नाइमा नेपाल मोबिलिटी एक्स्पो सम्पन्न : १ लाख बढीले गरे अवलोकन, बुकिङ् बढेपछि उत्साहित सहभागी कम्पनी

नाइमा नेपाल मोबिलिटी एक्स्पो सम्पन्न : १ लाख बढीले गरे अवलोकन, बुकिङ् बढेपछि उत्साहित सहभागी कम्पनी

मंगलवार, साउन २७ २०८२
मंगलवार, साउन २७ २०८२
  • नाइमा नेपाल मोबिलिटी एक्स्पो सम्पन्न : १ लाख बढीले गरे अवलोकन, बुकिङ् बढेपछि उत्साहित सहभागी कम्पनी

    काठमाडौँ /नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा)द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’  सोमबार सम्पन्न भएको छ । साउन २१ गतेदेखि सुरु भएको यो एक्स्पोमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गरेका थिए।

    images
    images

    ६ दिनसम्म चलेको यस एक्स्पोमा ५० भन्दा बढी अटोमोबाइल ब्रान्डले सहभागिता जनाएका थिए भने ३५ नयाँ मोडल सार्वजनिक भएका थिए। 

    नाइमा नाडा अटोमोबाइल्स एशोसिएसनबाट छुट्टिएर बनेको संस्था हो। पहिलो मोबिलिटी एक्स्पोमै अवलोकनकर्ताहरूको घुइँचो बढेपछि उत्साहित भएको नाइमाले एक दिन थप गरी ६ दिनसम्म प्रदर्शनी कायम गरेको थियो । 

    एक्स्पोको अवसरमा कम्पनीहरूले छुटसँगै विभिन्न अफरसमेत ल्याएका थिए । जसले गर्दा पनि बुकिङ बढाएको भन्दै प्रदर्शनीमा सहभागी कम्पनीहरू प्रदर्शनीको अन्तिम दिन अर्थात सोमबार उत्साहित देखिन्थे । 

    प्रदर्शनीमा प्रत्येक दिनको दर्शक संख्यामा पहिलो दिन १५ हजार, दोस्रो दिन १३,५००, तेस्रो दिन १९,५००, चौथो दिन २१,५००, पाँचौं दिन २२ हजार र छैटौँ दिन ७ हजार ८ सय ८० जनाले एक्स्पो अवलोकन गरेका थिए।

    समापन समारोहमा नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले एक्स्पो अपेक्षा भन्दा बढी सफल भएको भन्दै सबै सहभागी, प्रायोजक र साझेदारलाई धन्यवाद दिइन् । 
     
    उनले भनिन्, “यो पछिल्लो छ दिन अत्यन्तै अद्भुत र उत्साहजनक रहे। तपाईंहरूले यसलाई नेपालको सबैभन्दा ठूलो अटो एक्स्पो बनाउनुभएको छ। एक लाखभन्दा बढी दर्शक, प्रत्येक स्टलमा भएको बिक्री, प्यानल डिस्कसनमा उत्कृष्ट सहभागिता र देखाएको जोशले नाइमाले मोबिलिटी क्षेत्रमा नयाँ आयाम स्थापित गरेको छ।”

    नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले एक्स्पो अवधिभर पाँच दिनसम्म निरन्तर सिकाई सत्रहरू सञ्चालन गरिएको जानकारी दिए। ती सत्रहरू नेपाल पुलिस क्लबमा नेपाल र भारतका विज्ञहरूको सहभागितामा निःशुल्क आयोजना गरिएको थियो। 

    उनले भविष्यमा यस्ता कार्यक्रमहरू सरकार, सरोकारवालाहरू, दातृ निकाय र उपभोक्ताको सहभागितामा नियमित रूपमा आयोजना गरिने प्रतिबद्धता व्यक्त गरे।

    ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डको सहभागिता रहेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा पहिलो दिन १५ हजार, दोस्रो दिन १३,५००, तेस्रो दिन १९,५००, चौथो दिन २१,५००, पाँचौँ दिन २२ हजार र छैटौँ दिन ७,८०० दर्शकले एक्स्पो अवलोकन गरेका थिए।

    आयोजकले एक्स्पोमा कुल कति सवारी साधन बुकिङ भए भन्ने तथ्याङ्क भने सार्वजनिक गरेको छैन । 

    बिवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले ‘एट्टो–१’ मोडलमा सर्वाधिक बुकिङ भएको जानकारी दिएका छन्। 

    प्रदर्शनीमा प्रमुख प्यासेन्जर कार ब्रान्डहरूमा हुन्डाई, केई, किया, लिपमोटर, टोयोटा, एमजी, बिवाइडी, सिट्रोन, फोर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्ट्स,  प्रोटोन, रेनो, फक्सवागन, एलएस अटो, महिन्द्रा, म्याक्सस, माज्दा, मित्सुबिसी, निसान, ओमोडा/जेको, प्युजो, र जिकरलगायत राखिएका थिए । 

    बिक्रेताहरूले ग्राहक आकर्षित गर्न २० लाख रुपैयाँसम्मको छुट योजना ल्याएका थिए । कम्पनीहरूले मार्जिन घटाएर सवारी साधनको मूल्य निर्धारण गरेकाले प्रदर्शनीमा बुकिङ गर्ने ग्राहकहरूले उल्लेख्य फाइदा लिएको प्रदर्शनीमा सहभागी एक कम्पनीका प्रतिनिधिले बताए । 

    लगत्तै भदौ ३ गतेदेखि सोही स्थानमा नाडाले आयोजना गर्ने नाडा अटो शो आयोजना हुने भएको छ । दुई संस्थाबिचको कडा प्रतिस्पर्धाले मूल्य घटाघट हुँदा ग्राहकहरूलाई फाइदा पुगेको अवलोकनकर्ताहरूले बताए । 

    उक्त एक्स्पोमा अधिकांश स्टलहरू विद्युतीय चिनियाँ गाडीका लागि छुट्याइएको थिए । 

    एक्स्पोमा सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारी, स्थानीय तहका जनप्रतिनिधि, उद्योग क्षेत्रका प्रतिष्ठित व्यक्ति, सञ्चारकर्मी, व्यवसायी, अटोमोबाइल क्षेत्रका अग्रज, कूटनीतिक नियोगका पदाधिकारीहरू साथै सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय