बाजुराको बाम्का बजारमा भीषण आगलागी : आठ करोड ७७ लाख बढीको क्षति

बाजुराको बाम्का बजारमा भीषण आगलागी : आठ करोड ७७ लाख बढीको क्षति

शनिवार, जेठ २४ २०८२
शनिवार, जेठ २४ २०८२
  • बाजुराको बाम्का बजारमा भीषण आगलागी : आठ करोड ७७ लाख बढीको क्षति

    काठमाडौँ / बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा शुक्रबार भएको भीषण आगलागीबाट ८ करोड ७७ लाख बढी मूल्यको धनमाल जलेर नष्ट भएको प्रारम्भिक मूल्याकंन गरिएको छ । 

    images
    images

    नवदुर्गा होटलमा खाना पकाउने ग्यासको सिलिण्डर विस्फोट भएपछि सुरु भएको आगोले बजार क्षेत्रका ३५ वटा पसलहरू जलेर पूर्णरूपमा नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आगलागीबाट भएको क्षतिको प्रारम्भिक मूल्याङ्कन अनुसार करिब ८ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

    आगजनीको घटनापछि नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे शनिबार बिहान बाम्का बजार पुगेर घटनास्थलको निरीक्षण गरेका छन् ।

    काठमाडौँबाट विशेष टोलीसहित प्रस्थान गरेका मन्त्री पाण्डेले आगलागीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्दै जलेर नष्ट भएका पसल, घर र संरचनाहरूको जानकारी लिएका हुन् । 
    जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले आगलागीबाट ३५ वटा पसल पूर्णरूपमा क्षतिग्रस्त भएको पुष्टि गर्दै प्रारम्भिक विवरण अनुसार सबैभन्दा बढी योगनाथ न्यौपानेको किराना पसलमा करिब १ करोड ८० लाख रुपैयाँ बराबरको क्षति भएको जानकारी दिएका छन् ।

    त्यसैगरी, तोयानाथ न्यौपानेको १ करोड ५० लाख, छत्र थापाको १ करोड ५० लाख र धनबहादुर साउँदको १ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी निरीक्षक चौधरीले जानकारी दिएका छन् ।

    आगलागीबाट दिपक साउँद, रामु अयडी, तुल कटुवाल र उद्धव थापाको पसलमा पनि ठूलो क्षति भएको भए तापनि हालसम्म क्षतिको मूल्यांकन कार्य सम्पन्न भइसकेको छैन । 

    प्रहरीको भनाइ अनुसार बाम्का बजारमा रहेको फेन्सी पसल, मेडिकल स्टोर, इलेक्ट्रोनिक्स पसल, पुस्तक पसल तथा होटलहरू समेत आगलागीबाट जलेर पूर्णरूपमा नष्ट भएका छन् । त्यस्तै, भगतराज गिरीको सु प प्र ०१–००१प ४६८१ नम्बरको मोटरसाइकलसमेत आगलागीमा जलेर नष्ट भएको पुष्टि भएको छ ।

    स्थानीय व्यापारीहरू, पीडित परिवार तथा सम्पूर्ण बजार क्षेत्र अहिले अत्यन्त पीडित र तनावग्रस्त अवस्थामा छन् । आगलागीको कारण लाखौंको लगानी गुमाएका व्यापारीहरूले राज्यबाट उचित राहत र पुनःस्थापना सहायता पाउने अपेक्षा गरेका छन ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पाण्डेले निरीक्षणका क्रममा पीडित व्यापारीहरूसँग भेट गर्दै सरकारले तत्कालीन राहत र दीर्घकालीन पुनर्निर्माणका कार्यक्रमहरू अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले स्थानीय प्रशासनलाई समेत पीडितको तर्फबाट आवश्यक सबै किसिमको सहायता पु¥याउन निर्देशन दिएका छन् ।

    जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सक्रिय प्रयासबाट आगलागी नियन्त्रणमा लिइएको भए पनि आगोले पु¥याएको क्षति अत्यन्त ठूलो र पीडादायक रहेको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com