काठमाडौँ / स्वास्थ्यकर आहार कोदो पछिल्लो समय लोकप्रिय बन्दै गएको छ । यससँगै कोदोको माग पनि बढ्दो क्रममा छ । कोदोमा प्रशस्त मात्रामा फाइबर, आइरन, प्रोटिन र क्याल्सियमजस्ता पोषक तत्त्व पाइने भएकाले यसलाई स्वस्थकर आहार मानिन्छ ।
कोदो नेपालको परम्परागत मात्रै नभई जलवायुमैत्री अन्नबालीसमेत हो । साना किसानको आयआर्जन, खाद्य तथा पोषण सुरक्षा, दिगो विकास लक्ष्य प्राप्ति, जलवायु परिवर्तनको असर न्यूनीकरण र कृषि जैविक विविधताको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्दछ।
विशेषगरी पहाडी तथा दुर्गम भेगमा कोदो कम सिँचाइ, कम लगानी र न्यून जोखिममा उत्पादन गर्न सकिने बाली भएकाले यसको खेती खाद्य आत्मनिर्भरता र स्थानीय रोजगारीको स्रोत बनेको छ।
स्वास्थ्यप्रति बढ्दो जागरुकता, बजारको माग तथा अन्तर्राष्ट्रियस्तरमा यसको महत्त्वबारे चासो बढेसँगै कोदोजन्य उत्पादनको माग बढ्दो रहेको छ ।
नेपालमा कोदोजन्य उत्पादनको माग पूरा गर्न आयातसमेत हुँदै आएको छ । भन्सार बिभागको पछिल्लो तथ्याङ्क अनुसार गत आव २०८१/८२ मा करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य वस्तु आयात भएको छ । कोदोजन्य उत्पादनको खरिदमा नेपालबाट एक बर्षमा ७६ करोड ६३ लाख ८६ हजार रुपैयाँ बराबर बाहिरिएको हो ।
सोही बर्ष नेपालले ९४ लाख ७ हजार बराबरको ७० मेट्रिक टन कोदोजन्य उत्पादनको निर्यात भएको गरेको भन्सारको तथ्याङ्कले देखाएको छ ।
कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले विगतमा खाद्य सुरक्षा तथा पोषणको महत्थ्वपूर्ण आधारको रूपमा रहेको भएता पनि पछिल्लो समय कोदोजन्य बालीहरूको उत्पादन घट्दै गइरहेको छ ।
“नेपालको अधिकांश खेतीयोग्य जमिन एवं जलवायु कोदोजन्य बालीको खेतीको लागि प्रायः उपयुक्त नै देखिन्छ । जलवायु परिवर्तनको दृष्टिकोणबाट पनि अन्य बालीहरूको तुलनामा कोदोजन्य बालीहरू बढी उपयुक्त छन् । यी कम कार्बन उत्सर्जन गर्ने बालीहरूको वर्गमा पर्छन,” उनले भने ।
कोदो खेतीलाई प्रविधिमैत्री, व्यवस्थित र व्यावसायिक बनाउँदै यसको संरक्षण र प्रवर्द्धन गर्न सकेमा यो बालीले नेपालको कृषि, अर्थतन्त्र र पर्यावरणीय सन्तुलनमा दीर्घकालीन योगदान पुग्ने देखिन्छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आव २०८०÷८१ को तथ्याङ्क अनुसार २ लाख २४ हजार ९३५ हेक्टर जमिनमा कोदोजन्य बालीको खेती गरिएको थियो । जसमा ३ लाख ७३२ मेट्रिक टन कोदो उत्पादन भएको थियो ।
हालको अवस्थामा कोदोजन्य बालीको उत्पादकत्व १. ३३ मेट्रिक टन प्रति हेक्टर रहेको छ । कोदोजन्य बालीहरूमा उन्नत प्रविधिको प्रयोग, सिँचाइ, मलखादको व्यवस्था गर्न सकेमा कोदोजन्य बालीहरूको उत्पादन तथा उत्पादकत्व बढाउन सकिने प्रवल सम्भावना रहेको महानिर्देशक सञ्जेल बताउँछन् ।
संयुक्त राष्ट्र संघले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षको रूपमा मनाउने घोषणा गरे अनुरूप नेपालमा पनि विभिन्न गतिविधिहरू सञ्चालन गरि अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाइएको थियो ।
त्यसपछि बिभिन्न सरकारी तथा गैरसरकारी निकाय एवं सञ्चार माध्यमबाट भएको प्रचारप्रसार तथा स्वास्थ प्रति सचेतनाको कारण कोदोजन्य उत्पादनको बढ्दो मागसँगै आयात पनि बढ्दै गएको देखिन्छ ।
पोषण तथा स्वास्थ्थको दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण रहेता पनि परम्परागत तरिकाले गरिने खेती प्रणालीका कारण कोदोजन्य बालीहरूको उत्पादन न्यून भएको उनको बुझाइ छ ।
त्यस्तै, कोदोजन्य बालीहरूबाट बन्ने परिकारहरूको विविधिकरणमा ज्ञान नहुँदा उत्पादित वस्तुहरूको उपभोग तथा बजारीकरण अपेक्षित रूपमा हुन नसकेको देखिन्छ ।
यी बालीहरूबाट बन्ने रोटी, ढिँडो र सातु जस्ता परम्परागत परिकारका अलावा केक, ब्रेड, चाउमिन, कुकिज, विस्कुट, पिज्जा, दुनट जस्ता आधुनिक परिकारमा विविधिकरण गरिएमा वर्तमान पिँढीले समेत कोदोजन्य बालीको उपभोग बढाउन सकिने देखिन्छ ।
कोदोजन्य बालीको परिकार विविधिकरण भएमा निजी उद्यमी तथा होटल व्यवसायी र होमस्टे सञ्चालकहरूमार्फत आन्तरिक र बाह्य पर्यटकसम्म पनि बजार विस्तार गर्न सकिन्छ।
साथै, उपभोगका लागि माग बढाउन सके उत्पादित कोदोजन्य बालीको बाली बजारीकरणमा सहयोग हुने र किसानलाई पनि थप उत्पादनमा प्रोत्साहन मिल्ने उनले बताए ।
कोदोजन्य बालीहरूको पौष्टिक महत्त्व तथा जलवायु अनुकुललगायतका कारण पछिल्लो समय कोदोजन्य बालीहरू प्रति आम चासो बढ्दै गएको पाइन्छ ।
कतिपय देशहरूले यस्ता बालीहरूको प्रवर्द्धनको लागि अभियान नै सञ्चालन गर्ने गरेको पाइन्छ । प्रादेशिक र स्थानीय तहहरुले समेत स्थान बिशेष कोदोजन्य रैथाने वाली उत्पादन तथा प्रवर्द्धनमा सहयोग पुर्याउदै आएका छन् ।