धिक क्षेत्र फराकिलो हुनेछ। आफन्त र साथीभाइबाट सुखद समाचारले उत्साह बढाउनेछ। व्यापार र शेयर बजारमा लगानीले मनग्गे लाभ दिनेछ भने नयाँ काम सुरु गर्न सकिनेछ। बोली र तार्किक क्षमताले मान–सम्मान र आर्थिक फाइदा दिलाउनेछ। प्रयास, हिम्मत र सानो प्रयत्नबाट दीर्घकालीन लाभ हुने अवसर प्राप्त हुनेछ।