त्रिभुवन राजपथअन्तर्गत नागढुंगा–नौबिसे सडक खण्ड आगामी पाँच दिनका लागि पुनः बन्द हुने भएको छ । निर्माण कार्य अधुरो रहेकाले थप पाँच दिनका लागि सवारी सञ्चालनमा रोक लगाइएको ‘नागढुंगा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड)’ले जनाएको छ ।
आयोजना अनुसार जेठ २६ गतेदेखि ३० गतेसम्म हरेक दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द रहनेछ ।
सवारी साधन काठमाडौँबाट नौबिसे जानेहरूका लागि नागढुंगा चेकपोष्टमा, र नौबिसेबाट काठमाडौँ फर्कनेका लागि खानीखोला बजारमा रोकिनेछ । रोकिएका सबै सवारी साधनलाई दिउँसो ३ बजेपछि मात्रै गन्तव्यतर्फ जान दिइने जानकारी दिइएको छ ।
निर्माण अवधिमा दमकल, एम्बुलेन्स र सुरक्षासम्बन्धी सवारी साधन भने अवरुद्ध नहुने जनाइएको छ । साथै, उक्त अवधिमा सवारी चालकहरूलाई लेन अनुशासन पालना गर्न र जथाभाबी ओभरटेक नगर्न अनुरोध गरिएको छ ।
वैकल्पिक मार्गको रूपमा साना तथा मझौला सवारी साधनहरूले सीता पाइला–रामकोट–धार्के सडक तथा सामाखुसी–टोखा–छहरे–त्रिशूली (विदुर)–गल्छी सडक प्रयोग गर्न सकिने जनाइएको छ ।