काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको मिडियालाई सरकारको तर्फबाट कुनै दबाब, निर्देशन, नियन्त्रण नभएको बताएका छन् ।
बुधबार काठमाडौँमा आयोजित गोरखापत्र प्रकाशनको १२५औँ वर्ष प्रवेश तथा संस्थानको ६३औँ वार्षिकोत्सव समारोहमा उनले ३०, ३५ वर्ष अगाडिसम्म मिडियाहरूलाई मनमा लागेको कुरा लेख्ने स्वतन्त्रता नभएको भन्दै अहिले प्रधानमन्त्री र सरकारबाट कुनै प्रकारको दबाब, निर्देशन, नियन्त्रण नभएको बताए ।
उनले भने, “गोरखा पत्रले धेरै उतारचढाव देखेको छ । यही उतारचढावलाई झेल्दै विकास भएको छ । त्यो बेला कति गाह्रो थियो होला सम्पादकीय लेख्न आज त तपाई के सम्पादकिय लेख्नु हुन्छ त्यसमा कहिले सरकारबाट यसो लेख भनेको आएको छ र, प्रधानमन्त्रीबाट कहिले कुनै प्रकारको दबाब, निर्देशन, नियन्त्रण, इरासा भएको छ र, आँखा पनि झिम्काउदैँन त्यतातिर सरकारले आज त तपाईहरू जे मनमा लाग्छ त्यही लेख्न स्वतन्त्र हुनु हुन्छ तर ३०/३५ वर्ष अगाडिसम्म यस्तो स्वतन्त्रता थिएन् ।”
यस्तै, उनले अनलाइनको समयमा पत्रपत्रिकाको काम छैन भन्ने भाष्य गलत भएको भन्दै गोरखापत्रको सान्दर्भिकता कहिले पनि कम नहुने बताए ।
उनले भने, “कतिले भन्छन् अनलाइनको समयमा पत्रपत्रिकाको काम छैन तर वास्तवमा डिजिटलमा खोज्न गाह्रो हुन्छ, राख्न गाह्रो हुन्छ त्यसकारण यो गोरखापत्रको सान्दर्भिकता कहिले पनि कम हुदैँन ।”