प्रधानमन्त्री आज स्पेन जादैँ, यस्तो छ उनको भ्रमण तालिका

प्रधानमन्त्री आज स्पेन जादैँ, यस्तो छ उनको भ्रमण तालिका

शनिवार, असार १४ २०८२
शनिवार, असार १४ २०८२
  • images
    images
    प्रधानमन्त्री आज स्पेन जादैँ, यस्तो छ उनको भ्रमण तालिका
    images
    images

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओली आज (शनिबार) स्पेन जादैँ छन् । ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स् (एफएफडि–४)’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी स्पेन जान लागेका हुन् । 

    राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री स्पेनको सेभिल्लामा हुन लागेको उक्त सम्मेलनमा जान लागेका हुन् । 

    भ्रमणका अवसरमा प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्नेछन् भने स्पेनका राजा फिलिप द्वितीयसँग शिष्टाचार भेट र स्पेनका समकक्षी सान्चेजसँग भेटवार्ता पनि गर्ने छन् । साथै, विश्वका अन्य मुलुकका नेताहरूसँग भेटवार्ता गर्ने कार्यसूची पनि रहेको छ । 

    यो सम्मेलनमा विश्वका सबै सरकारका नेताहरू, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज र संयुक्त राष्ट्र प्रणालीका सम्बन्धित प्रतिनिधि सहभागी हुनेछन् । 

    भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । त्यस अवसरमा सहयोग र सम्बन्ध विस्तारसम्बन्धी केही महत्त्वपूर्ण विषयमा नेपाल र स्पेनबिच सहमतिपत्रमा हस्ताक्षर हुनेछ । 

    प्रधानमन्त्रीले भ्रमणकै दौरान त्यहाँस्थित नेपाली समुदाय र स्पेनिस उद्योगी व्यवसायीसँग पनि अन्तर्क्रिया गनेछन् । सम्मेलनका क्रममा प्रधानमन्त्रीको अन्य महत्त्वपूर्ण द्विपक्षीय भेटघाट समेत हुने दूतावासले जनाएको छ ।

    स्पेन संसदीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रात्मक शासन व्यवस्था भएको पश्चिम युरोपेली मुलुक हो । करिब पाँच लाख पाँच हजार ९९० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको स्पेनको जनसङ्ख्या लगभग चार करोड ७४ लाख छ । 

    सन् १९८६ मा युरोपेली सङ्घको सदस्य भएको स्पेनले सन् १९९५ मा सेन्जेनको सदस्यता लिएको थियो । स्पेनमा ८४ प्रतिशत स्पेनिस, एक दशमलव सात मोरक्कन, एक दशमलव दुई रोमानियन र अन्य जाति १२ दशमलव तीन रहेको तथ्याङ्क छ । स्पेनमा साना–ठुला गरी २० हजार फुटबल क्लब र १० लाख रजिष्ट्रर खेलाडी रहेको मुलुक हो । भाषाका हिसाबले स्पेनिस विश्वको चौथो धेरै बोलिने भाषा हो ।

    नेपाल–स्पेन दौत्य सम्बन्ध

    नेपाल र स्पेनबिच सन् १९६८ मे १३ मा कूटनीतिक सम्बन्ध स्थापना भए पनि सन् २०१८ मा मात्र त्यहाँ नेपालको आवासीय राजदूतावास स्थापना भएको हो । स्पेनको दूतावास यहाँ नभएकाले दिल्लीस्थित दूतावासले नेपाल हेर्दै आएको छ । स्पेनमा विभिन्न पेसा तथा व्यवसायमा करिब २० हजार नेपाली संलग्न रहेको अनुमान छ । उनीहरूमध्ये विशेष गरी कृषि, होटल, पर्यटन र निर्माणलगायत क्षेत्रमा बढी संलग्न रहेको जानकारी दिइएको छ । 

    नेपाल र स्पेनबिच विगतदेखि नै उच्चस्तरीय भ्रमण आदानप्रदान हुँदै आएको छ । तत्कालीन राजा वीरेन्द्रले सन् १९८३ मा स्पेन तथा त्यहाँका राजा कार्लोसले पनि सन् १९८७ मा नेपालको चारदिने राजकीय भ्रमण गरेका थिए ।

    तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सन् २०१६ मा स्पेनमा ‘द्वन्द्वमा परेका व्यक्तिहरूको बेचबिखनसम्बन्धी उच्चस्तरीय बहस’मा भाग लिएका थिए । त्यस्तै, सन् २०१९ मा तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले स्पेनमा आयोजित मन्त्रीस्तरीय जिएसएमए कार्यक्रममा भाग लिएका थिए।

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सन् २०२१ मा स्पेनको भ्रमण भएको थियो । त्यसअवसरमा नेपाल र स्पेनबिच जलवायु परिवर्तन र पर्यटनका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको थियो । वैदेशिक रोजगारीका हिसाबले नेपालीका लागि स्पेन नयाँ गन्तव्य बनिरहेको छ । स्पेन विश्वमै पर्यटकीय गन्तव्यका रूपमा रहँदै आएको छ । त्यहाँको आयस्रोतको प्रमुख आधारमध्ये पर्यटन महत्त्वपूर्ण क्षेत्र हो ।

    वार्षिक सवा करोड पर्यटकले स्पेनको भ्रमण गरेको तथ्याङ्क छ । यसैबिच स्पेनबाट सन् २०१८ मा १९ हजार ५६३ पर्यटक नेपाल भ्रमणमा आएकामा कोभिड–१९ पछि त्यसमा केही गिरावट देखिएको छ । 

    नेपालको भौगोलिक अवस्थिति, प्राकृतिक सौन्दर्य, अनुपम सांस्कृतिक सम्पदा र विविध विशिष्ट पर्यटकीय स्थानले स्पेनिस पर्यटकहरूलाई आकर्षण गर्ने प्रशस्त सम्भावना छ । अनुकूल हावापानी र साहसिक पर्यटन, आध्यात्मिक चिन्तन, ध्यान र योगका लागि नेपाल उपयुक्त गन्तव्य स्थलका रूपमा परिचित छ । 

    नेपालबाट हुन लागेको यो उच्चस्तरको भ्रमणले पनि स्पेनलगायतका युरोपली मुलुकका पर्यटकलाई नेपालबारे थाहा पाउन बलियो आधार प्रदान गर्ने विश्वास गरिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com