काठमाडौँ / सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सिटिजन्स क्यापिटल लिमिटेडद्वारा प्रवर्द्धित ‘सिटिजन्स सदाबहार योजना’ पहिलो खुलामुखी म्युचुअल फण्ड योजनाले २५ प्रतिशत ओभरसब्सक्रिप्सनसहित ऐतिहासिक रूपमा इकाई बाँडफाँट सम्पन्न गरेको छ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि असार १३ देखि २७ गतेसम्म सार्वजनिक निष्कासन गरिएको यो योजनामा मागभन्दा बढी आवेदन प्राप्त भएको थियो।
प्राप्त आवेदनको विवरणअनुसार तयार पारिएको बाँडफाँड तालिकालाई धितोपत्र बोर्डबाट कुनै आपत्ति नआएकाले साउन १५ गते बिहान डिल्लिबजारस्थित योजना व्यवस्थापक कार्यालयमा बाँडफाँट सम्पन्न गरिएको हो।
बाँडफाँडमा सिटिजन्स क्यापिटल लिमिटेड, सिटिजन्स बैंक इन्टरनेसनल, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, तथा केही लगानीकर्ताहरूकोसमेत उपस्थित रहेको थियो ।
नेपालमै पहिलोपटक खुलामुखी म्युचुअल फण्डमा २५ प्रतिशतले ओभरसब्सक्रिप्सन प्राप्त गर्नु यस योजनाको विश्वास र सफलताको प्रमाण भएको कम्पनीको भनाई छ।
सिटिजन्स बैंकको सहायक कम्पनी सिटिजन्स क्यापिटलले वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्युचुअल फण्ड सेवा प्रदान गर्दै आएको छ।
अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठको नेतृत्वमा कम्पनीले देशभरका शाखामार्फत लगानी व्यवस्थापक सेवा पनि प्रदान गरिरहेको छ।
बैंकले मोफसलका लगानीकर्ताहरूलाई ध्यानमा राखी, सिटिजन्स बैंकका शाखाहरूबाट सहज सेवा उपलब्ध गराइएको छ। यसमार्फत संस्थाले पूँजी बजारमा पहुँच विस्तार र वित्तीय सशक्तिकरणतर्फ महत्त्वपूर्ण कदम चालेको छ ।