काठमाडौँ / सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बाट बेपत्ता भएका हायू परिवारका सदस्यहरूमध्ये चार जना पोखरामा फेला परेका छन्। सिन्धुलीका प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार, उर्मिला हायूका परिवारका चार सदस्य पोखरामा भेटिएको खबर आएको हो। उनले भने, “चार जना भेटिएको प्रारम्भिक जानकारी आएको छ, तर यकिन विवरण कास्की प्रहरीसँग समन्वय गरेर पुष्टि गर्दैछौँ ।”
कास्कीका एसपी श्यामबाबु ओलियाले पोखराको गगनगौंडास्थित चन्द्र भण्डारीको घरमा हायू परिवारका सदस्यहरू बसेको पुष्टि गरे। उनले भने, "त्यहाँ चार जना एउटै घरमा बसेको खबर पाएपछि प्रहरी टोली पठाइएको छ।"
यसअघि, करिब चार महिना यता काठमाडौँमा श्रीमानसँग बस्दै आएकी उर्मिला हायूकी २१ वर्षीया माइली छोरी सुजता हायू प्रहरी सम्पर्कमा आएकी थिइन्। गत शुक्रबारदेखि हायू परिवार सम्पर्कविहीन बनेपछि खोजी भइरहेको थियो।