शैक्षिक पुनर्जागरण अब विकल्प होइन, अनिवार्य सर्त : डा. चण्डिका भट्ट

शैक्षिक पुनर्जागरण अब विकल्प होइन, अनिवार्य सर्त : डा. चण्डिका भट्ट

यो सङ्कट होइन, सम्भावनाको मोड हो–ठिक त्यस्तै जस्तो युरोपमा मध्ययुगीन अन्धकार पछिको पुनर्जागरण कालले ल्याएको परिवर्तन थियो । जसले ज्ञान, विज्ञान, कला र मानवीय चेतनाको नयाँ युगको सुरुवात गर्यो ।

बुधवार, साउन २१ २०८२
बुधवार, साउन २१ २०८२
  • शैक्षिक पुनर्जागरण अब विकल्प होइन, अनिवार्य सर्त : डा. चण्डिका भट्ट

    नेपालमा शैक्षिक क्षेत्रको वर्तमान अवस्थाले यतिबेला निराशा र अनिश्चितताको घना बादल ओढेको छ । तर त्यही क्षितिजमा एउटा नयाँ सम्भावनाको उज्यालो रेखा पनि देखापर्छ ।

    images
    images

    लगातारको प्रतिभा पलायन, आन्तरिक असन्तुलन र संस्थागत विच्छेदनका बाबजुद, नेपालसँग एक अद्वितीय अवसर उपस्थित भएको छ-शिक्षालाई राष्ट्रनिर्माणको मूल आधार बनाउने बदलिँदो अन्तर्राष्ट्रिय परिदृश्य, युवाको चेतनास्तर, र विश्व बजारको मागका बीच, अब समय आएको छ कि हामी ‘पुनर्जागरण’लाई केवल इतिहासको एउटा अवधारणा नभई, नेपालका लागि आजको कार्ययोजना बनाउन सक्छौँ ।

    प्रसङ्ग १ : तीन साता नेपालको बसाइले देखाएको यथार्थ

    सन् २०२५ को जुन महिनामा नेपालमा सिप तथा ज्ञान विनिमय सम्बन्धी कार्यक्रममा सहभागी हुन पुगेको थिएँ । छोटो नेपाल बसाइँमा साथीभाइ तथा आफन्तहरूसँगको भेटघाटले मेरो मनमा गहिरो तरङ्ग उत्पन्न ग-यो । जसले नेपालको वर्तमान सामाजिक मनोविज्ञान, शैक्षिक अवस्थिति र सार्वजनिक भरोसाको परिदृश्य एकसाथ उजागर ग-यो ।

    मैले धेरै ठाउँमा निरासा, परस्पर अविश्वास, संस्थागत असहयोग र भावनात्मक असन्तुलनको अनुभूति गरेँ । मानिसहरूमा आशाभन्दा बढी निराशा र अन्योल देखिन्थ्यो । तर त्यसै निराशाबीच केही असल चेतनाका केहि भरोसा लाग्दा झिल्का  पनि देखा परेका देखिन्थे ।

    उदाहरणका लागि, गोरखाका भूतपूर्व शिक्षक, प्रधानाध्यापकहरूसँगको संवादले यो विश्वास पुनः स्थापित ग-यो-हामी केही गर्न सक्छौँ, परिवर्तन सम्भव छ । यही आत्मविश्वासले मेरो मनमा एउटा सम्भावनाको बीउ रोप्यो-के नेपाललाई अध्ययन, अनुसन्धान र ज्ञान सिर्जनाको केन्द्र बनाउने सपना केवल आकांक्षा मात्रै हो, या अभ्यासमा उतार्न सकिने इच्छाशक्ति, योजना र प्रयत्नले साकार पार्न सकिने यथार्थ सम्भावना पनि हो ।

    प्रसङ्ग  २ः बस यात्रा र विचारको चक्रवात

    २०२५ सालको जुलाई ९ गते बिहान अनलाइन खबरमा प्रकाशित नारायण प्रसाद भण्डारीको एउटा लेखमा मेरो आँखा प-यो । जसमा उच्च शिक्षाको ‘ब्रान्डिङ’ले मलाई गहिरो रूपमा सोच्न बाध्य पा-यो ।

    नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्यको रूपमा स्थापित गर्ने तर्क, तथ्य र दृष्टिकोणले भरिएको त्यो लेख केवल आशावाद होइन, योजना र उद्देश्यको एउटा प्रारूप थियो जुन मैले प्रसङ्ग १ मा उठान गरेको प्रसँगसँग सामिप्य थियो ।

    प्रसङ्ग ३ : शिक्षाको सीमाना, बाहिरको आकर्षण कि भित्रको अभाव ?

    अहिले म स्वयं बेलायतको एक विश्वविद्यालयमा कार्यरत छु । जहाँ दर्जनौँ नेपाली विद्यार्थीहरू अध्ययनरत छन् । धेरै जसोले केवल कक्षा १२ मात्र पुरा गरेर त्यो यात्रा थालेका छन् ।

    मैले प्राध्यापन गर्ने बाहेक बेलायतका अन्य महाविद्यालय लगायत अमेरिका,अष्ट्रेलिया, क्यानाडा आदि मुलुकहरूमा त्यति नै सङ्ख्यामा नेपृली विद्यार्थीहरू अध्ययनरत छन् । त्यहाँबाट नेपाली शिक्षा प्रणालीलाई हेर्दा यथार्थ केही फरक देखिन्छ । ती विद्यार्थीहरू मध्ये धेरैजसो मानसिक, शैक्षिक, आर्थिक र सांस्कृतिक रूपमा आवश्यक तयारी बिना पनि आएका छन् ।

    यसरी आएका विद्यार्थीहरूको संघर्ष उनीहरूको कमजोरीभन्दा पनि हाम्रो शैक्षिक लगायतका समग्र प्रणालीको प्रतिबिम्ब हो भन्नु अत्युक्ति नहोला ।

    जबसम्म नेपालमै गुणस्तरीय, सुलभ र सान्दर्भिक शिक्षाको वातावरण निर्माण हुँदैन, तबसम्म हाम्रो शिक्षाको भविष्य बाह्य आश्रितता र अपूर्ण यात्रामै सीमित हुनेछ । यसले के सङ्केत गर्दछ भने अब हामीकहाँ केवल सम्भावना मात्र होइन, विकल्प निर्माणको अनिवार्यता पनि जबर्जस्त उपस्थित भएको छ र अझैँ प्रवल हुनेछ । 

    प्रसङ्ग ४ : उपप्राध्यापक परीक्षामा न्यून सफलता, किन घट्यो प्रतिस्पर्धाको स्तर ?

    असार १३, २०८२ मा त्रिभुवन विश्वविद्यालय सेवा आयोगले प्रकाशित गरेको उपप्राध्यापक पदको लिखित परीक्षाको नतिजाले नेपाली उच्च शिक्षा प्रणालीको गहिरो सङ्कट फेरि एकपटक सतहमा ल्याएको छ ।

    विभिन्न सङ्कायमा विज्ञापन गरिएका सयौँ पदमध्ये एक तिहाइभन्दा कम उम्मेदवारले मात्र लिखित परीक्षा पास गर्न सकेका छन् । कतिपय विषयहरूमा त एक जना समेत सफल हुन नसक्नुले केवल परीक्षार्थीको कमजोरी होइन, समग्र शैक्षिक प्रणालीको गुणस्तर, नीति, संरचना र कार्यान्वयनप्रतिको गम्भीर प्रश्न उठाएको छ ।

    यो समस्या कुनै एकपटकको नतिजासँग मात्र सम्बन्धित छैन । उच्च शिक्षाबाट उत्पादित जनशक्ति नै भोलिका शिक्षक, प्रशासक, नीति निर्माता र विभिन्न सार्वजनिक सेवा क्षेत्रका कर्णधार हुनेछन् । जब शैक्षिक उत्पादनको आधारभूमि नै कमजोर छ भने गुणस्तरीय जनशक्ति उत्पादनको अपेक्षा गर्नु आफैँमा विडम्बनापूर्ण हुन्छ ।

    अब आवश्यक छ-शिक्षा नीतिमा पुनर्विचार, विश्वविद्यालयहरूको शैक्षिक तथा प्रशासनिक सुधार र शिक्षण–पाठ्यक्रमको समसामयिक पुनर्संरचना । शैक्षिक पुनर्जागरण अब विकल्प होइन, अनिवार्य सर्त भइसकेको छ । उच्च शिक्षालाई केवल उपाधि वितरणको कारखाना बनाउने सोच त्यागी त्यसलाई समृद्ध, सिर्जनशील र उत्तरदायी बनाउने गम्भीर पहलको घडी यही हो ।

    प्रसङ्ग ५ : परीक्षा पछिको विमर्शस् सुधारको खोजी वा बहसको सिलसिला ?

    परीक्षा पछिको विमर्श खासगरी पहिलेको एसएलसी (अहिलेको एसईई) या विश्वविद्यालयका नतिजा प्रकाशित भएपछि, टिप्पणीहरूको बाढी आउँछ । कसैले शिक्षा नीति र संरचनालाई दोष दिन्छन्, कसैले सरकार, सम्बन्धित मन्त्रालय वा शिक्षकहरूको कमजोर पठन (पाठन शैलीलाई) केहीले विद्यार्थीहरूको अध्ययनशीलता अभावतर्फ औँला ठड्याउँछन्, त केहीले अभिभावकहरूको भूमिकालाई प्रश्न गर्छन् । यी सबै दोषका भागिदार पक्कै हुन् । तर, हामी दोष अरुलाई थोपर्नेमा पो बढी माहिर भयौ कि ?

    सुधारको नाममा अनेकौँ अध्ययनहरू भए, कार्यदल बने, सिफारिसहरू तयार भए । यो पंक्तिकार पनि आधा दर्जनभन्दा बढी अध्ययन टोलीमा संलग्न रहिसकेको छ ।

    प्रतिवेदनहरू लेखिए, बुझाइए-तर दुःखको कुरा, ती बहुमूल्य सुझावहरू कार्यान्वयनको पर्खाइमै थन्किए । नतिजा के भयो ? हामी फेरि पनि उही पुरानै ढर्रामा अघि बढिरहेका छौँ । अनि सुधार कहाँबाट र कसरी सम्भव हुन्छ ?

    प्रसङ्ग ६ : बद्लिँदो विश्व, बदलिँदो प्राथमिकता 

    आज विश्वभर आप्रवासन नीतिहरू कडा हुँदै गएका छन् । हाल विश्वका प्रमुख गन्तव्यहरू-जस्तै बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानाडा आदिका-आप्रवासन नीति कडा हुँदै गइरहेका छन् ।

    नयाँ भिसा नियम, काम गर्ने अवसरमा कटौती, आर्थिक दबाब र अन्तर्राष्ट्रिय विद्यार्थीलाई हेर्ने दृष्टिकोण पनि शंकास्पद बन्दै जानु आदिले गर्दा अब ती मुलुकहरूमा अध्ययन गर्नु सजिलो छैन ।

    यो केवल विदेश जाने सपना बोकेका युवाका लागि झट्का होइन, नेपालको लागि अवसरको झिल्को हो । फलस्वरूप, त्यो दिन टाढा छैन जब नेपाली विद्यार्थीहरू बाध्य भएर नेपालमै गुणस्तरीय उच्च शिक्षा खोज्नेछन् । यो अवस्था नेपालका लागि चुनौती मात्र होइन, विशाल अवसर पनि हो-नयाँ शैक्षिक पुनर्जागरणको । अनि हामीकहाँ प्रश्न हुनेछ-के नेपाल तयार छ ?

    प्रसङ्ग ७ : नेपालले पुनर्जागरणकालको विश्व उदाहरणबाट के सिक्ने ?

    ठुलो सङ्ख्यामा नेपाली विद्यार्थीहरू विदेशीन थालेसँगै हामीले बौद्धिक सम्पत्ति र जनशक्ति गुमाउँदै आएका छौँ । तथापि, पछिल्लो परिस्थितिले नेपालभित्रै उच्च शिक्षाको स्तर उकास्ने, गुणस्तरीय, नवप्रवर्तनमुखी र अन्तर्राष्ट्रियकरणतर्फ अग्रसर गराउने अद्वितीय अवसर ल्याएको छ ।

    यो सङ्कट होइन, सम्भावनाको मोड हो-ठिक त्यस्तै जस्तो युरोपमा मध्ययुगीन अन्धकार पछिको पुनर्जागरण कालले ल्याएको परिवर्तन थियो । जसले ज्ञान, विज्ञान, कला र मानवीय चेतनाको नयाँ युगको सुरुवात ग-यो ।

    सन् १९५० को दशकमा जापानले युद्धपछिको पुनर्निर्माणलाई शिक्षा–केन्द्रित बनाएर आर्थिक चमत्कार सम्भव बनायो । त्यस्तै, दक्षिण कोरियाले पनि उच्च शिक्षालाई रणनीतिक प्राथमिकतामा राखेर सूचना प्रविधिमा विश्व नेतृत्व गर्ने देश बन्न सफल भयो । आज नेपालले पनि शिक्षालाई राष्ट्रिय पुनर्जागरणको मूल आधार बनाउने सही समय यही हो जस्तो लाग्दछ ।

    प्रसङ्ग ८ : हाम्रा वैभव र पुनर्जागरणको जग बसाल्ने अवसर 

    नेपाल सानो भए पनि यसका ऐतिहासिक, सांस्कृतिक, भाषिक, मौलिक संस्कार र जीवनशैली, भौगोलिक र जैविक विविधता विश्वका लागि अध्ययनको अनुपम खानी हो ।

    हाम्रा हिमाली, पहाडी र तराई भूभाग, आदिवासी जनजातिका मौलिक जीवनशैली, मौखिक परम्परा, जडीबुटी ज्ञान, योग (संस्कृति, धार्मिक सहिष्णुता)यी सबै पक्षको प्राप्तिले नेपाललाई अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरूले अध्ययन र अनुसन्धानको उत्कृष्ट गन्तव्य बनाउन सक्छन् । विगतमा विश्वका थुप्रै अनुसन्धानकर्ताहरू यहाँ आइ आफ्नो जीवन नै समर्पण गरेर अद्भुत ज्ञान उत्पादन गरेका र विश्वलाई सम्प्रेषण गरेका थुप्रै उदाहरण छन् ।

    हिजोका दिनमा प्रसिद्ध भाषाशास्त्री George Grierson ले नेपाल र भारतको सीमावर्ती क्षेत्रका भाषाहरूको अध्ययन गर्दै भाषिक विविधताको बेजोड उदाहरण प्रस्तुत गरेका थिए ।

    यस्तै, त्यलथ ज्बनभल लगायतका भूगोलविद्हरूले नेपालका भौगोलिक र जैविक पक्षमा व्यापक अनुसन्धान गरेका थिए । आफुले अध्ययन मात्र नभई नेपाललाई बिश्व सामु चिनाउन समेत मद्दत गरे । यी इतिहासका अध्यायहरू आज फेरि दोहोरिन सक्छन् । तर त्यसका लागि हामीले शिक्षालाई मूल मञ्च बनाउनुपर्छ ।

    आज विश्वका प्रतिष्ठित विश्वविद्यालयहरू (जस्तैः हावर्ड, अक्सफोर्ड, हाइडलबर्ग, टोरोन्टो, क्योटो र अष्ट्रेलियन नेशनल युनिभर्सिटी)मा संस्कृत भाषा र साहित्य गहन अध्ययन, अनुसन्धान र शिक्षणको विषय बनेको छ ।

    संस्कृतलाई मानव सभ्यताको मौलिक बौद्धिक सम्पदा मान्दै, पश्चिमी विश्वले यसलाई दर्शन, भाषाविज्ञान, गणित, चिकित्सा र धर्मशास्त्र जस्ता विविध अनुशासनको आधारभूत स्रोतको रूपमा पढिरहेको छ । तर, विडम्बना, त्यही संस्कृत भाषा नेपालमा आफ्नो जन्मभूमिमा दुर्दिन भोगिरहेको छ ।

    माओवादी जनयुद्धका बेलामा संस्कृत शिक्षालयहरूमा राजाको भाषा वा सामन्तवादको प्रतीक भन्दै आक्रमण गरियो, शिक्षालयहरू जलाइए, शिक्षक÷पण्डितहरू विस्थापित भए,  हत्या गरिए ।

    एउटा यस्तो भाषा जसले भारत, चीन, युरोपदेखि अमेरिका र अष्ट्रेलियासम्म ज्ञानको ढोका खोल्दैछ, त्यो आफ्नै देशमा तिरस्कृत, तहसनहस र उपेक्षित हुनु नेपाली समाजको एक गहिरो सांस्कृतिक विरोधाभास र विचलन हो । 

    प्रसङ्ग ९ : फलाम तातिँदा नै पिट्नुपर्छ–अवसर चुकाउनु भनेको सम्भावनाको ढोका आफैँ बन्द गर्नु हो

    नेपालमा आज पनि यस्ता धेरै सम्भावना र स्रोतहरू छन्, जुन सही समय, सोच र दृष्टिकोणले प्रयोग गर्न सकियो भने, यिनै स्रोतहरूले हामीलाई आत्मनिर्भरता र समृद्धिको दिशातर्फ डोहोर्याउन सक्छ ।

    नेपालको अर्को विशेषता भनेको तुलनात्मक रूपमा सस्तो जीवनयापन खर्च हो । सहरबाहिरका क्षेत्रमा छात्रावास, खानपान र अन्य दैनिक खर्चहरू धेरै कम छन्, जुन विकासशील राष्ट्रहरूका विद्यार्थीहरूका लागि अत्यन्तै आकर्षक पक्ष हो । यसमा जैविक खाना, स्थानीय कृषि उत्पादन र समाजसँगको अन्तक्र्रिया पनि थपिँदा अध्ययनको अनुभव अझ समृद्ध हुन्छ ।

    नेपालमा योग, ध्यान, बौद्ध तथा वैदिक शिक्षाको परम्परा समृद्ध छ । आत्म-अनुशासन, मानसिक सन्तुलन र आध्यात्मिक पृष्ठभूमिको खोजीमा रहने विद्यार्थीहरूका लागि नेपाल एक जीवित प्रयोगशाला बन्न सक्छ । यहाँको प्रकृति, पर्वत, नदी र जंगलहरू साहसिक पर्यटनको लागि मात्र होइन, गहिरो अध्ययन र आत्म-अन्वेषणको माध्यम पनि हुन् ।

    सिधा रूपमा हेर्दा यिनीहरू आकर्षण मात्र नभई आन्तरिक अर्थतन्त्र, रोजगारी, वैकल्पिक अवसरहरूसँग पनि गहिरो रूपमा जोडिएका छन् । अहिले अधिकांश उत्पादनयोग्य भूभागहरू पनि उत्पादनविहीन र खण्डहर बनेका छन् । गाउँहरू रित्तिँदै गएका छन् ।

    यदि पुनर्जागरण निम्तियो भने ती सबै उर्बर र भरिभराउ भएर फर्कन सक्छन् । हामीकहाँ सम्भावनाहरूको अभाव छैन, अभाव छ त केवल सही दृष्टिकोण, दूरदृष्टि र समन्वयको । अब पनि ढिला नगरौँ-सम्भावनाको यो ढोका खुला छ, यसलाई चलायमान बनाउनु अबको आवश्यकता हो ।

    प्रसङग १० : राजनीतिक नेतृत्व र सरकारको प्रतिज्ञा – दोषारोपण होइन, प्रतिबद्धता आवश्यक 

    नेपालको शिक्षाको वर्तमान अवस्थामा सुधार नहुनुको मुख्य कारणमध्ये एक हो-राजनीतिक नेतृत्वको दिगोपन र दीर्घदृष्टिको अभाव । पटक-पटक सरकार, मन्त्री वा सम्बन्धित निकायहरूले शिक्षालाई प्राथमिकतामा राख्ने घोषणा गरे पनि व्यवहारमा ती घोषणाहरू चुनावी भाषण र क्षणिक प्रचारभन्दा अगाडि बढ्न सकेका छैनन् ।

    अब समय आएको छ-राजनीतिज्ञ र दलहरूले दोषारोपणको परिपाटी त्यागेर सार्वजनिक रूपमा शिक्षाप्रति आफ्नो दीर्घकालीन प्रतिबद्धता घोषणा गरुन् । शिक्षा प्रणालीलाई स्थायित्व, पारदर्शिता र नवप्रवर्तन दिने स्पष्ट योजना प्रस्तुत गरून् । ‘हामीले गरिनौँ’ भन्ने स्वीकारोक्ति मात्र पनि पर्याप्त नहोला, ‘अब हामी गर्छौँ’ भन्ने बिश्वाशिलो जन–प्रतिबद्धता चाहिएको छ । नेपालको पुनर्जागरण केवल शैक्षिक क्षेत्रको बोझ होइन- यो सम्पूर्ण राष्ट्रको साझा यात्रा हो । र यस यात्रामा सरकारको निष्ठा, दूरदृष्टि र कार्यकुशलता निर्णायक हुनेछ ।

    प्रसङ्ग ११ : पुनर्जागरण चाहनाले होइन, संरचनागत तयारीले सम्भव हुन्छ 

    नेपालमा उच्च शिक्षाको सम्भावना विषयमा धेरै लेखिएका छन्, धेरै बहस भएका छन। तर तीमध्ये धेरै ‘इच्छा’ स्तरमै सीमित छन् । अभ्यास र प्रणालीको तहमा पुग्दा स्थिति अत्यन्त विघटनशील देखिन्छ । विश्वविद्यालयहरूमा प्रशासनिक अस्थिरता व्याप्त छ, अनुसन्धान बजेट नगण्य छ, अनि स्नातकोत्तर शिक्षालाई रोजगारी वा नवप्रवर्तनसँग जोड्ने प्रणाली अभावमा छ ।

    सम्भावना त प्रत्येक देशसँग हुन्छ, तर इतिहासले परिवर्तन त्यहीँ लेख्छ जहाँ सम्भावनालाई नीति, लगानी र संस्थागत सुधारले सशक्त बनाउँछ । जापानले दोस्रो विश्वयुद्धपछिको ध्वस्त अवस्थाबाट शिक्षा र अनुसन्धानमार्फत पुनर्निर्माण ग-यो ।

    दक्षिण कोरियाले उच्च शिक्षालाई सूचनातन्त्र, प्रविधि र नवप्रवर्तनसँग जोड्दै विश्वमा नेतृत्व लियो । यी उदाहरणहरू प्रेरणादायी छन्, तर तिनको सार यही हो-पुनर्जागरण चाहनाबाट होइन, संरचनात्मक हस्तक्षेपबाट सुरु हुन्छ ।

    प्रसङ्ग १२ : अन्तर्राष्ट्रिय दृष्टान्त र नेपाल 

    मलेसिया अहिले दक्षिण–पूर्व एशियाली शिक्षा केन्द्रका रूपमा चिनिन्छ ।  एशियाको शिक्षको केन्द्रका रूपमा परिकल्पना बोकेको यो मुलुकले विदेशी विद्यार्थीलाई लक्षित गरी पाठ्यक्रम, पूर्वाधार, र नीति निर्माणमा दशकौं खर्चेको छ । भारतले ‘स्टडी इन इण्डीया’ कार्यक्रम ल्याएर विदेशी विद्यार्थीलाई आकर्षित गर्ने विविध उपायहरू अवलम्बन गरेको छ । नेपालले पनि यी दृष्टान्तबाट सिक्न सक्छ ।

    तर, नेपालमा अवस्था केही फरक छ । हामी कहाँ न नीति स्पष्ट छ, न कार्यान्वयनको प्रतिबद्धता । विश्वविद्यालयहरू अझै पनि आन्तरिक विवाद र राजनैतिक हस्तक्षेपमा अल्झिएका छन् । शिक्षालाई ‘नियन्त्रण गर्ने विषय’ जस्तो व्यवहार गरिएको छ, जब कि त्यो ‘सृजना गर्ने क्षेत्र’ हो ।

    प्रसङ्ग १३ : अबको बाटो नीति सुधार र रणनीतिक हस्तक्षेप  

    नेपालले यदि आजैबाट शिक्षामा नविकरणको अभियान प्रारम्भ ग-यो भने मात्र केही वर्षभित्रै महत्वपूर्ण परिवर्तन सम्भव छ । तर यसका लागि के–के गर्नुपर्छ ?

    राष्ट्रिय शिक्षा पुनर्जागरण आयोग 

    यस आयोगमा सरकार, निजी क्षेत्र, शैक्षिक संस्था, विद्यार्थी प्रतिनिधि र अन्तर्राष्ट्रिय सल्लाहकारको सहभागिता हुनुपर्छ । केवल विश्वविद्यालय प्रशासन सुधार होइन, सम्पूर्ण उच्च शिक्षा प्रणालीको समिक्षा र पुनः संरचना आवश्यक छ । यो आयोगले दीर्घकालीन शिक्षा रणनीति, अनुसन्धान पूर्वाधार, पाठ्यक्रम नविकरण र शिक्षालाई अर्थतन्त्रसँग जोड्ने मोडल विकास गर्नुपर्छ ।

    अन्तर्राष्ट्रिय विद्यार्थीमैत्री नीति 

    शैक्षिक भिसा प्रक्रियामा पारदर्शिता, आवास सुविधा, स्वास्थ्य बीमा, भाषा सहायता, सांस्कृतिक अभिमुखिकरणजस्ता पक्षलाई व्यवस्थित नीति अन्तर्गत ल्याउनु आवश्यक छ जुन घोषणामा सीमित हुनु हुँदैन । ‘स्टडी इन नेपाल’ कार्यक्रम प्रचारात्मक भन्दा पनि कार्यात्मक हुनु पर्छ । 

    शिक्षा र रोजगारबीचको गहिरो सम्बन्ध उन्मुख रणनीति

    अहिलेको शिक्षाले केवल डिग्री उत्पादन गर्छ, तर सीप र रोजगार सिर्जना नगर्ने अवस्थामा छ । यसलाई बदल्न विश्वविद्यालयहरूले उद्योगसँग सहकार्य गरेर परियोजना आधारित सिकाइ, इनक्युबेसन केन्द्र, स्टार्टअप समर्थन, व्यावसायिक प्रशिक्षणजस्ता प्रणाली ल्याउनुपर्छ । जस्तै, जर्मनीको दोहोरो शिक्षा प्रणालीले पढाइ र व्यवहारिक सीपलाई एकसाथ विकास गर्छ, त्यस्तै प्रणाली नेपालमा पनि लागू गर्न सकिन्छ ।

    ब्रान्डिङ र अन्तर्राष्ट्रिय साझेदारी

    नेपाललाई ‘शान्तिको देश’, ‘धार्मिक सहिष्णुताको स्थल’ र ‘सस्तो, हरित, जैविक जीवनशैली’को पर्यायवाची बनाई प्रस्तुत गर्नुपर्छ । विश्वविद्यालयहरूले अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य गरेर सञ्जाल विस्तार गर्नुपर्छ ।

    अनुसन्धान र मौलिक ज्ञान प्रणालीको एकीकरण 

    हिमाली पर्यावरण, आयुर्वेद, जैविक कृषि, योग–ध्यान, मौलिक भाषाहरू, लोककला र सामाजिक संरचनामाथि आधारित अध्ययन, अनुसन्धान र ज्ञान व्यवस्थापनका लागि अलग–अलग केन्द्रहरू आवश्यक छन् । अन्तर्राष्ट्रिय विद्यार्थीलाई यस्ता क्षेत्रमा अनुसन्धान अवसर र फिल्ड स्कूलको अवसर दिन सकिन्छ । 

    सरकार, विश्वविद्यालयहरू र निजी क्षेत्रले अनुसन्धान अनुदान, प्रयोगशालाहरू, पुस्तकालय तथा अनुसन्धान केन्द्रहरूमा लगानी बढाउनुपर्छ । यो लगानी भविष्यका आविष्कार, समाधान र ज्ञान सिर्जनाको आधार हुनेछ ।

    निष्कर्ष : पुनर्जागरणको ढोका खोल्ने कि बन्द गर्ने ?

    नेपाल अहिले एक ऐतिहासिक मोडमा उभिएको छ । हामीसँग समय सीमित छ-किनभने बाह्य गन्तव्यहरू झनझन कठिन हुँदै गइरहेका छन्, र आन्तरिक शिक्षाको प्रणाली अझै अनिर्णय र असमर्थतामा अल्झिएको छ । अब हामीसँग विकल्प छैन-या त शिक्षामा लगानी गरेर नेपाली उच्च शिक्षालाई सशक्त बनाउने, या त प्रवासी शिक्षाको अपूर्ण यात्रालाई नियति मान्ने ।

    यदि आज सरकार, विश्वविद्यालय, अनुसन्धान संस्था, निजी क्षेत्र र नागरिक समाज मिलेर साझा सपना बोकेर अघि बढ्न सके, भने नेपाल अध्ययन, अनुसन्धान र नवप्रवर्तनको एक वैकल्पिक केन्द्र बन्न सक्छ । तर त्यो सपना पुस्तिकामा होइन, संस्थागत संरचनामा उतारिनुपर्छ । नीति, लगानी र प्रतिबद्धताले मात्रै पुनर्जागरण सम्भव छ ।

    अब हाम्रो पालो हो, एक ऐतिहासिक मोडमा निर्णय लिन र आगामी पुस्ताका लागि नेपाललाई शिक्षाको नयाँ गन्तव्य बनाउने ।

    (दुल्लभ मावि, रेडन कलेजका पूर्वप्राचार्य, नेल्टाका पूर्वअध्यक्ष तथा नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय वरिष्ठ उपाध्यक्ष डा. भट्ट कोवेन्ट्री विश्वविद्यालय ग्रुप, बेलायतमा प्राध्यापन गर्छन् )

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय