राष्ट्रिय कोदो दिवस : देशभर विविध कार्यक्रमसहित मनाइँदै

राष्ट्रिय कोदो दिवस : देशभर विविध कार्यक्रमसहित मनाइँदै

बिहिवार, साउन १५ २०८२
बिहिवार, साउन १५ २०८२
  • राष्ट्रिय कोदो दिवस : देशभर विविध कार्यक्रमसहित मनाइँदै

    काठमाडौँ / कोदोजन्य बालीको महत्वलाई उजागर गर्दै यस वर्ष साउन १५ गते ‘प्रथम राष्ट्रिय कोदो दिवस’ देशभर विविध कार्यक्रमसहित मनाइँदैछ। ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासहित आज देशभर कोदो दिवस मनाइने भएको हो ।

    images
    images

    कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, चाँगुनारायण नगरपालिका, राष्ट्रिय कृषक समूह महासंघ, अनाज नेपाल, र खाद्य तथा कृषि संगठन नेपालको संयुक्त आयोजनामा भक्तपुरस्थित चाँगुनारायण नगरपालिका, ताथलीमा विशेष समारोह हुने भएको छ। 

    कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी प्रमुख अतिथिको रूपमा सहभागी हुनेछन्। सो अवसरमा कोदो रोपाइँ, पुरस्कार तथा सम्मान वितरण, प्रदर्शनीलगायत विभिन्न कार्यक्रम हुनेछन्।

    नेपालमा धान, मकै, गहुँपछि कोदो चौथो मुख्य खाद्यान्न बाली हो। पहाडी क्षेत्रको पाखो वारीमा पनि सजिलै खेती गर्न मिल्ने, न्यून सिंचाइ र मलखादमा टिक्ने, जलवायु अनुकूल र पोषणयुक्त यो बाली खाद्य सुरक्षामा योगदान पुर्‍याउने महत्वपूर्ण स्रोत हो।

    २०८०/८१ को तथ्याङ्क अनुसार, २ लाख २४ हजार हेक्टर क्षेत्रफलमा कोदोजन्य बाली खेती भई ३ लाख मेट्रिक टनभन्दा बढी उत्पादन भएको छ। तर उत्पादकत्व मात्र १.३३ मेट्रिक टन प्रतिहेक्टर छ, जुन सुधार गर्न प्राविधिक सहयोग आवश्यक देखिन्छ।

    हाल कोदोजन्य बालीको आयात बढ्दो छ। २०८१/८२ मा ७६ करोड रुपैयाँभन्दा बढी मूल्यको कोदाजन्य उत्पादन आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ। जबकि निर्यात नगण्य रहेको छ। यसले उत्पादन वृद्धि र आत्मनिर्भरता आवश्यक रहेको स्पष्ट पार्छ।

    स्वास्थ्यका लागि पनि कोदो अमूल्य छ। फाइबर, प्रोटिन, क्याल्सियम, आइरन, म्याग्नेसियमजस्ता पोषक तत्त्वले भरिपूर्ण कोदोले पछिल्लो समय बढ्दै गएको मधुमेह, मोटोपन, उच्च रक्तचापलगायत नसर्ने रोगको न्यूनीकरणमा सहयोग पुर्‍याउन सक्छ।

    सरकारले कोदो प्रवर्द्धनमा पाँच वर्षदेखि संघीय शर्त अनुदानमार्फत बजेट प्रदान गर्दै आएको छ। स्थानीय तहमा समेत होमस्टे, होटल तथा आन्तरिक पर्यटनमा कोदाजन्य परिकार प्रयोगको अभियान चलाइएको छ। विद्यालयका दिवा खाजा कार्यक्रममा पनि प्राथमिकता दिइँदै आएको छ।

    हालसम्म कोदोजातका ६ र चिनोजातका १ जात, कागुनोको १ जात नेपाल कृषि अनुसन्धान परिषदमार्फत दर्ता भइसकेका छन्। राष्ट्रिय जिनबैंकमा कोदोजन्य बालीका ११४० परिग्रहणहरू सुरक्षित छन्।

    कोदो दिवसको अवसरमा देशभर सरोकारवाला निकायद्वारा सन्देश प्रकाशन, पत्रकार भेटघाट, टेलिभिजन परिसंवाद लगायत विविध कार्यक्रमहरू सञ्चालन गरिँदै छन्।

    सरकारले कोदोजन्य बालीलाई भविष्यको खाद्य सुरक्षा, पोषण सुधार, जलवायु अनुकूलता र ग्रामीण आर्थिक रुपान्तरणको आधारका रूपमा लिएको छ। यस दिवसले सामाजिक चेतना अभिवृद्धि गर्दै नीति निर्माण र कार्यान्वयनमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय