दिगो, दर्बिलो र वास्तविक अर्थतन्त्रको निर्माणका लागि मौद्रिक नीतिले स्पष्ट मार्गचित्र कोरेको छ : सिबिफिन

दिगो, दर्बिलो र वास्तविक अर्थतन्त्रको निर्माणका लागि मौद्रिक नीतिले स्पष्ट मार्गचित्र कोरेको छ : सिबिफिन

आइतवार, असार २९ २०८२
आइतवार, असार २९ २०८२
  • images
    images
    दिगो, दर्बिलो र वास्तविक अर्थतन्त्रको निर्माणका लागि मौद्रिक नीतिले स्पष्ट मार्गचित्र कोरेको छ : सिबिफिन
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिलाई बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले सकारात्मक भएको बताएको छ ।

    सिबिफिनले एक विज्ञप्ति जारी गर्दै मुलुकको आर्थिक र वित्तीय अवस्था, निजी क्षेत्रको मनस्थिति र विश्व परिवेशको यथार्थ मूल्याङ्कनका आधारमा ल्याइएको यो मौद्रिक नीति सन्तुलित, समयसापेक्ष र उदार मौद्रिक नीति आएको बताएको हो । 

    विज्ञप्तिमा नीतिगत अंकुशभन्दा पनि अनुगमन र सुपरिवेक्षणमा केन्द्रित भएर ल्याइएको नीतिले पछिल्लो समय खस्किएको बैंकिङ क्षेत्रको मनोबल र आत्मविश्वासलाई उकासेको जनाइएको छ।

    “यो मौद्रिक नीतिले आर्थिक एवं बैंकिङ गतिविधिलाई जीवन्त बनाउँदै दिगो, दर्बिलो र वास्तविक अर्थतन्त्र निर्माणतर्फ स्पष्ट मार्गचित्र कोरेको छ,” सिबिफिनको विज्ञप्तिमा उल्लेख गरिएको छ।

    हाल पूँजीकोषमा चाप भोगिरहेका बैंक तथा वित्तीय संस्थाका लागि कर्जा लगानी क्षमतामा सहजता ल्याउने, व्यवस्थापन सुधार गर्ने र वित्तीय स्थायित्व कायम गर्ने नीतिहरूलाई सकारात्मक संकेतका रूपमा लिएको सिबिफिनले बताएको छ। विशेष गरी बैंकदर तथा नीतिगत दरमा गरिएको कटौतीले कर्जा प्रवाह सहज बनाउने विश्वास सिबिफिनले व्यक्त गरेको छ।

    साथै, गैरबैंकिङ सम्पत्तिमा वृद्धि भइरहेका बेला सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाका लागि आवश्यक ऐन र नियमको मस्यौदा तर्जुमा गर्ने निर्णय, आवासीय घरकर्जा र शेयर धितो कर्जाको सीमा वृद्धिका साथै चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन परिमार्जन गर्ने योजनालाई स्वागत गरिएको छ।

    त्यस्तै, कृषि, साना तथा मझौला उद्योगमा कर्जा सहजीकरण, कर्जा वर्गीकरणको पुनरावलोकन तथा “ऋणीसँग नेपाल राष्ट्र बैंक” जस्ता सेवाग्राहीमैत्री कार्यक्रमले वित्तीय क्षेत्रमा सुधार ल्याउने विश्वास सिबिफिनले व्यक्त गरेको छ।

    सिबिफिनले मुलुकको आर्थिक विकासका लागि लगानी प्रवर्द्धन, उत्पादन र रोजगारी अभिवृद्धि, नवप्रवर्तन, निर्यात प्रवर्द्धन, हरित लगानी र युवा जनशक्तिको उपयोगमा केन्द्रित नीति निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउँदै, यसपटक मौद्रिक नीतिमा समेटिन नसकेका कतिपय महत्वपूर्ण सुझावहरू आगामी निर्देशन र समीक्षामार्फत सम्बोधन हुने विश्वास समेत व्यक्त गरेको छ।

    सिबिफिनले मौद्रिक नीतिमा समावेश नीतिहरूको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्र बैंकसँग सहकार्य गर्दै सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com