कपिलवस्तु/ कृषकहरूको सम्मान र कृषि क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको ‘एग्रिवस्तु कृषि तारा २०८२’ कपिलवस्तुमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममार्फत लामो समयदेखि कृषि पेशामा क्रियाशील किसानहरूलाई नगदसहित सम्मान गरिएको हो।
बुद्धभूमि नगरपालिका–१० स्थित चेतरादेइमा एग्रिवस्तु कोल्ड स्टोरेजको आयोजनामा सम्पन्न कार्यक्रममा किसान बहरैची केवटलाई उत्कृष्ट कृषक घोषणा गर्दै नगद १ लाख रुपैयाँसहित सम्मान प्रदान गरिएको छ। दोस्रो स्थानमा कृष्ण मोहन केवटले नगद ७५ हजार र तेस्रो स्थानमा कृष्णलाल भारतीले नगद ५० हजार रुपैयाँ प्राप्त गरे।
त्यसैगरी, उत्कृष्ट महिला कृषकको रुपमा दुर्गा अर्याल सम्मानित भइन् भने विदेशबाट फर्किएर कृषि कर्ममा लागेका बलबहादुर रानालाई पनि विशेष सम्मान प्रदान गरिएको छ।
सान्त्वना पुरस्कारतर्फ सत्यभामा केवट, रामबहादुर थारु, सत्यनारायण थारु, वैभव प्रताप शाह र सन्तोष कुमार चौधरीले नगद पुरस्कार प्राप्त गरेका छन्।
कार्यक्रममा सम्मानित किसानहरूले पहिलो पटक कपिलवस्तुमा यस्तो कार्यक्रमको आयोजना भएकोमा उत्साह व्यक्त गर्दै प्राप्त पुरस्कारलाई कृषि व्यवसाय विस्तारमा प्रयोग गर्ने बताएका छन्।
मौरीविद् अनिरुद्धनाथ शुक्लाको संयोजकत्वमा गठित पाँच सदस्यीय मूल्याङ्कन समितिले कृषकहरूको क्षेत्रफल, उत्पादन, फिल्ड अनुगमन लगायतका आधारमा मूल्याङ्कन गरी उत्कृष्ट र सान्त्वना विजेता छनोट गरेको एग्रिवस्तु कोल्ड स्टोरेजका प्रबन्ध निर्देशक आशिष शर्माले जानकारी दिए।
मूल्याङ्कन समितिमा कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख भाष्कर पौडेल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख राजेश ओझा, कृषि विज्ञ खुर्सेद अहमद खाँ र नेपाल पत्रकार महासंघ कपिलवस्तुका सहसचिव कृष्ण प्रसाद पौडेल सदस्यका रूपमा सहभागी थिए।
संयोजक शुक्लाले निष्पक्ष र वैज्ञानिक ढंगले मूल्याङ्कन गरिएको जनाउँदै यस्तो सम्मानले कृषकहरूलाई थप प्रोत्साहन दिने विश्वास व्यक्त गरे। कार्यक्रमका आयोजक तथा निर्देशक शर्माले कृषि पेशालाई सम्मानित बनाउने प्रयासस्वरूप आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाए।
कार्यक्रममा कलाकार जितु नेपाल ‘मुन्द्रे’को आकर्षक प्रस्तुति, गणेश वन्दना तथा थारु सांस्कृतिक नृत्यले माहोललाई झनै रंगीन बनाएको थियो।