काठमाडौँ / आगामी आर्थिक बर्ष २०८१/८२ को बजेट आउने पूर्वसन्ध्यामा सेयर बजार उकालो लागेको छ । कारोबार अवधिभर उतारचढावका बावजुद आज नेप्से परिसूचक १७.४४ अङ्कले बढेर २६९३.०६ बिन्दुमा उक्लिएको हो ।
सरकारले आगामी आर्थिक वर्षको लागि भोलि अर्थात जेठ १५ गते बजेट ल्याउँदैछ । केही दिनयता लगातार घटेको बजार बजेट भाषणको पूर्वसन्ध्यामा भने उकालो लाग्नुको कारण बजेटले लिने नीति तथा कार्यक्रम सकारात्मक हुनसक्ने अनुमान गरिएको छ ।
बजेटमार्फत सरकारले सेयरबजारमैत्री नीति लिने अनुमानले लगानीकर्ताहरू उत्साहित हुँदा सेयर बजार उचालिएको हुनसक्ने जानकारीहरू बताउँछन् ।
भोलि बिहीबार अर्थमन्त्रीले संसदमा बजेट सार्वजनिक गर्दैछन्। बजेटले सेयर बजारको पुँजीगत लाभकरलाई नै अन्तिम करको मान्यता दिनेमा लगानीकर्ताहरूको विश्वास छ ।
नेप्सेसँगै आज सेन्सेटिभ इण्डेक्स ४.२३ अङ्क, फ्लोट इण्डेक्स १.४८ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५९ अङ्कले उकालो लागेको छ । बुधबार कारोबार रकममा समेत बढोत्तरी भएको छ ।
बुधबार ८ अर्ब ५८ करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसअघि मङ्गलबार भने ६ अर्ब ५२ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो ।
बुधबारको कारोबारमा बैंकिङ समूह चम्किदा बजार बढ्न सहयोग पुगेको देखिन्छ । १३ वटा उपसूहमध्ये आज चार वटा समूहको परिसूचक घटेको छ । जसमा सबैभन्दा बढी बैंकिङ उपसमूह १.८८ प्रतिशतले बढेको छ । यसदिन यो समूहअन्तर्गतका १८ ओटा कम्पनीको मूल्य बढेको छ, जसमा सिटिजन्स बैंक इन्टरनेशनलको सूचक सबैभन्दा बढी ३.२० प्रतिशतले बृद्धि भएको छ । यसैगरी विकास बैंक समूहको परिसूचक १.२९ प्रतिशतले बढेको छ । विकास बैंक समूहअन्तर्गत आज २२ कम्पनीको सेयर मूल्य बढेको छ । जसमा ग्रीन डेभलपमेन्ट बैंकको सूचक सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ ।
यसैगरी, हाइड्रोपावर समूह ०.८९ प्रतिशत, होटल तथा पर्यटन ०.८० प्रतिशत, वित्त समूह ०.१८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.६५ प्रतिशतले बढेको छ । त्यस्तै, लगानी, व्यापार, म्युचुअल फण्डको परिसूचक पनि सामान्य बढेको छ ।
यता, सबैभन्दा बढी लघुवित्त र निर्जीबन बिमा समूहको परिसूचक ०.२६ प्रतिशतले घट्दा जीवन बिमा ०.२४ प्रतिशत र अन्य समूह ०.०६ प्रतिशतले घटेको छ । बुधबार कारोबारमा आएकामध्ये ओम मेगाश्री फर्मास्यूटिकल्स र पियोर इनर्जीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ ।
त्यस्तै, साथै, ग्रिन डेभलपमेन्ट र भूगोल इनर्जी डेभलपमेन्टको सेयर मूल्य पनि ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । यता, बाराही हाइड्रोपावरको सेयर मूल्य भने सर्वाधिक घटेर कारोबार भएको छ ।
यस कम्पनीको सेयर मूल्य ५.२६ प्रतिशतले घटेको हो भने क्रिष्ट माइक्रो लाइफ इन्स्योरेन्सको ५.१० प्रतिशतले सेयर मूल्य घटेको छ । बुधबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर कम्पनी शीर्ष स्थानमा रहेको छ।
सो कम्पनीको यस दिन एक अर्ब ५ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको ६० करोड ६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।