डोल्पाका जिल्लाको ठुलोभेरी नगरपालिका–३ धुपीचौरस्थित भेरी नदीको बीच भागमा फसेका चार जनाको साउन १३ गते सकुशल उद्वार गरिएको छ ।
उद्वार गरिकाहरूमा सोही जिल्लाको त्रिपुरा सुन्दरी नगरपालिका–६ पालुङ बस्ने ३३ वर्षिय ललित बोहरा, २६ वर्षिय नन्दप्रसाद बोहरा, ३५ वर्षिय लाल कुमार बुढा र ३७ वर्षिय श्यामलाल बोहरा छन् ।
साउन १३ गते बिहान दाउरा लिन गएका उनीहरू नदीमा एक्कासी पानीको बहाव बढेपछि नदीको बीच भागमा फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक दिपकराज भट्टको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजसहित नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरूको सकुशल उद्वार गरेको हो ।
उद्वार पश्चात उनीहरूलाई उपचारको लागि जिल्ला अस्पताल डोल्पामा पठाइएको छ । उनीहरूको अवस्था भने सामान्य रहेको बताइएको छ ।