काठमाडौं/ काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित फलफूल बजार नजिकै शंकास्पद अवस्थामा रोकिराखिएको भारतीय नम्बर प्लेटको स्यान्ट्रो गाडीबाट ठूलो मात्रामा लागुऔषध बरामद गरिएको छ।
मिति २०८२ जेठ ३० गते राति करिब ९ बजे लागुऔषधको ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले UP78CB9835 नम्बरको स्यान्ट्रो गाडी जाँच गर्दा गाडीको ढोका र डिक्कीमा लुकाइराखिएको अक्सिजन सिलिन्डरभित्र लुकाइएको अवस्थामा ट्रमाडोल ८२,९०० क्याप्सुलसहित अन्य सामाग्री फेला पारेको हो।
बरामद सामग्रीमा ट्रमाडोल ८,२९० फाइल (जम्मा ८२,९०० क्याप्सुल), दुई थान विभिन्न कम्पनीका मोबाइल, एक थान अक्सिजन सिलिन्डर, उक्त नम्बर प्लेट भएको स्यान्ट्रो गाडी र नगद रुपैयाँ ६५,००० रहेका छन्।
प्रहरीले लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्या गाउँपालिका–२ स्थायी घर भई हाल काठमाडौं बल्खु बसोबास गर्दै आएका २६ वर्षीय राजु मिजार र २४ वर्षीया मीना मगर रहेका छन्। अनुसन्धानमा राजु मिजार यसअघि पनि तीन पटक लागुऔषध मुद्दामा पक्राउ परिसकेको अभिलेख देखिएको छ।
क्रमशः २०७८ सालमा लागुऔषध नियन्त्रण ब्यूरोबाट, २०८१ सालमा प्रहरी वृत्त जगाती भक्तपुर र प्रहरी वृत्त थानकोटबाट लागुऔषध सम्बन्धी मुद्दा चलाइएको थियो। हाल उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट ११ दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।