काठमाडौँ/ युवालाई उद्यम, हरित अर्थतन्त्र र प्रविधिको साक्षरतासँग जोड्दै जलवायु परिवर्तन र सामाजिक अभियानमा सहभागिता गराउनुपर्ने विषय उठेको छ ।
“विपदमैत्री तथा जलवायु उत्तरदायी शासनका लागि युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित तथा प्रवर्द्धन ”विषयक कार्यक्रममा सहभागी युवाहरूले त्यस्तो माग गरेका हुन् ।
कायक्रम जागृति बाल तथा युवा सरोकार नेपालले ब्रिटिस काउन्सिलसँगको सहकार्यमा काठमाडौँमा आयोजना गरिएको थियो ।
सो अवसरमा संसद्को राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यक्रम अनुगमन तथा मूल्याङ्कन समितिका सभापति ठाकुर गैरेले पृथ्वीको तापक्रम निरन्तर बढिरहेकोले हिमालय क्षेत्रमा हिउँ पग्लेर महासागरसम्म असर देखिन थालेको अवस्थामा जलवायु परिवर्तन र विपद्को मुद्दालाई साझा समस्याको रूपमा हेर्नुपर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि गैरेले देशका युवा तथा किशोर बालबालिका समेतलाई यसबारे जागरूक बनाउनुपर्ने बताए ।
उनले तापक्रम बढ्दा मानव अस्तित्व नै सङ्कटमा पर्न लागेको र विकसित देशले कार्बन उत्सर्जन गर्दा नेपालले भोगिरहेकोले असर विरुद्ध नेपाली युवालाई जानकारी दिँदै जलवायु न्याय प्राप्तिको अभियानमा सरिक गराउन आफू प्रतिबद्ध रहने बताए ।
जलवायु परिवर्तनको क्षेत्रमा एकजुट भएर काम गर्न सांसदहरूको सहभागितामा एसियाको क्षेत्रीयस्तरको कमिटी बनाउने तयारी समेत अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।
सांसद गरिमा शाहले धान लगाउने वर्षात मौसममै हाल तराई क्षेत्रलाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने बाध्यताले नेपालमा खाद्य सङ्कट निम्तिने खतरा नजिक आएको बताए ।
उनले पानीको अभावमा तराईलाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने अवस्था पानी जमिन मुनि जान नदिने विकासे कार्यक्रमको दुरुपयोगले भएको भन्दै नेपालले गर्ने विकासको नीति र अवधारणा, योजनामा परिवर्तन गर्नुपर्ने विचार व्यक्त गरे ।
बाल अधिकारका लागि संसदीय मञ्च प्रमुख सीता रानाले जलवायु परिवर्तनको असरले निम्त्याएको विपद्ले सबै उमेर समूहका नागरिकलाई समान असर पर्ने भएकोले यसबारे जनचेतनाका लागि स्थानीय तहदेखि नै सबैलाई सचेत बनाउँदै अन्त्य गर्न नसकिने विपद्लाई न्युनीकरणसम्म गराउन सबैको योगदान आवश्यक रहेको बताए ।
ब्रिटिस काउन्सिलका कन्ट्री डाइरेक्टर रुस्तम मोदीले जागृति बाल तथा युवा सरोकार नेपालसँगको सहकार्यमा काउन्सिलले जलवायु परिवर्तन जस्तो विश्वलाई नै प्रभावित पार्ने सवालमा युवालाई जागरूक बनाउने अभियानमा जोडिन पाउँदा खुसी लागेको धारणा व्यक्त गरे ।
मौसम विज्ञ डा। इन्दिरा कँडेलले दिनप्रति दिन बढिरहेकोले तापक्रमले पृथ्वी तात्दा हिमाली भेगको हिँउ पग्लेर नेपालमा बाढी, पहिरोजन्य प्रत्यक्ष असर परिरहेको बताउँदै त्यस्तो असर न्यूनीकरणका लागि सही सूचना प्रवाह गर्न देशभर पाँच सय वटा वर्षा मापन यन्त्र जडान गरिएको बताए ।
जल तथा मौसम विभागमा कार्यरत कँडेलले २५० वटा जल मापन यन्त्र र मौसम राडार समेत राखेर मौसमको अवस्थाको सही जानकारी दिन सफल भइरहेको बताए।
साथै जल मापन यन्त्र र वर्षा मापन यन्त्रले देखाएको तथ्यको आधारमा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई बाढीबाट हुने जनधनको क्षतिको न्यूनीकरण होस् भन्ने उद्देश्यले सूचना प्रवाह गर्दै आएको बताएका थिए ।
जलवायुको क्षेत्रका अनुसन्धानकर्ता अमृत देवकोटाले समग्र नेपालमा जलवायु परिवर्तनले पारेको असर, विपद्को अवस्था, जोखिमका स्थितिबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
उनले जलवायु परिवर्तनको सवालले समग्र क्षेत्रलाई नै एकै पटक असर पार्ने विश्वव्यापी साझा मुद्दा भएकोले यसको न्यूनीकरणका लागि स्थानीय स्तर देखि राष्ट्रिय नीति, निर्माणदेखि जलवायु न्यायका लागि विश्वसामु नै आवाज बुलन्द गर्ने कामलाई निरन्तरता दिनुपर्ने बताए ।
त्यस अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य प्रकाश श्रेष्ठले सोह्रौँ योजनामा जलवायु परिवर्तनको सवाललाई प्राथमिकताका साथ समेटेको जानकारी दिँदै त्यसको कार्यान्वयनका लागी सबैको प्रतिबद्धता र एकता आवश्यक रहेको बताए ।
राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले यूथ भिजन–२०३५ बनिरहेको सन्दर्भबारे जानकारी गराउँदै जलवायु परिवर्तनको सवाल र विपद् व्यवस्थापनको मुद्दालाई प्राथमिकताका साथ उठाउने र समावेश गराउने प्रतिबद्धता जनाए ।
गैरसरकारी संस्था महासङ्घका उपमहासचिव भवराज रेग्मीले जलवायु परिवर्तनको सवालबारे सही सचेतना र हरित अर्थतन्त्रमा योजनाबद्ध कार्यक्रममा ल्याउन सके युवालाई स्वदेशमै रोजगारी उपलब्ध हुने बताएका थिए ।
सुनवल नगरपालिका प्रमुख विमला अर्यालले नेपालकै पहिलो बालमैत्री, पोषणमैत्री स्थानीय तह सुनवलमा जलवायु परिवर्तनबारे जागरणमूलक अभियान पनि सञ्चालन गरेको र यसबाट युवा र किशोर अवस्थाका बालबालिकाले निक्कै राम्रा अभ्यास सिकेको बताए ।
जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले जलवायु परिवर्तन सम्बन्धी जागरणमूलक अभियान कार्यक्रम माडी न.पा, सुनवल न.पा, मध्यविन्दु न.पा.र तिलोत्तमा नगरपालिकाका युवा तथा किशोर, किशोरीबीच सञ्चालन गरी जलवायु र विपद्जन्य समस्याबारे युवा समूहलाई तालिम दिएको बताए ।
अध्यक्ष पौडेलको सभापतित्वमामा सम्पन्न कार्यक्रममा आठ वटा विभिन्न संसदीय समितिका २० जना सांसदहरूले सहभागिता जनाउँदै जलवायु परिवर्तन र विपद्बारे सवाल संसद्मा उठाउने प्रतिबद्धता जनाए।
सो अवसरमा युवा अभियन्ता कला बस्यालले सुनवल नगरपालिकामा सञ्चालित जलवायु परिवर्तनबारे अभियानबाट सङ्कलित ध्यानाकर्षण पत्र राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यक्रम अनुगमन तथा मूल्याङ्कन समिति सभापति ठाकुर गैरेलाई हस्तान्तरण गरेका थिए ।
सो ध्यानाकर्षण पत्रमा समावेशी विपद् प्रतिकार्य र जलवायु परिवर्तन र जलवायु उत्तरदायी शासन, युवामैत्री तथा सशक्तीकरण प्रणालीमा युवाको अर्थपूर्ण सहभागिता हुनुपर्ने, युवा नेतृत्वमा आधारित कार्यक्रमहरूको लागि स्रोत तथा लगानी गर्नुपर्ने, नीति निर्माणमा युवाको सहभागिता हुनुपर्नेलगायतका ११ बुँदाहरू समावेश छन्।