काठमाडौं/ नेपाल डेरी एसोसिएसनको आयोजनामा तथा राष्ट्रिय दुग्ध विकास बोर्ड र अन्य सरोकारवालाको सहकार्यमा विश्व दूध दिवस २०२५ को पूर्वसन्ध्यामा उपत्यकास्तरीय अन्तरविद्यालय कविता प्रतियोगिता सम्पन्न भएको छ।
“दूधको खपत बढाऔं, अर्थतन्त्र सबल बनाऔं” भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रमले दुग्ध तथा दुग्धजन्य पदार्थको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्य राखेको थियो। प्रतियोगितामा काठमाडौं उपत्यकाभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले दूधको पोषण, स्वास्थ्यमा यसको भूमिका, राष्ट्रिय अर्थतन्त्रमा योगदानजस्ता विषयवस्तु समेटेर प्रभावशाली कविता प्रस्तुत गरेका थिए। निर्णायक मण्डलले सिर्जनात्मकता, प्रस्तुतीकरण र विषयवस्तुमा केन्द्रित भएर उत्कृष्ट तीन कवितालाई पुरस्कृत गरेको थियो।
उक्त कार्यक्रममा नेपाल डेरी एसोसिएसनका अध्यक्ष, राष्ट्रिय दुग्ध विकास बोर्डका प्रतिनिधिहरू, शिक्षक, विद्यार्थी तथा आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो। आयोजक संस्थाले आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई अझै व्यापक बनाउन प्रतिबद्धता जनाएका छन्।