काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ग्राहकहरूको सेवालाई अझ सहज, सरल र आधुनिक बनाउने उद्देश्यले मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिन सक्ने सुविधा ल्याएको छ ।
ग्राहकहरूलाई सरलीकृत सेवा दिने क्रममा आफ्नो मुद्दती निक्षेपको आधारमा अचानक आइपर्ने आवश्यक रकमको ऋण सहज रूपमा मोबाइल एप प्रयोग गरी प्राप्त गर्न सक्नेछन् । यस योजनाअन्तर्गत बैंकबाट आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशत वा बढीमा २ लाख रुपैयाँसम्म (कम्तीमा ५ हजार रुपैयाँदेखि) ऋण लिन सक्नेछन् ।
सो रकम आवेदकको बचत खातामा तत्काल जम्मा हुनेछ । यसमा कुनै पनि भौतिक कागजात आवश्यक पर्ने छैन । सिटिजन्स बैंकले डिजिटल प्रविधिको उपयोग मार्फत आफ्ना ग्राहकहरूको समय, श्रम र स्रोतको बचत गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन निरन्तर रूपमा नयाँ नयाँ डिजिटल सेवा ल्याउने क्रममा यो सेवा पनि थप गरिएको हो ।
हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ ।
साथै, मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुविधालगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरूबाट १९ लाख ७ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।