काठमाडौँ / विद्युत क्षेत्रको नियामक निकाय विद्युत नियमन आयोगले पहिलोपटक आफ्नो वार्षिक योजना तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
नेपालको संविधान, सरकारको नीति र ऊर्जा विकास मार्गचित्र, २०८१ को मार्गदर्शन अनुसार तयार पारिएको उक्त योजना तथा कार्यक्रममा विद्युत क्षेत्रको सुधार गर्ने, विद्युत सेवालाई सर्वसुलभ, भरपर्दो र सुरक्षित बनाउने, उपभोक्ताको हित संरक्षण गर्ने तथा यस सम्बन्धमा नियामकीय उपकरणहरू तर्जुमा गर्नेलगायतका उद्देश्यहरू प्राथमिकतामा राखिएको छ ।
आयोगका अध्यक्ष डा.रामप्रसाद धितालले आइतबार बसेको आयोगको २७९ औँ बैठकबाट आयोगको प्रथम वार्षिक योजना तथा कार्यक्रम सार्वजनिक गरिएको उल्लेख गरे ।
‘सर्वशुलभ, भरपर्दो तथा सुरक्षित विद्युत सेवा हरेक विद्युत उपभोक्ताको अधिकार’ भन्ने मूल नारा अनुरूप आयोगको वार्षिक योजना तथा कार्यक्रम तयार पारिएको छ । आर्थिक वर्ष २०८२/८३ मा आयोगले नियामकीय संरचना विस्तार तथा सबलीकरण, र संस्थागत सुदृढीकरणलाई मुख्य लक्ष्यका रूपमा लिएको छ ।
त्यसैगरी, आगामी आर्थिक वर्ष २०८२/८३ मा आयोगले जलविद्युत् आयोजनाहरूको विद्युत खरिद बिक्री सम्झौतामा समयानुकूल संसोधनसम्बन्धी उपयुक्त रणनीति तय गर्ने तथा जलविद्युत आयोजनाको उत्पादन लागत निर्धारण सम्बन्धमा अध्ययन तथा अनुसन्धान गर्ने योजना बनाएको छ ।
साथै, विद्युत् आयोजनाहरूको प्राविधिक तथा वित्तीय प्रगति यकिन र मूल्याङ्कन गर्न स्वतन्त्र तेस्रो पक्ष वा परामर्शदातामार्फत मूल्याङ्कन गर्नेसम्बन्धी व्यवस्था मिलाउने योजनामा उल्लेख गरिएको छ ।