काठमाडौँ / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एअरलायन्स व्यवस्थित भयो भने पर्यटन क्षेत्र र अर्थतन्त्रलाई पनि सुधार गर्न सक्ने बताएका छन् ।
मंगलबार काठमाडौँमा नेपाल एअरलायन्सको ६७औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले नेपाल एरलाइन्स सबैसँग जोडिएको विषय भएको भन्दै यसको विकास भएको खण्डमा पर्यटन क्षेत्र र अर्थतन्त्रको विकास हुने औंल्याए ।
उनले भने, “राज्यले पनि यसलाई महत्त्व दिएको छ र जनशक्तिले पनि यसलाई प्रचार गर्ने हिसाबमा प्रस्तुत भएको देखिन्छ । नेपालका नागरिक उड्डयन क्षेत्र राम्रो गरि चल्यो भने पर्यटन क्षेत्रको विकास हुन्छ । नेपाल एअरलायन्स राम्रो भएन भने उड्डयन क्षेत्र राम्रो बनाउने वातावरण नै बन्दैन । यसरी पर्यटन क्षेत्र पनि अगाडि बढ्न सक्दैँन् । यसले अर्थतन्त्रलाई पनि प्रभाव पार्छ ।”
यस्तै, उनले देश चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको बेला एअरलायन्सलाई पनि समस्या भएकाले यसको राम्रो व्यवस्थापन र आर्थिक एवम व्यवसायिक सफलता हासिल गर्नुपर्ने थियो त्यो नभएको बताए ।
उनले भने, “हामी निकै चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेका छौँ । देशको अर्थतन्त्र पनि चुनौतीपूर्ण नै छ । एअरलायन्सले जुन व्यवस्थापन र आर्थिक एवम व्यवसायिक सफलता प्राप्त गर्नुपर्ने थियो । भएको छैन । त्यसैले अबका दिन सुधारको लागि के गर्नुपर्छ भन्ने कुरामा सबैले ध्यान दिनु हुनेछ र निष्ठापूर्वक काम गर्नु हुनेछ भन्ने विश्वास छ ।”
नेपाल एअरलायन्सले पनि सुधारका सङ्केतहरू देखिने गरि काम गर्ने अपेक्षा गरेको पनि उनको भनाई छ ।