[ बहस ] वर्तमान व्यवस्था दलतन्त्र कि गणतन्त्र ? के पूर्वपञ्चबाट यो मुलुकमा परिवर्तन सम्भव छ ?

[ बहस ] वर्तमान व्यवस्था दलतन्त्र कि गणतन्त्र ? के पूर्वपञ्चबाट यो मुलुकमा परिवर्तन सम्भव छ ?

नेताहरुको सबै प्रयासहरु क्रमशः असफल भइरहेको र जनतालाई सेवा दिनुको साटो दलका नेताहरु तमासा देखाइरहेको आरोप

बिहिवार, जेठ १५ २०८२
बिहिवार, जेठ १५ २०८२
  • images
    images
    [ बहस ] वर्तमान व्यवस्था दलतन्त्र कि गणतन्त्र ? के पूर्वपञ्चबाट यो मुलुकमा परिवर्तन सम्भव छ ?
    images
    images

    आज १८ औं गणतन्त्र दिवस । 
    गणतन्त्र दिवसको अवसर पारेर आम जनता पार्टी (आजपा) ले ‘वर्तमान व्यवस्था दलतन्त्र कि गणतन्त्र’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । 
    कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, प्राध्यापक, कानूनविद र नागरिक समाजको तर्फबाट सहभागिता थियो । 


    प्रभु शाह, आजपाका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य

    अहिलेको अवस्थामा पूर्व राजा र अहिलेका पार्टीका महाराजाहरु कोही पनि खुसी छैनन् । पूर्वमन्त्रीसमेत रहेका नेता साहले अहिले देशको अर्थतन्त्र डामाडोल, सामाजिक सद्भाव भद्रगोल र युवाहरुको भविष्य अन्यौंला अवस्थामा रहेको बताए । 
    उनले नेताहरुको सबै प्रयासहरु क्रमशः असफल भइरहेको र जनतालाई सेवा दिनुको साटो दलका नेताहरु तमासा देखाइरहेको उनले बताए । 


    ‘अहिलेका हाम्रा पार्टीका प्रमुख स्वघोषित राजाहरुलाई, अब तपाईँहरुको सबै प्रयासहरु असफल भयो । अब देशलाई निकास दिनुस् । तपाईँहरु फेरि जिद्दि गर्नुहुन्छ भने जनतालाई स्वीकार्य छैन । अब देशलाई चाहिएको छ निकास । त्यो भनेको अन्तरीम सरकार । प्रधानमन्त्रीजीलाई म भन्न चाहन्छु– तपाईँहरुले सबै प्रयास गर्नुभयो । काहीँ दुनियाँमा नभएको अभ्यास गर्नुभयो ।

    न्यायाधीशलाई सरकार प्रमुख बनाउनुभयो । विपरीत जनादेश पाएको अपवित्र गठबन्धन बनाउनुभयो । समस्यामात्रै सिर्जना गर्नुभयो ।’ आजपा अध्यक्ष साहले भने, ‘फेरि पनि म प्रधानमन्त्रीलाई भन्न चाहन्छु– राजीनामा दिनुस् । यो सडकमा तमासा गरेर तपाईँले सुख पाउने आवस्था छैन । तपाईँले राजीनामा दिनुहुन्छ भने जनता र देशले शान्ति पाउनेछन् । अन्तरी म सरकारमात्रै अहिलेको निकास हो भन्ने म ध्यानाकर्षण गराउन चाहन्छु ।’ 

    उनले देशको व्यवस्था परिवर्तनका लागि आफूले जनयुद्ध र जनआन्दोलनका क्रमम अग्रभागमा रहेर लडेको स्मरण गराउँदै पछिल्लो समय सबै कुरामा धोका भएको बताए । आफू लोकतन्त्रका लागि लडेको भएपनि त्यसलाई नेताहरुले दलतन्त्र बनाएको, संघीयताको लागि लढेकोमा ७६१ वटा सरकार बनाएर दुनियाँमा कतै नभएको काम गरिएको उनको आरोप छ । 

    उनले आफूहरुले पीडित र अल्पसंख्यक समुदायको लागि समानुपातिक व्यवस्थाको माग गरेर लडेको भए पनि नेताहरुले शासकको लागि आरक्षणको व्यवस्था ल्याएको आरोप लगाए । नेता साहले राष्ट्रियताको लागि लडेकोमा दुई देशको नागरिकताको प्रावधान ल्याएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । ‘आज एउटा पकेटमा नेपालको नागरिकता, अर्को पकेटमा अमेरिकाको नागरिकता दुनियाँमा नभएको व्यवस्था हामीले हेरिरहेका छौं । हामी प्रतिस्पर्धाको लागि लडेका थियौं, तर सिन्डिकेट ल्याइयो,’– उनले भने । 

    संविधानमा उल्लेखित मौलिक हक र संवैधानिक आयोगहरु जनतालाई झुक्याउन र लुट्नमात्रै प्रयोग भइरहेको उनको आरोप छ । नेता साहले गणतन्त्र नेपालमा देखाउने दाँतमात्रै भएको बताए । देशमा अहिले गणतन्त्र नभएर दलतन्त्र हाबी भइरहेको बताए । ‘आज दुःखको साथ भनिराख्नु परेको छ– गणतन्त्र नेपालमा देखाउने दाँतमात्रै भयो । हामी गहना किन्न जान्छौं, एउटा बाहिरी लेप लगाएको नक्कली गहना हुन्छ, लेपमात्रै सुनजस्तो देखिन्छ । सुन भित्र हुँदैन । अहिलेको व्यवस्था दलतन्त्र हो । गणतन्त्र भनेको बाहिर देखाउने लेपमात्रै भयो,’– उनले भने ।


    गणतन्त्रलाई खोल बनाएर पार्टीका नेताहरुले तत्कालीन राजा महाराजाहरुको नक्कल गरिरहेको उनको आरोप छ । नेता साहले अहिले नेपाललाई लुटेर विदेश भाग्ने भगौडा वर्गको जन्म भइसकेको भन्दै चिन्ता व्यक्त गरे । नेपालमा शासन गर्ने र यहाँबाट लुटेर विदेश लैजाने काम भइरहेको उनको आरोप छ । उनले नेपालका ठूला भनिएका नेताहरुको सन्तान भने विदेश पठाएको र भएभरको सम्पत्ति उतै थुपारेको उनको आरोप छ । केही नलागेपछि अब उनीहरु पनि विदेशतिरै जान तम्तयार भएर बसिरहेको उनले बताए ।
     
    नेपालमा लगानी गर्ने, नेपालमा भविष्य देख्ने र बाहिर कमाएर ल्याएका सम्पत्ति नेपालमै लगानी गर्नेहरु आजपाको मित्र रहेको उनको धारणा छ । उनले नेपाललाई लुटेर विदेश लैजाने र विदेशमा भविष्य देख्नेहरुबाट नेपाललाई फाइदा नपुग्ने बताए । आजकालका नेताहरुले नेपालमा नभएर विदेशमा नै घुस लिन थालेको नेता साहको आरोप छ । नेता साहले प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष ओली र नेपाली कांग्रेसका  सभापति शेरबहादुर देउवा कुनै हालतमा गणतन्त्रवादी हुनै नसक्ने बताए । उनले ओली–देउवालाई नक्कली गणतन्त्रवादीको संज्ञा दिए । उनीहरुको दिल दिमागमा जनता नरहेको नेता साहको दाबी छ । अहिले दलतन्त्रको सरकार रहेको र गणतन्त्र कहीँकतै नरहेको बताए ।  


    ‘विदेशमै घुस लिने प्रचलन नेपालमा सुरुवात भयो । नेपालको ठूला बडाहरुले त नेपालमा भविष्य देख्न छाडे भने आम जनताको भविष्य के होला ? भागडौडका स्थिति छ । यसको एउटै कारण के हो भने नेताहरुले धोका दिए । नेताहरुले गलत व्यवस्था खडा गरे । आज दुःखको साथ भन्नुपर्छ नेपालमा गणतन्त्र छैन । म ओली, देउवाजीहरुलाई भन्न चाहन्छु– के तपाईँहरु गणतन्त्रवादी हो ? तपाईँहरु नक्कली गणतन्त्रवादी हो,’– उनले भने ।

    नेता साहले राजतन्त्रको समयमा राजाहरुलाई कानुन नलागेको जस्तै अहिले दलतन्त्रमा दलका नेताहरुले पनि कानूनबाट उन्मुक्ति पाइरहेको आरोप लगाए । अहिलेको सरकार दुई नेताहरु ओली–देउवाको मात्रै रहेको उनले बताए । उनले अहिलेको शासन व्यवस्था हेर्दा स्वघोषित राजतन्त्रजस्तो देखिएको टिप्पणी गरे । 

    अबको १० वर्षमा नेपाल टुक्रिन्छ या विदेशीको गुलाम हुनुपर्छः डा.दीक्षित 


    नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले गणतन्त्र तत्कालीन राजा ज्ञानेन्द्रको क्रुर शासनको विरुद्धमा भए पनि राजसंस्थाको विरुद्धमा स्थापना नभएको दाबी गरे । तत्कालीन समयमा कांग्रेसले ‘बेबी–किङ्ग’, माओवादीले नमुना राजसंस्था चाहेको र एमालेले त प्रधानमन्त्री बन्नका लागि विन्तिपत्र नै चढाएको दाबी गरे । राजसंस्था फाल्न नेताहरुले जालसाझी गरेको डा.दीक्षितको धारणा थियो । 

    ‘गणतन्त्रको जुन दिन घोषणा भयो नि, त्यो दिन मैले पनि घरमा बत्ति बालेको थिएँ । हामी सडकमा उत्रिएर गणतन्त्रका लागि लडेका थियौं । त्यो दिन ज्ञानेन्द्रको क्रुर शासनको अन्त्य थियो । समग्रमा भन्ने हो भने राजसंस्थाप्रति त्यो लक्षित थिएन । त्यसको विरोधमा त्यो थियो । त्यो बेलासम्म राजसंस्थाको कुरा गर्ने हो भने कांग्रेस ‘बेबी किङ’ को पक्षमा थियो । माओवादी पनि नमूना राजसंस्थाको वकालत गर्दै थियो । एमालेले पनि विन्तिपत्र चढाएर प्रधानमन्त्री हुन पाउँ भनेको अवस्था थियो । त्यसैले गणतन्त्र एजेण्डामा थिएन । ज्ञानेन्द्रको ‘कु’ को विरुद्धमा थियो,’– उनले भने । 


    उनले गणतन्त्रको कुरा बङ्ग्याएर राजा फ्याक्ने काम भएको दाबी गरे । अहिले देशमा गणतन्त्र नभएर दलतन्त्र हाबी भइरहेको डा.दीक्षितको भनाइ छ । अहिले गणतन्त्र, जनतन्त्र र लोकतन्त्र केही पनि नरहेको केवल दलतन्त्रको दब्दवा रहेको दाबी गरे । नेपाली जनताले देशमा लोकतन्त्र चाहेको भएपनि २००७ सालपछि त्यसमाथि पटक–पटक आक्रमण भएको र अहिले लोकतन्त्र विलाउँदै गएको डा.दीक्षितले सुनाए । 

    ‘खास गरी २००७ सालदेखि नेपाली जनताले लडेको लोकतन्त्रको लागि हो । गणतन्त्रको लागि कहिले पनि थिएन । बारबार त्यो मासियो । लोकतन्त्र नभएको गणतन्त्र कुनै मतलब नै छैन । यो त कम्युनिष्ट स्टेट बनाउन खोजियो । गणतन्त्र शब्द थुपारिएको छ । तर, हाम्रो जग भनेको लोकतन्त्र हो । लोकतन्त्र नेपालमा धेरै फितलो, लोकतन्त्र छ कि छैन भन्ने प्रश्न उठिसक्यो । मैले हेर्दा अहिले लोकतन्त्र बिलाउँदै गएको छ । हरेक नेताको मुखमा गणतन्त्र छ । लोकतन्त्र नभएको गणतन्त्र हामीलाई स्वीकार्य छैन । विलकूल गलत दिशामा नेपाल गएको छ । नेपालमा लोकतन्त्र मासिइसकेको छ,’– उनले भने । 


    नेपालमा अहिले सुशासन नभएर कुशासनको राज रहेको बताए । आज गणतन्त्र दिवसको दिन बत्ति बाल्नेभन्दा पनि निभाउनेको संख्या धेरै हुने उनले बताए । नेपालका बिस्तारै क्रुर शासनको अभ्यास हुन थालेको बताए । २००७ सालदेखि यही शासन चल्दा नेपाली जनता डुब्दै गएको उनले बताए । नागरिक समाजका अगुवा दीक्षितले २००७ सालदेखि अहिलेसम्म भएको गल्तीहरु केलाएर संसदीय व्यवस्थाबाट देशलाई बाहिर निकाल्नुपर्ने उनले बताए । उनले वामपन्थीहरुलाई ‘वामपुड्के विचार भएका नेता’ को संज्ञा दिए ।

    उनीहरुले नेपालमा प्राप्त भएको उपलब्धीलाई धान्न नै नसकेको दीक्षितको बुझाइ छ । संसदीय व्यवस्थाले भ्रष्टाचारलाई बढवा दिएको उनको दाबी छ । यही व्यवस्था रहिरहे अबको १० वर्षमा देश टुक्रिने अथवा देश विदेशीको गुलाम बन्नुपर्ने अवस्था आउने उनको दाबी छ । 

    ‘अब हामी अर्को व्यवस्थातिर जान पर्यो । यसको लागि बुद्धिजीवीले पनि वकालत गर्नुपर्यो । यही संसदीय व्यवस्था ठीक छ भन्नुहुन्छ भने कसरी सपार्ने ? होइन भने अर्को व्यवस्थामा जाऔं । संसदीय व्यवस्था हाम्रो लागि अभिश्राप भइसकेको छ । अब हामी देशव्यापी चुनिएको व्यक्तितिर जानुपर्छ,’– उनले भने, ‘संसदीय व्यवस्थामा हामी रह्यौं भने अबको १० वर्षमा नेपाल नेपाल रहँदैन, टुक्रिन्छ या विदेशीको गुलाम हुनुपर्छ । नेपाल ऋणमा चुर्लुम्म डुब्यो ।’  

    उनले यही व्यवस्थामा आगामी २०८४ मा निर्वाचन हुन नहुने उनले बताए । डा.दीक्षितले २००७ सालदेखि नै यो व्यवस्था असफलतातिर धकेलिइरहेको बताउँदै अब राजनीतिक दल र नेताहरुले विकल्प दिनसक्नुपर्ने बताए । 
    आजको दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले निरङ्कुशता लादिरहेको, कांग्रेस सभापति शेरबहादुर देउवा कम्युनिष्ट बनिसकेको, कांग्रेस आजको दिनमा भाइ कम्युनिष्ट भइसकेको उनको टिप्पणी छ । डा.दीक्षितले आजको दिनमा एमाले कांग्रेस वा माओवादी कांग्रेस भनेर कांग्रेसलाई सम्बोधन गरिँदा न्याय हुने बताए  । 
    आजको दिनमा विश्वेश्वर प्रसाद कोइराला, महेन्द्र नारायण निधि, गणेशमान सिंहले परिकल्पना गरेको कांग्रेस नरहेको बताए । तत्कालीन समयमा कांग्रेस लोकतन्त्रको पिल्लर भएपनि आज विलाएर गएको र जेनतेन शेखर कोइरालाले धानेर बसेको उनले बताए । ‘देउवा कम्युनिष्ट भइसके, यहाँ त देश नै कम्युनिष्ट भइसकेको छ । यसबाट हामीले उम्किने कसरी ? नत्र भने नेपाल खत्तम हुन्छ,’– उनले भने । 

    ज्ञानेन्द्रले पूर्व पञ्चलाई अगाडि सारेर गणतन्त्र फाल्छु भन्नु दिवास्वप्नमात्रै होः 
    वरिष्ठ अधिवक्ता डा.भण्डारी 

    वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले गणतन्त्रप्रति पनि नागरिकहरुमा सन्तुष्टि नरहेको र अहिले नै राजा ल्याइहाल्ने अवस्था पनि नरहेको बताए । तर, मुलुक एक किसिमको पोलिटिकल क्राइसिस भने रहेको उनको बुझाइ छ । वरिष्ठ अधिवक्ता  भण्डारीले मुलुक र जनताले गणतन्त्रको रसास्वादन गर्न नपाउँदा अहिलेको जटिल परिस्थिति देखा परेको बताए ।

    ‘जनताले गणतन्त्र के हो भन्ने कुराको अनुभूति गर्न पाएनन् । गणतन्त्रका राम्रा पक्ष के हुन् त ? के–के भयो भने गणतन्त्र हुन्छ, जनतालाई के–के दिन्छ ? जनता र गणतन्त्रबीच मेल हुन सकेन । केही नेताहरुले सिङ्गो व्यवस्थालाई सेटिङमा चलाउने र दुरुपयोग गर्ने अवस्थामा पुर्याए । अहिलेको दलतन्त्रले भ्रष्टाचार गर्ने र राज्यसत्तालाई दुरुपयोग गर्ने अबस्थामा पुर्यायो । त्यसैले गणतन्त्रमाथि प्रश्न उठिरहेको छ,’– उनले भने । 

    साथै, जनता र मुलुकलाई गणतन्त्रले कुनै पनि उलब्धी दिनै नसकेको उनको जिकिर छ । जनताहरु नेता, दल र अहिलेको राज्य व्यवस्थाप्रति नै सन्तुष्ट नरहेको उनको दाबी छ । दलहरु डेमोक्रेशीको मूल्य र मान्यताभित्र पनि नबसेको र सेटिङमा राज्यसत्ता कब्जा गरेर त्यसको दुरुपयोग गरिरहेको उनको आरोप छ । वरिष्ठ अधिवक्ता भण्डारीले नेताहरुले पार्टीलाई प्राइभेट कम्पनीको रुपमा परिणत गरिसकेको बताए । 

    त्यस्तै, अहिलेको अवस्थामा पूर्वराजा ज्ञानेन्द्रबाट पनि परिवर्तनको सम्भावना नरहेको उनले बताए । पूर्वराजा ज्ञानेन्द्रले पूर्व पञ्चहरुलाई प्रयोग गरेर आफैंलाई कमजोर बनाएको र जनताको सपोर्ट पनि गुम्दै गएको उनको टिप्पणी छ । पूर्व राजा ज्ञानेन्द्रले पूर्व पञ्चहरुलाई अगाडि सार्दा देशमा राजसंस्थापुनर्स्थापना हुने सम्भावना कमजोर धुमिल हुँदै गएको भण्डारीको बुझाइ छ । 

    ‘राजाले पनि परिवर्तनको नायकको रुपमा हिजोको पूर्व पञ्चहरुलाई अगाडि सारे । के पूर्वपञ्चबाट यो मुलुकमा परिवर्तन सम्भव छ ? हामीले खोजेको परिवर्तन पूर्व पञ्चले ल्याउने परिवर्तन हो । राजा आफैंले पनि यतिधेरै गल्ती गरे कि जनताहरुको सपोर्ट थियो, त्यो जनताको सपोर्टलाई पनि उनले ठीक ढंगले प्रयोग गर्न सकेनन् । त्यसैले राजा आउने अवस्था पनि एकदमै धुमिल र कमजोर भएर गएको छ,’– उनले भने । 

    उनले अहिले सडकबाट राजा आउन सक्ने सम्भावना पनि नरहेको र पूर्व पञ्चहरुसँग कुनै आईडीओलोजी नै नरहेको दाबी गरे । ‘किनकी पूर्व पञ्चसँग कुनै आइडिलोजी पनि छैन, कुनै पोलिटिकल थट पनि छैन  र जुन दिन पञ्चायत सकियो, त्यसको भोलिपल्टबाट कोही पञ्च पनि बाँकी रहेन । तिनै अवसरवादीहरुलाई अगाडि सारेर, राजा पछाडि बसेर म यो गणतन्त्रलाई परिवर्तन गर्छु भन्नु दिवास्वप्नमात्रै हो,’– उनले भने । 

    अब एक्लाएक्लै भएर अहिलेको समस्यालाई समाधान गर्न नसकिने उनले बताए । अब देशलाई माया गर्न व्यक्तिहरु एक ठाउँमा उभिएर मिसन २०८४ को एजेण्डा नभएर मिसन इलेक्सनको एजेण्डा अगाडि बढाउनु पर्ने बताए । अहिलेका ठूला दल र नेताहरुलाई निर्वाचनको माध्यमबाट नै परास्त गर्नुपर्ने उनको धारणा छ । ‘अब हामीले विकल्प खोज्ने बेला आएको छ, अबको विकल्प भनेको राजतन्त्र पनि होइन, अहिलेको गणतन्त्र पनि होइन । त्यो विकल्पभित्र डेमोक्रेटिक स्टक्चरभित्र जनताहरुले मुनाफा पाउने र गुणस्तरीय जीवन पाउने किसिमको  व्यवस्था दिनुपर्ने अवस्था छ,’– उनले भने । 

    नेपालमा दलतन्त्र हाबी छ, अढाइ करोड जनताले तिरेको कर ५० लाखले लुटेर खान्छन्ः प्रा.डा.न्यौपाने 

    अर्थविद् प्रा.डा.गोपीलाल न्यौपानेले अब मुलुक गणतन्त्रबाट बाहिर जान नसक्ने बताए । उनले हजारौंको बलिदानीबाट आएको गणतन्त्र सडकमा दुई चार जनाले सडकमा नाराबाजी गर्दैमा कतै पनि नजाने दाबी गरे । ‘यो देश गणतन्त्रबाट बाहिर जान सक्दैन । हजारौंको बलिदानीबाट आएको गणतन्त्र दुई चार जना मान्छेले सडकमा नारा जुलुस गर्दैमा काहीँ जाँदैन । हामी गणतन्त्रका स्वतन्त्र नागरिक हौं, कसैका दास होइनौं, कसैका रैती हैनौं,’– उनले भने । 

    उनले अमेरिकी र युरोपियनहरुले ३ सय वर्षदेखि गणतन्त्रको अभ्यास गरेको स्मरण गराउँदै नेपालका लागि नयाँ रहेको र सुरुवातीमा देखिएका कमीकमजोरीलाई सुधार गर्दैै लानुपर्ने बताए । उनले राज्य सञ्चालनमा लोकतान्त्रिक गणतन्त्र  सबैभन्दा उत्तम व्यवस्था भएको बताए । 

    मार्क्सवाद, लेनिनवाद र माओत्सेका किताब पढेर, वीपीका पुस्तक कण्ठ गरेर, पुष्पलालको कम्युनिष्ट घोषणापत्र पढेर अबको गणतन्त्र नचल्ने उनले बताए । अर्थविद डा.न्यौपानेले अहिले देशमा दलतन्त्र नै हाबी रहेको बताए ।  दलतन्त्रकै कारण अढाइ करोड जनताले तिरेको करमा ५० लाख मानिसहरुले लुटेर खाइरहेको उनको आरोप छ  । 

    ‘५० लाख मानिसहरुले नेपालमा काम नगरी लुटेर खान्छन् । तीनले काम गर्दैनन् । अढाइ करोड नेपालीले काम गर्ने, तीनले तिरेको करबाट ५० लाख मानिसले लुटेर खान्छन् । दलतन्त्र भनेको यही हो,’– उनले भने । 

    दलतन्त्रले जनताको बलिदानीबाट प्राप्त भएको उपलब्धी चकनाचुर पारिदियोः
     आजपा नेतृ साह 

    आम जनता पार्टीको केन्द्रीय कार्यालय सचिव रन्जु साहले दलतन्त्रले जनताको त्याग, तपस्या र बलिदानीलाई चकनाचुर पारिदिएको बताईन् । खासगरी तीन दलका शीर्ष नेताहरुले गणतन्त्रलाई दलतन्त्रमा परिणत गरेको उनको आरोप छ । 
    ‘दलतन्त्रले जनताको त्याग, तपस्या सबै चकनाचुर पारिदियो । खास गरेर तीन दलका नेताहरुले गणतन्त्रलाई दलतन्त्रमा परिवर्तन गरेका छन् । हाम्रो देशमा बेथितिमात्रै छ । किनभने व्यवस्था नै ठीक छैन,’– उनले भने । 

    देशमा देखिएको विकृति र विसंगतिको विरुद्धमा आजपाले संघर्षका कार्यक्रमहरु चलाइरहेको पनि उनले स्मरण गराईन् । भन्सारको लुटकारी प्रावधानको विरुद्धमा आफूहरुले आठ÷आठ महिनासम्म संघर्ष गरेर सरकारसँग सहमति गरेको पनि उनले बताईन् । सरकारसँग आफूहरुले गरेको सहमति कार्यान्वयनमा नआएको खण्डमा फेरि आन्दोलन चर्काउने उनको चेतावनी छ । 

    ‘आम जनता पार्टीले विभिन्न संघर्षहरु गरिरहेको छ । भन्सारको लुटकारी प्रावधानविरुद्ध हामीले आठ÷आठ महिना संघर्ष गरेका छौं । म सरकारलाई खुलेआम चुनौति दिन चाहन्छु– हामीसँग गरेको सम्झौता पूरा भएन भने के–के गर्नुपर्छ, हामी गर्छौं,’– उनले भनिन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com