काठमाडौँ / साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार ओरालो लागेको छ । बुधबार ११.९७ अङ्कले घटेको सेयर बजार आज ५.९९ अङ्कले घटेर २६४०.९६ बिन्दुमा झरेको हो ।
बिहीबार ३११ कम्पनीको एक करोड ७१ लाख ८ हजार ८०९ कित्ता सेयर ७७ हजार ६७० पटकमा कारोबार भएको छ । आजको कारोबारमा हाइड्रोपावर समूहको परिसूचक १.१३ प्रतिशतले बढेको छ भने लगानी समूह ०.०३ प्रतिशतले बढेको छ ।
अन्य सबै समूहको परिसूचक ओरालो लागेको बजारमा सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूहको परिसूचक १.०४ प्रतिशतले घटेको छ ।
बिहीबार रिभर फल्स पावर लिमिमटेडको सेयर मूूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५२४.६० रुपैयाँ पुगेको छ भने बुटवल पावर कम्पनी र पियोर इनर्जी लिमिटेडको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर क्रमश ६३२.१० रुपैयाँ र ५१२.३० रुपैयाँ कायम भएको छ ।
यसैगरी, बरुण हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९६ प्रतिशत र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.५० प्रतिशतले बढेको छ ।
आज सबैभन्दा धेरै घट्नेमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको सेयर मूल्य रहेको छ । यो कम्पनीको सयर मूल्य ९.३० प्रतिशतले घटेको छ भने ग्रीन डेभलपमेन्टेको सेयर मूल्य ३.९० प्रतिशतले घटेको छ ।
बिहीबार सर्वाधिक बढी राधी विद्युत कम्पनीको सेयर कारोबार भएको छ । यो कम्पनीको ९१ करोड २३ लाख ९० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।