काठमाडौँ / साताको तेस्रो कारोबार दिन मङ्गलबार पनि नेप्से परिसूचक बृद्धि भएको छ । सोमबार ९.१९ अङ्कले बढेर २६३१.४८ बिन्दुमा पुगेको नेप्से आज २८.९१ अङ्कले बढेर २६६०.३९ बिन्दुमा पुगेको हो । नेप्से बढेसँगै आज कारोबार रकममा पनि वृद्धि भएको छ ।
मङ्गलबार कुल ३०९ स्टकको ७ अर्ब ३ करोड ३० लाख ५० हजार २८६ रुपैयाँ बराबरको १ करोड ५७ लाख ६४ हजार १ कित्ता सेयर खरिद बिक्री भएको छ ।सोमबार ६ अर्ब ३८ करोड ७२ लाख ७ हजार १५ रुपैयाँ बराबरको १ करोड ४१ लाख ७२ हजार ५३५ कित्ता सेयर कारोबार भएको थियो ।
सोमबार १.९५ अङ्कले बढेको सेन्सेटिभ इन्डेक्स आज ६.१९ अङ्कले बढेको थियो भने आज फ्लोट इण्डेक्स पनि २.३६ अङ्कले बढेको भने सेन्सेटिभ फ्लोट इण्डेक्स पनि २.२७ अङ्कले बढेको छ । मङ्गलबार कारोबारमा आएकामध्ये दुई समूहको परिसूचक घटेको छ भने बाँकी सबैको बढेको छ ।
यो दिन लगानी समूह सबैभन्दा बढी २.३८ प्रतिशत, लघुवित्त २.२२ प्रतिशत, हाइड्रोपावर १.३८ प्रतिशत, विकास बैंक १.२१ प्रतिशत, जीवन बिमा १.१२ प्रतिशत, बैंकिङ समूह १.०९ प्रतिशतले बढेको छ भने निर्जीवन बिमा समूह १.०५ प्रतिशतले बढेको छ ।
त्यस्तै, वित्त समूह ०.५५ प्रतिशत, होटल्स तथा पर्यटन समूह ०.५७ प्रतिशत, म्युचुअल फण्ड ०.३३ प्रतिशत र अन्य समूह ०.४८ प्रतिशतले बढेको छ ।
यसदिन सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेड र न्यादी हाइड्रो पावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सामुदायिक लघुवित्तिको सेयर मूल्य १३६.७१ रुपैयाँले बृद्धि हुँदै प्रतिकित्ता १५२१.८२ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यस्तै, व्यापार समूहको परिसूचक ०.६१ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.०७ प्रतिशतले घटेको छ ।
न्यादी हाइड्रोको सेयर मूल्य ४२.२५ रुपैयाँले बढेर प्रतिकित्ता ४७०.३६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, यस दिन धेरै कमाउनेमा बरुण हाइड्रो, राप्ती हाइड्रो र सर्पोट माइक्रो फाइनान्स वित्तिय संस्था पनि रहेका छन् ।
यसदिन सबैभन्दा धेरै घाटा व्यहोर्नेमा युनिलिभर नेपाल लिमिटेड रहेको छ । यसको सेयर मूल्य आज २.१३ प्रतिशतले अर्थात १ हजार रुपैयाँले घटेर प्रतिकित्ता ४६ हजार रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
त्यसैगरी गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य पनि क्रमशः प्रतिकित्ता ३७.६८ रुपैयाँ र २९.९७ रुपैयाँले घटेको छ ।
यसदिन एनआरएन इन्फ्रास्टक्चर, राधि जलविद्युत कम्पनी, बुटवल पावर कम्पनी र सप्तकोशी विकास बैंकको सेयरको सर्वाधिक कारोबार भएको छ ।