काठमाडौँ / मोटरसाइकल चोरीमा संलग्न एकजनालाई काठमाडौँको गौशालास्थित पशुपती मन्दिरको पार्किङस्थलबाट हिजो (बुधबार) ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा आउनेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका १ घर भई काठमाडौँको मुलपानी बस्ने ३० वर्षीय प्रदिप वनेम लिम्बु रहेका छन् ।
वास्तविक नम्बर बागमती प्रदेश ०२-०४९ प ८००३ रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०४६ प ९७ २० राखि चलाईरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
उक्त मोटरसाइकल ईलाम सुर्योदय नगरपालिका १ का अभिषेक वेगाले काठमाडौँको बालाजुबाट हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए ।
नियन्त्रणमा आएका वनेम लिम्बुलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बालाजु पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रहरी उपरीक्षक गिरीले आग्रह गरे ।