भनिन्छ, संसारभरिका अधिकांश भौतिक र वित्तीय सम्पत्ति केही धनाढ्यको मुट्ठीमा छ।
युरोपमा १० प्रतिशत सर्वाधिक सम्पन्नहरूले सम्पत्तिको कुल ६० प्रतिशतभन्दा बढी हिस्सा ओट्छन्।
यो संख्या उत्तरी अमेरिका, दक्षिण तथा दक्षिणपूर्वी एसियामा लगभग ७० प्रतिशत छ भने रुस, मध्य एसिया, मध्यपूर्व, अफ्रिका र ल्याटिन अमेरिकामा त्यो संख्या ७० प्रतिशतभन्दा बढी छ ।
संयुक्त राष्ट्रसंघका अनुसार विश्वका सर्वाधिक सम्पन्न १० प्रतिशतसँग विश्वको ७६ प्रतिशत सम्पत्ति निर्बाध रूपले नियन्त्रणमा छ।
यस्ता अनेक तथ्य र अर्थशास्त्रका विभिन्न भाष्यमाथि ब्रिटिस अर्थशास्त्री इमन बट्लरले बहस गरेका छन् ।
आफ्नो पुस्तक ‘एन इन्ट्रोडक्सन टु इकोनोमिक इनइक्वालिटी’ मा।
जसलाई भरखरै वी रिडले समृद्धि फाउन्डेशनसँगको सहकार्यमा नेपाली भाषामा अनुवाद गरी प्रकाशनमा ल्याएको छ, यसमा अनुवादक हुन्– विप्लव प्रतीक।
पुस्तकको नेपाली नाम दिइएको छ– ‘आर्थिक असमानताः एक परिचय’।
आर्थिक असमानताबारे थुप्रै सैद्धान्तिक व्याख्या गरिएका छन्।
कार्ल माक्र्सले यसलाई आर्थिक शक्ति र श्रमिकहरूको शोषणको परिणाम माने।
नवउदारवादीहरू भने यसलाई अवैयक्तिक बजार प्रक्रियाको उद्देश्यपूर्ण परिणामा मान्न सक्छन् ।
व्यावहारिक रूपमा हेर्ने हो भने असमानतामा बजारको अवस्थाले प्रभाव पारेको हुन्छ।
पुस्तकमा बट्लरले आर्थिक असमानताको मापन कठिन हुने, कर तथा कल्याणकारी लाभले वास्तविक असमानता कम गर्ने कुरा उल्लेख गरेका छन्।
उनले गरीबी र असमानतालाई फरक मुद्दाका रूपमा हेरेका छन्।
असमानता भनेको आय वा सम्पत्तिको असमान वितरण हो, तर गरिबी न्यूनतम जीवनस्तरको अभाव ।
गरिबी न्यूनीकरणमा ध्यान केन्द्रित गर्नुपर्ने र असमानताको खोजीमा गलत नीति नअपनाउन उनले पुस्तकमा सुझाव दिएका छन्।
आम्दानीमा असमानताले आर्थिक विकासलाई कसरी प्रभावित पार्छ र आर्थिक विकासले कसरी समानतालाई उँभो लैजान्छ भन्ने विषयमा पनि पुस्तकमा चर्चा गरिएको छ।
यस्तै, असमानतामाथि बनेका भाष्य र तिनमाथि बहस, आम्दानीको मापनमा उठेका सवाल, समानताको नीति र राजनीतिक प्रभाव, प्रगतिशील कर प्रणाली, अन्तर्राष्ट्रिय तुलना, विभिन्न अर्थशास्त्रीको तर्क र सिद्धान्त, कार्यालयमा समान ज्याला तथा लैंगिक अन्तरको विषय पनि उठाइएको छ।
छोटो र सरल भाषा अनुवाद गरिएको यो पुस्तक आर्थिक असमानताको बहसमा नयाँ दृष्टिकोण बन्न सक्छ । समृद्धि फाउन्डेसनसँगको सहकार्यमा वी रिडले पुस्तक प्रकाशनमा ल्याएको हो।
को हुन् बट्लर ?
यस पुस्तकका लेखक इमन बट्लर ब्रिटिस अर्थशास्त्री हुन् ।
उनी एडम स्मिथ इन्स्टिच्युटका सहसंस्थापक र निर्देशक हुन्, यो संस्था बजार आर्थिक नीतिसम्बन्धी बेलायतको प्रमुख थिंक ट्यांक पनि हो ।
सेन्ट एन्ड्रयु विश्वविद्यालयबाट अर्थशास्त्र र मनोविज्ञानमा स्नातकोत्तर गरेका उनले विद्यावारिधि पनि सोही विश्वविद्यालयबाट पूरा गरेका हुन् ।
सन् २०१२ मा उनले हेरियट–वट विश्वविद्यालयबाट मानार्थ डक्टर इन लिटरेचर प्राप्त गरे । बट्लरका विभिन्न शिर्षकमा ३० भन्दा धेरै पुस्तक प्रकाशित छन् ।
उनले सन् १९७० मा अमेरिकको हाउस अफ रिप्रेजेन्टेटिभ्समा पेन्सन र कल्याणकारी मुद्दाहरूमा काम गरेका थिए।
बजार अर्थतन्त्रलाई अगाडि बढाउन गरेका कामको मूल्यांकन गर्दै उनलाई ‘यूके नेसनल फ्री इन्टरप्राइज अवार्ड’, ‘फ्रिडम मेडल अफ फ्रिडम्स फाउन्डेसन’जस्ता अवार्ड दिइएको छ।
अर्थशास्त्री एडम स्मिथको प्रतिमा निर्माणका लागि उनले आयोग बनाएर कोष जुटाएका थिए, स्मिथको प्रतिमा एडनबर्गको हाई स्ट्रिटमा राखिएको छ ।
बट्लरले दुई भागको ऐतिहासिक वृत्तचित्र ‘सेक्रेट्स अफ द म्याग्ना कार्टा’ पनि निर्माण गरेका छन्, जुन आन्थेम फिल्म फेस्टिभलमा पुरस्कृत भएको थियो । उनको किताब ‘फाउन्डेसन्स अफ अफ्री सोसाइटी’ले भने फिसर प्राइज पाएको छ।एडम स्मिथ, मिल्टन फ्रिडम्यान, एफए हायेक र लुडविग भाँ मिजेसका विचार समाविष्ट पुस्तक उनले निकालेका छन्।
शा स्त्रीय उदारवाद, जनचाहना, पुँजीवाद, प्रजातन्त्र, व्यापार, अस्ट्रियन स्कुल अफ इकनोमिक्स र महान् उदार विचारकबारे प्रारम्भिक पुस्तिका पनि छ।
उनी ‘दि कन्डेन्स्ड वेल्थ अफ नेसन्स’ र ‘दि बेस्ट बुक अन दि मार्केट’ जस्ता कैयौं पुस्तकका लेखक हुन् । ‘फोर्टी सेन्चुरिज अफ वेज एन्ड प्राइस कन्ट्रोल्स’ र अनेक भागमा प्रकाशित आईक्यू पुस्तकका उनी सहलेखक हुन्।
अर्थशास्त्र, मनोविज्ञानदेखि राजनीतिसम्म विभिन्न विषयमा पुस्तक लेखेका ७२ वर्षीय बट्लर एक चर्चित लेखक हुन्।
‘द टाइम्स’, ‘द गार्जियन’ र ‘द डेली टेलिग्राफ’मा उनका लेख प्रकाशित छन् ।